नार्कबाट ८४ बालीका आठ सय ९३ जात सिफारिस : एक सय ६५ सूचिबाट हटे

 बैशाख २५, २०८१ मंगलबार ७:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अहिलेसम्म विभिन्न ८४ बालीका आठ सय ९३ जात सिफारिस गरेको जनाएको छ । २०१७ सालमा उन्मोचित गहुँको जात लेर्मा–५२ नेपालमा जातीय विकासको इतिहासमा पहिलो रहेको छ । २०४८ साल वैशाख २५ गते विधिवत्रुपमा नार्क स्थापना भएयता विभिन्न बालीका आठ सय ९३ जात सिफारिस गरिएको र तीमध्ये एक ६५ जात दर्ता सूचीबाट हटाएको नार्कले जनाएको छ ।

अहिले सिफारिस बालीका जात ७ सय २८ वटा रहेका छन् । नार्ककाअनुसार सिफारिस गरिएका जातमध्ये प्रयोगदर सबैभन्दा धेरै गहुँमा ९४, त्यसपछि मकैमा ७३, मुसुरोमा ६०, आलुका जातमा ४६ र धानमा ३५ प्रतिशत रहेको छ । नार्कले गएको आर्थिक वर्ष २०७९/०८० मा प्रशोधन उद्योग (चिप्स, फ्रेन्च फ्राइ) का लागि नयाँ आलुको जात विकास गरेको छ । खुमल सेतो–३ र खुमल रातो–४ जातको आलु विकास गरेको हो ।

त्यस्तै, अगौटे सुन्तलातर्फ ‘ओकित्सुवासे’, वदामतर्फ ‘नवलपुर बदाम–१, रायो सागतर्फ ‘हिमचौडा पात’ भण्टातर्फ ‘पोखरा लुर्की’, जौतर्फ ‘मुक्तिनाथ’, गहुँतर्फ ‘डब्लुके–३१६४ र ३१६५’ र सुर्खेत क्षेत्रमा स्थानीय घैया धानतर्फ कालनाथ्रे र दाम्री जात रहेका छन् ।

सीमित साधन स्रोतका बाबजुद पनि बाली तथा पशुपन्छीका जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक, आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्शलगायतका क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको नार्कको दाबी छ ।

विद्यमान भौगोलिक तथा पारिस्थितिकीय विविधताको प्रतिनिधित्व हुनेगरी देशका विभिन्न क्षेत्रमा रहेका ६३ कार्यालयमार्फत् अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको नार्कले सरकारबाट ९७ प्रतिशत र विभिन्न दातृ निकायबाट तीन प्रतिशत आर्थिक स्रोतका रूपमा प्राप्त गर्ने गरेको छ ।

‘सवल कृषि अनुसन्धान, आयात प्रतिस्थापन र खाद्य सम्प्रभुतामा योगदान’ भन्ने नाराका साथ नार्कले आज ३३ औँ स्थापना दिवस मनाउँदैछ । नार्कले बढ्दो खाद्यान्नको माग तथा आयातलाई न्यूनीकरण एवम् प्रतिस्थापन गर्न कृषि उत्पादन बढाउनुपर्ने र यसको लागि अनुसन्धानलाई सवल, आधुनिक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया