भारतको लोकसभा चुनाव : तेस्रो चरण अन्तर्गत आज ९३ सिटमा मतदान चल्दै

 बैशाख २५, २०८१ मंगलबार ११:५९:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा चलिरहेको लोकसभा चुनावमा तेस्रो चरण अन्तर्गत आज ९३ सिटमा मतदान भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका ११ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।

तेस्रो चरणमा असमका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्य प्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बङ्गाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवम् दामनको गरी दुई सिटमा मतदान भइरहेको छ ।

तेस्रो चरणको यो चुनावमा एक सय २० जना महिलासहित एक हजार तीन सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । झन्डै १७ करोड मतदाता आजको मतदानमा सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादमा रहेको निशान माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्नुभएको छ । उहाँले लोकसभा चुनावमा सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गर्नुभएको छ ।

आजका लागि तय भएको जम्मु–कश्मीरको अनन्तनाग–रजौरीको निर्वाचन कार्यक्रम भने स्थगित गरिएको छ । त्यहाँ आउँदो २५ तारिखमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१९ को चुनावमा आज मतदान भइरहेका ९३ मध्ये भारतीय जनता पार्टी (भाजपा) ले ७२ सिटमा जित हासिल गरेको थियो ।

यो तेस्रो चरणको चुनावपछि भारतीय लोकसभाको कुल सिट ५ सय ४० मध्ये आधाजसोमा मतदान सम्पन्न हुनेछ । सात चरणमा सम्पन्न हुने भारतको लोकसभाको चुनाव गएको अप्रिल १९ तारिखदेखि शुरु भएको हो । आउँदो जुन १ तारिख सबै क्षेत्रको मतदान सकिनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया