खेर गएको टिमुरबाटै उद्योग सञ्चालन, टिमुरको तेल फ्रान्ससम्म निर्यात

 पुस १७, २०७५ मंगलबार १५:३३:५ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको शारदा नगरपालिका–१५, मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरी टिमुरको तेल उत्पादन गर्न थालेको छ ।

सल्यानमा उत्पादित टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । यहाँबाट गएको वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौं पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गएको वर्ष ६ सय किलो टिमुरको तेल प्रशोधन गरिएको बताउँदै उहाँले यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार एक सय किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको बताउनुभयो ।

‘गएको वर्षभन्दा यसवर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ’, उहाँले भन्नुभयो, ‘भर्खरै मात्रै  प्रतिकिलो १७ हजारका दरले चारसय किलो टिमुरको तेल काठमाडौं पठाइसकेका छौं ।’आफूले उद्योग शुरु गर्दा सोचे जति आम्दानी लिन सकिँदैन कि भनेर चिन्ता मान्ने गरेको स्मरण गर्दै उहाँले तीन वर्षयता राम्रै आम्दानी भएको बताउनुभयो ।

‘अहिले हामीले जिल्लाका विभिन्न स्थानबाट टिमुर संकलन गरी उद्योगमा ल्याउने गरेका छौं’, उहाँले भन्नुभयो, ‘एक क्वीन्टल टिमुरबाट चार किलोसम्म तेल प्रशोधन गर्न सकिन्छ । यस उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ । स्थानीय व्यापारी र वनस्पति कार्यालय कपुरकोटसँग समन्वय गरेर हामीले टिमुर खरिद गर्ने गरेका छौं ।’

उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालय सल्यानले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने मेशिन उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय संचालन गर्न राम्रै साथ र सहयोग पाएपछि उद्योग संचालन गर्न सहज भएको उहाँले बताउनुभयो ।

यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौंमा व्यापारीहरुसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चलाउनेले बताउनुभयो ।

‘प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘चौधरी ग्रुपले नै विदेश निर्यात गर्ने  र आफूले समेत उपयोग गर्ने गरेको छ ।’

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया