जे काम गर्ने हो मनबाटै गर्नुपर्छ, देशभित्रै अवसर छन्

 जेठ ९, २०८१ बुधबार १५:१८:५४ | श्रेया गिरी
unn.prixa.net

कोरोेना महामारीको बेला म बेलायतको लन्डनमा पढ्दै अनि काम गर्दै थिएँ । महामारीका कारण साथीभाइ कसैसँग पनि भेट्न नपाइने अवस्था भयो । वरपर हेर्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाउन थाले । बाहिर निस्कन नपाएपछि कोठाभित्रै बस्न पर्‍यो । कोठाभित्र बसिरहँदा सामाजिक सञ्जाल धेरै हेर्ने गरेँ । सामाजिक सञ्जाल हेर्दा कोरोनाका कारण कति मानिसको ज्यान गयो भन्ने खबरमा आँखा धेरै पर्थ्याे । त्यसपछि राति सुत्न नसक्ने, बिहान खान नसक्ने र बाहिर जान नसक्ने भएँ । मनमनै लाग्यो म यसरी एक ठाउँमा बस्ने खालको मानिस त होइन । बारम्बार त्यो महसुस भइरहेको थियो ।

आफ्नो देशभन्दा बाहिर बसेर पढ्ने विद्यार्थीको सङ्घर्ष आफ्नै किसिमको हुन्छ । मलाई गाह्रो भएको कुरा बुबाआमासँग भनाैँ भने उहाँहरूले बुझ्नु हुँदैन थियो । यो कुरा बुझ्ने त मात्रै 'थेरापिस्ट' ले हो । त्यसपछि मैले अनलाइन माध्यमबाट 'थेरापिस्ट' लाई खोज्न थालेँ तर कुनै 'थेरापिस्ट' को प्रतिक्रिया आएन । मैले बेलायतको राष्ट्रिय स्वास्थ्य प्रणालीमा पुग्दा सात महिना पर्खनुपर्ने देखियो । जबकि मलाई आजको भोलि नै 'थेरापिस्ट' सम्म पुग्नु थियो । त्यहाँ सात महिना कुर्नुभन्दा नेपालको 'थेरापिस्ट' सँग कुरा गरौँ भन्ने लाग्यो । नेपालबाट पनि केही प्रतिक्रिया आएन ।

यही कारणले भोलि म नै रहिनँ भने त यो समस्याप्रति कसैलाई मतलब हुँदैन भन्ने लाग्यो । त्यसपछि म कोरोना महामारी कम भएको तीन वर्षपछि नेपाल आएँ । यहाँ आएपछि शुरुमा 'थेरापी' लिएर उपचार गर्ने अवस्था थिएन । आफूलाई परेको समस्या अरूलाई पनि त यस्तै होला भनेर मानसिक स्वास्थ्य समस्याको समाधान दिने तीन महिनाको एउटा सानो परियोजना गरौँ भन्ने लाग्यो ।

आफ्नो समस्या समाधानसँगै अरूका लागि काम गर्ने सोच

नेपाल फर्किएपछि बुबाआमासँग बस्न पाएँ । उहाँहरूसँगै बसेर खाने र सुत्ने गर्नाले आफ्ना दैनिक कार्यमा परिवर्तन आउन थाल्यो । बुबाआमाको मायाले पनि मानसिक सोचाइ परिवर्तन हुँदै गयो । कहिलेकाहीँ उपचारमा जानु पर्‍यो । त्यसले गर्दा पनि समस्यालाई कम गर्न सहयोग भयो । कसरी सकारात्मक सोच्ने ? मलाई भएको समस्याको समाधान कसरी गर्ने ? भन्ने समस्याको समाधानमा 'थेरापिस्ट' ले सहजीकरण गर्न सक्छन् । 'थेरापिस्ट' काेमा जाँदा, बुबाआमासँग बस्दा, खानपिनका साथै औषधि पनि मिल्दै गएपछि अनि बिस्तारै ठीक हुँदै जाँदा मलाई जस्तै अरूलाई नहोस् भन्ने लाग्न थाल्यो ।

मानसिक स्वास्थ्य समस्यासम्बन्धी तीन महिनाको परियोजना गरेर बेलायत फर्कने योजना थियो । तर मलाईजस्तो अरूलाई नहोस् भनेर त्यस खालको काम गर्ने सोच बनाएँ । यसबारे शुरुमा साथीहरूलाई भनेँ । उनीहरूले नेपालमा यसमा काम गर्दा ठीक हुन्छ, तिमी अघि बढ, हामी सहयोग गर्छाैँ भने । त्यसपछि झन् प्रोत्साहन मिल्यो । बेलायतबाट 'बिजनेस' पढेर आएकी छोरी मानसिक स्वास्थ्य समस्यामा काम गर्छु भन्दा एकछिन बुबाआमाले निराश अनुहार बनाउनुभयो । पछि उहाँहरूले तिमी यो काममा विश्वस्त छौ भने सहयोग गर्छाैँ भनेपछि आँट आयो ।

तीन महिना काम गर्दा नेपालमा मानसिक स्वास्थ्य समस्या समाधानको माग धेरै नै रहेछ भन्ने थाहा भयो । ममात्र होइन मेरा साथीहरू पनि मानसिक स्वास्थ्य समस्या भोगिरहेका थिए । उनीहरूलाई आफ्नो समस्या खासै ठूलो लागेन । सहयोग लिन पनि चाहनुभएन । कोरोना महामारीका बेला मसँगै वरपरका रहेका अरू पनि मानसिक समस्याले ग्रस्त हुनुहुन्थ्यो । त्यति बेला विश्व नै कोरोना महामारीको चपेटामा परेको थियो । मेरो साथीलाई म मानसिक स्वास्थ्य समस्यामा छु भन्ने कुरा थाहा थिएन ।

लन्डनमा मानसिक स्वास्थ्यलाई एकदम प्राथमिकता दिइन्छ । विश्वविद्यालयमा पनि जुन किसिमले प्राध्यापकले जसरी विद्यार्थीसँग कुरा गर्नुहुन्छ, त्यो देखेर मलाई चेतना थियो । त्यहाँको जस्तो सचेतना नेपालको समुदायमा नहुँदा खासै महत्त्व दिएको देखिनँ । आफू कुन तहको समस्यामा परेको बेला सहयोग माग्नुपर्छ भन्ने पनि धेरैलाई थाहा छैन । मानसिक समस्याको समाधान हुन एक हप्तादेखि नौ वर्षसम्म लाग्न सक्छ । म एक हप्तामा परेँ, अनि उहाँहरू अझै उपचार गराइरहनुभएको छ ।

'ह्याप्पी माइन्ड्स' ले गर्ने काम

शुरुमा हामीले मानसिक स्वास्थ्य समस्यासम्बन्धी जनचेतना फैलाउँछौँ । धेरै मानिसले मलाई 'डिप्रेसन' भयो भन्नुहुन्छ । तर 'डिप्रेसन' भनेको के हो ? यसको कारण र लक्षण के–के हुन् ? यसलाई कसरी उपचार गर्ने भनेर हामीले सामाजिक सञ्जालबाट जनचेतनामूलक सामग्री प्रस्तुत गर्छाैँ । हामीले मानसिक स्वास्थ्य समस्या हुनुभन्दा अघि र पछि दुवै अवस्थामा सहजीकरण गर्दै आएका छौँ । यदि कसैले अनलाइनमार्फत सम्पर्क नगरे पनि घरमै बसेर आफूलाई कसरी ख्याल गर्ने भन्ने कुरा वेबसाइटमा राखिएको छ ।

हामीसँग मानसिक स्वास्थ्यको समस्या हेर्ने १८ जना प्रोफेसर हुनुहुन्छ । नेपालभित्र वा बाहिर जहाँ भए पनि अनलाइन र भौतिक रूपमा सल्लाह दिन्छौँ । हप्ताको सातै दिन सेवा दिन्छौँ । साथै विभिन्न भाषामा सल्लाह दिने 'थेरापिस्ट' पनि हामीसँग हुनुहुन्छ । हामीले हाम्रो कार्यालय अपाङ्गमैत्री पनि बनाएका छौँ । बिहान ६ बजेदेखि रातिको १० बजेसम्म 'थेरापी' चल्छ । कार्यालयमै आएर वा अनलाइनबाट पनि 'थेरापी' लिन सकिन्छ ।

५७ हजार जना मानिसलाई प्रत्यक्ष सेवा

पछिल्लो तीन वर्षमा ५७ हजार जना मानिसलाई प्रत्यक्ष सेवा दिएका छौँ । नेपालका सात वटै प्रदेश र विश्वभर २७ वटा देशमा सेवा दिइरहेका हौँ । यसमा नेपालबाट विदेशमा बसाइ सर्ने व्यक्ति र विद्यार्थी रहेका छन् । अहिलेसम्म 'ह्याप्पी माइन्ड्स' काे तथ्याङ्कअनुसार 'डिप्रेसन', 'एन्जाइटी', बढी सोचिरहने र प्रेम प्रसङ्गलगायतका समस्या धेरै आएका छन् । हामीकहाँ हुम्ला, जुम्लादेखि जहाज चढेर सेवा लिन आउनेहरू पनि हुनुहुन्छ । काठमाण्डौमै तीन महिनासम्म बसेर यहाँ उपचार गराएर फर्कनेहरू पनि हुनुहुन्छ । ग्रामीण भेगबाट जहाँ वाईफाई सुविधा हुँदैन उहाँहरूले इन्टरनेट प्याक लिएर भए पनि हामीसँग सेवा लिइरहनुभएको छ ।

शहर बजारमा बस्ने मानिस, व्यापारी, उच्च ओहोदामा रहने व्यक्तिहरूलाई समेत हामीले सेवा दिइरहेका छौँ । कति जनाले सेवा लिइरहँदा बीचमै छाडिदिने गर्नुहुन्छ भने कति मानिस यो कार्यालय स्थापनाकालदेखि सेवा लिइरहनुभएको छ । मानसिक स्वास्थ्य समस्या यस्तो विषय हो कि एक हप्ता उपचार गरेपछि अब कहिल्यै हुँदैन भन्ने हुँदैन । अलिकति जीवनमा उतारचढाव हुँदा मानसिक स्वास्थ्यमा पनि उतारचढाव हुन्छ । आज ठीक भएको मानिस एक वर्षपछि फेरि ठीक नहुन पनि सक्छ ।

मानसिक स्वास्थ्य समस्या हुने कारण

२०७२ सालको भूकम्पपछि धेरै मानिसमा मानसिक स्वास्थ्य समस्या देखियाे । त्यो बेलाको चुनौती र सङ्कट भोग्ने मानिसलाई अहिलेसम्म मानसिक स्वास्थ्य समस्या देखिन्छ । अर्कोतर्फ पारिवारिक कारणले बच्चामा मानसिक समस्या बढिरहेको देखेँ । आमाको बोलीमा यति तागत हुन्छ कि जस्तै छोरीलाई ‘तँ काली’ भनिदिनुभयो भने बच्चालाई आफू काली छु भनेर उसको क्षमता कम भएर दिमागमा जिन्दगीभर बस्छ । बुबाआमाले कडाइ गर्न खोज्दा वा बढी अनुशासनमा राख्न खोज्दा बच्चा मायाका लागि तड्पिरहेका हुन्छन् । पछि गएर उसलाई परिवारबाट पाउनुपर्ने माया नपाएका कारण मानसिक स्वास्थ्य समस्या भएको देखिन्छ ।

व्यक्ति, परिवारमा मात्र होइन हामीले समूहमा पनि काम गर्छाैँ । हामीले कर्पोरेट वा कम्पनीसँग सम्झौता गरेका छौँ । यसरी कुनै कम्पनीमा कार्यरत कर्मचारीलाई मानसिक स्वास्थ्य समस्याको समाधानसम्बन्धी परामर्श दिन्छौँ । त्यहाँ दिने सेवाको पैसा कर्मचारीसँग लिँदैनौँ, कम्पनीसँगै पहिले नै सम्झौता भएको हुन्छ । यदि कोही व्यक्ति पैसाकै अभावले मानसिक स्वास्थ्य समस्याको उपचार गराउन नसकेको थाहा भयो भने हामीले निःशुल्क परामर्श दिन्छौँ । हाम्रो मुख्य ध्येय नै पैसाकै कारण मानसिक स्वास्थ्य समस्या भोगिरहन नपरोस् भन्ने हो ।

परिवार, समाज र सरकारले गर्न सक्ने उपाय

जसरी बच्चा जन्मेर हुर्किँदा पोषण तत्त्व खुवाउनुपर्छ, त्यसरी नै आफ्नो मानसिक स्वास्थ्यलाई ठीक राख्न केही कुरामा ध्यान दिनुपर्छ । जस्तै– सुत्ने/उठ्ने समय, शारीरिक व्यायाम, साथीभाइ र समाजसँग घुलमिल । कोठाभित्रै धेरै बसिरहँदा मानसिक स्वास्थ्य समस्यामा पर्न सकिन्छ । आफूलाई अनुकरणीय काममा क्रियाशील गराउनुपर्छ । साथै परिवारमा खुला रूपमा छलफल हुनुपर्‍यो । समस्या पर्दा ढाकछोप किन गर्ने ? परिवारमा कसैले उपलब्धि हासिल गर्दा खुशी मनाउन मिल्छ भने समस्या पर्दा उसलाई सहजीकरण गर्न किन सकिँदैन ? कोही कसैलाई हतोत्साहित गराउनु हुँदैन । परिवारका सबै सदस्य एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।

हामी सामाजिक प्राणी हौँ । विदेश जानेहरूमा घरपरिवारबाट टाढा हुँदाकाे 'एन्जाइटी' हुन्छ । घरका सदस्य बाहिर हुँदा सबैलाई एक्लोपन र 'डिप्रेसन' सम्म हुने गरेको देखिन्छ । एकअर्कालाई सहयोग गरौँ । जसले जे बुझ्छ त्यसैमा विवाद नगरिकन एकअर्कासँग मिलेर बसौँ । नेपालमा मेरो बच्चाको ज्यान जाओस् तर म बच्चाका लागि सहयोग लिन जान्न भन्ने अवधारणा छ । समाजका केही मानिसले समस्याको समाधान भन्दा उसको समस्या फैलाउने गरेको देखिन्छ । समस्यामा परेका मानिसलाई सहयोगको भावना व्यक्त गर्नुपर्छ । समाजबाट मात्र सहयोग प्राप्त भयो भने मानसिक स्वास्थ्य समस्या धेरै हदसम्म कम हुन्छ ।

'ह्याप्पी माइन्ड्स' ले महिनामा एक पटक चिया गफ भनेर राख्ने गरेकाे छ । जहाँ खुला आकाशमुनि बसेर हामी गफ गर्छाैँ । जसरी पहिले चौतारी र चिया पसलमा बसेर छलफल हुने गर्थ्याे । यसरी जमघट हुँदा आ–आफ्नो कुरा एकअर्कासँग भन्ने गरिन्थ्यो । त्यही भएर पनि मानसिक स्वास्थ्यको समस्या कम थियो होला । अहिले सबै मोबाइल हेर्दै कोठाभित्र आ–आफ्नो दुनियाँमा छौँ । वडाको तहबाट महिनामा एक पटक मात्र मानसिक स्वास्थ्यबारे कार्यक्रम गर्ने हो भने जनचेतना बढ्थ्यो ।

र अन्त्यमा नेपालमै बसेर पनि काम गर्न र सफल हुन सकिन्छ । यही कामबाट म विश्वप्रसिद्ध 'फोर्ब्स म्यागेजिन' को ३० वर्षमुनिका ३० जनाको सूचीमा पर्न सफल भएँ । अरू साथीहरू पनि यो सूचीमा परिरहनुभएको छ । जे काम गर्ने हो मनबाटै गर्नुपर्छ । जति नै पैसा, धन र नाम कमाए पनि खुशी हुनुहुन्न भने जीवन सफल हुँदैन । त्यसैले काम गर्दा मनबाट गर्नुपर्छ । कुनै संस्थासँग आबद्ध भएर वा आफैँ के गर्ने हो त्यो आफैँले निर्क्याेल गर्नुहोस् । आफूले के गरिरहेछु र किन यो गरिरहेछु भन्ने प्रश्न आफैँलाई सधैँ गर्नुहोस् । अनि धैर्य राख्नुहोस् । देशभित्रै चुनौती र अवसर दुवै छन् । चुनौतीलाई समाधान गर्ने बाटो पनि छ । 

(फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा पर्न श्रेया गिरीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्रेया गिरी

गिरी ह्याप्पी माइन्ड्सकी संस्थापक तथा प्रबन्ध निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया