कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

 बैशाख २७, २०८१ बिहिबार ८:५८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै हुनुहुन्छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले र माओवादीले कार्कीलाई अघि सार्न लागेका हुन् ।

कोशीमा एमाले र माओवादीको गठबन्धनलाई सहजै बहुमत पुग्ने अवस्था छ । एमालेसँग उपसभामुखसहित ४० र माओवादीका १३ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । कोशीका प्रदेश प्रमुख खापुङले हिजो मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।

अल्पमतमा परेको ३० दिनसम्म पनि मार्गप्रशस्त नगरेको भन्दै कार्कीलाई पदमुक्त गरिएको हो । प्रदेश प्रमुखको निर्णयपछि कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस नेता केदार कार्की गएको असोज २९ मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

गएको चैत २६ मा सरकारबाट एमाले –माओवादी बाहिरिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा हुनुहुन्थ्यो । उहाँले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानका कारण एमाले–माओवादीले पेस गरेको सङ्कल्प प्रस्ताव वैशाख ७ को संसद् वैठकले पारित गरेको थियो ।

मुख्यमन्त्री कार्की पदमुक्त हुने वा नहुने विषयमा सत्तारुढ र प्रतिपक्षबीच विवाद रहेका बेला प्रदेश प्रमुख खापुङले साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिएकाले सरकार रिक्तताको अवस्था देखाउँदै नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया