किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले नै सुरु गर्‍याे तरकारी खेती

 मंसिर २१, २०७५ शुक्रबार ९:२१:० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको दार्मा गाउँपालिकाले तरकारी खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्न आफैँले तरकारी खेती सुरु गरेको छ । जिल्लाको दुर्गम गाउँपालिका दार्माले व्यावसायिक तरकारी खेतीमा किसानको मन जित्न र सजिलै बजारीकरणमा पहुँच पुर्‍याउन नमूना कृषि फार्ममार्फत तरकारी खेतीको सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले भन्नुभयो ‘दार्मा गाउँपालिकाको वडा नम्बर ३ मा १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका छौँ ।’ उत्पादनलाई व्यावसायिक बनाउनका लागि यो काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले नमुना कृषि फार्मको लागि यो वर्ष ५ लाख रकम विनियोजन गरेको थियो ।

गाउँपालिकाले अहिले हिउँदे सिजनको लागि मुला, गाँजर, पालुङ्गो, केराउ, स्थानीउ बकुल्लाजस्ता तरकारीहरु रोपेको छ । गाउँपालिकाका कृषि प्राविधिक केशव केसीले भन्नुभयो ‘अहिले हामीले बीउ उत्पादन र ताजा तरकारी उत्पाादनलाई जोड दिएका छौँ । त्यसैगरी बन्दा र ब्रोकाउली रोप्ने काम पनि भर्खरै सकिएको छ ।’

यसैगरी प्लास्टिक टनेल निर्माण, नर्सरी सेड हाउस निर्माण, आलु रोपन आदि  कामहरु पनि निरन्तर रुपमा भैरहेको उहाँले बताउनुभयो । दार्मा गाउँपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै कृषि उत्पादनमा स्थानीयको आकर्षण बढाइरहेको छ । कृषिमा प्रविधिको प्रयोग र स्थानीय उत्पादनमा बजारीकरणको समस्या नहोस भन्नकै लागि गाउँपालिकाले यो नमूना कृषि फाम सञ्चालनमा ल्याएको हो ।

फार्म हेर्न स्थानीय कृषिको घुइँचो

गाउँपालिकाले तरकारी खेतीका लागि नमूना कृषि फार्म संचालनमा ल्याएपछि अवलोकनका लागि स्थानीय कृषकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । गाउँपालिकाले फार्म संचालन गरेर तरकारी खेती गरेपछि आफूहरु पनि तरकारी खेतीमा हौसिएको दार्मा–३ डाँडागाउँका जगबहादुर केसीले बताउनुभयो ।

‘अब त गाउँपालिकाले नै तरकारी खेती सुरु गरेको छ ।’ उहाँले भन्नुभयो ’यसबाट हामीहरुलाई बजार खोज्ने समस्या भएन उनीहरुले नै खोजेको बजारमा हाम्रा उत्पादन पनि सजिलै बिक्री हुन्छन् ।’

किसानहरुलाई नयाँ प्रविधिमार्फत तरकारी खेती गर्नका लागि सुझाव र तालिम दिँदा उनीहरुले चासो नदेखाएपछि नमूनाको रुपमा गाउँपालिका आफैँले काम सुरु गरेको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो ।

नमूनाको रुपमा खेती गरेर देखाउन कर्मचारीहरु र जनप्रतिनिधिहरु लगातार खटिइरहेका छन् । केसीले भन्नुभयोे ‘हामीले यहाँका किसानलाई केही गरेर देखाउने अठोटले यो काम सुरु गरेका हौँ केही वर्षमै दार्मा गाउँपालिकालाई अर्गानिक तरकारी खेती र बीउको पकेट क्षेत्र बनाएर देखाउछौँ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया