ओजेटीमा आएका विद्यार्थी कपिलस्तु अस्पतालबाट ठगिए

 फागुन २६, २०७५ आइतबार ११:९:५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तु अस्पताल तौलिहवामा ओजेटीमा आउने ल्याब असिस्टेन्टका विद्यार्थीहरु अस्पतालबाट ठगिएका छन् । नियम अनुसार अस्पताल प्रशासनले तोकेको प्रति महिना रु. १ हजार ५ सय ओजेटी दस्तुर वापत ६ महिनाको एकमुष्ठ ९ हजार रुपैयाँ दस्तुर लिनु पर्नेमा अस्पतालका एक कर्मचारी विद्यार्थीहरुबाट १२ हजारका दरले रकम असुल गरेका छन् । अस्पतालका ल्याब इञ्चार्ज राकेशकुमार साहले यस वर्ष ओजेटीका लागि आएका कुल १६ जना विद्यार्थीहरुबाट प्रति विद्यार्थी रु. ३ हजारका दरले बढी रकम असुल गरी ४८ हजार रुपैयाँ संकलन गरेका छन् । 

विद्यार्थीहरुबाट उठाइएको रकमको कुनै भरपाई नदिइएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीहरुबाट नियम विपरित बढी रकम उठाइ ल्याब इन्चार्ज साहले आफ्नो खल्ती भरेका छन् । विद्यार्थीहरुले बढी रकम तिर्नु पर्दा निकै दुख महसुस गरे पनि अस्पतालबाट आफूहरुले पाउने नम्बर कट्टी हुन सक्ने डरमा उनीहरुले यो रहस्य ६ महिना पछि मात्रै खोलेका हुन् । आफूहरुबाट ओजेटी खर्च भनेर ल्याब इन्चार्ज साहले ३ हजार बढी रकम असुल गरेको एक विद्यार्थी सहजाद हुसेनले बताए ।  यो कुरा कसैलाई नभन्नु भनेर आफुहरुलाई ल्याब इन्चार्ज साहले भनेका थिए, हुसेनले भने, “हामी विद्यार्थी मान्छे इन्चार्जसँग दुश्मनी गर्दा आफ्नो नम्बर कम हुने हो कि भन्ने डरमा ६ महिनासम्म केही बोलेनौं ।” 

यसरी अस्पताल कर्मचारीबाटै विद्यार्थीहरु ठगिएपछि अस्पतालका अन्य कर्मचारीहरुले भने यसको विरोध जनाएका छन् । अस्पतालका ल्याब टेक्निसियन अधिकृत स्तर छैठौं र ल्याब टेक्निसियन श्रीधर खनालले ओजेटीमा विद्यार्थीहरुबाट बढी रकम असुली गरेको भन्दै ल्याब इन्चार्ज राकेश कुमार साहविरुद्ध जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । 

उनीहरुले दिएको उजुरीमा १६ जना विद्यार्थीहरुबाट प्रति विद्यार्थी ३ हजारका दरले बढी रकम  असुल गरेको, ६ महिना ओजेटीमा आउँदै नआएका २ जना विद्यार्थीहरु दानबहादुर यादव र धनन्जय चौधरीबाट प्रति विद्यार्थी थप ८ हजारका दरले रकम असुल गरी ल्याब इन्चार्जले हाजिर भएको अवस्था देखाएको आरोप लगाएका छन् । उनीहरुले दिएको उजुरीमा यसरी बढी रकम असुल गर्ने ल्याब ईन्चार्ज साह उपर छानविन गरी कडा कारवाहीको माग गरिएको छ ।

अस्पताल प्रशासनले भने आफुहरुलाई यस बारे कुनै जानकारी नभएको बताएको छ । ६ महिना अघि भएको कुरा त्यति बेलै आफुहरुसँग आएको भए सजिलै समाधान गर्न सकिने अस्पताल विकास समितिका प्रशासन प्रमुख रत्नाकर शुक्लाले बताए । यस सम्वन्धमा आफुहरुले अब छानविन प्रक्रिया अघि बढाउने उनले बताए । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया