इलाम–२ मा ५१ प्रतिशत र बझाङ १ (क) मा ३७ प्रतिशतभन्दा धेरै मतदान

 बैशाख १५, २०८१ शनिबार १५:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम–२ मा उपचुनावका लागि देउमाई नगरपालिका देवीस्थान आधारभूत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक । तस्बिर : रासस

काठमाण्डाै – उपचुनाव भइरहेकाे इलाम निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसाे साढे २ बजेसम्ममा ५१ प्रतिशत मत खसेको छ । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ । १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान सुस्त गतिमा मत खसेकोमा दिउँसो मतदाताकाे चाप बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ वटा पालिकाका ४२ वडामा मतदान भइरहेको छ । प्रतिनिधि सभा अन्तर्गत एमालेका सांसद सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भइरहेको हो ।

यस्तै बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको छ । बिहान ११ बजेसम्म १५ प्रतिशत मात्रै मतदान भएकोमा दिउँसो साढे १ बजेसम्म ३७ प्रतिशत मत खसेकाे सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो । खेतबारीको काम गरेर, खाना खाएर ठूलो सङ्ख्यामा मतदाता मतदान क्षेत्रमा आउन थालेका उहाँले बताउनुभयो ।

बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ६१ हजार ७४८ मतदाता छन् । ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

यसअघि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा ज्यान गएपछि त्यहाँ उपचुनाव भइरहेको हो । बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया