हावाहुरीपीडितकाे आग्रह: सरकार ! बर्खा लाग्नुअगाडि बलियाे घर बनाइदेऊ

 चैत २१, २०७५ बिहिबार २०:४५:५९ | जयनारायण यादव

बारा - ६ दिन अघिसम्म फेटा गाउँपालिका-६, पुरैनियाकी ३५ वर्षीया सालमा खातुन आफ्नो घरपरिवारसँग हाँसीखुशी गुजारा गरिरहनु भएको थियो। उहाँलाई घामपानी, अँध्यारो, किराफटयाँग्रा केहीको डरत्रास थिएन। तर, गएको आइतबार साँझ आएको हावाहुरीले खातुनको सबै खुशी दुई मिनेटमै दुस्खमा परिणत गरिदियो।

हाँसीखुशी जीवनयापन गर्दै आएका खातुनजस्ता झण्डै साढे १८ सय घरपरिवारलाई आइतबारको हावाहुरीले घरबारविहीन बनाइदिएको छ। हावाहुरी प्रभावित पुरैनिया, भलुहीभरवलिया, हर्दिया, प्रशुरामपुर, रमपुर्वा, खुटवा, तेलगाईलगायतका ठाउँका बासिन्दाहरु कष्टपूर्ण र त्रासयुक्त जीवन व्यतित गर्न बाध्य भएका छन्।

‘सरकारले प्रभावितलाई बस्न पाल हालेर अस्थायी टहरा बनाइदिए पनि प्रभावितहरुको त्रास अझै हटेको छैन। खातुन भन्नुहुन्छ,‘ओत लाग्ने ठाउँ त भयो तर कहिलेसम्म यसमा बस्नु? सरकारले चाँडै पक्की र बलियो घरको व्यवस्था गरिदिनुपर्यो।’

पुरैनियाकै ५५ वर्षीय मंजुर अंसारीले हावाहुरीले घर भत्काउँदा आफ्ना दुई छोरी गुमाउनु भयो र अहिले  सुरक्षाकर्मीले बनाइदिएको अस्थायी वासस्थानान आश्रय लिनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘पाउने दु:ख त पाइसक्यौँ, अब वर्षा र असिनाको डर छ। यो टेण्टले असिनाबाट बचाउँदैन, त्यसैले जति सक्दो चाँडो बलियो घर बनाइदिनु पर्यो।’

पत्नी र बुहारीसँगै घर समेत गुमाएका भलुही भरवलियाका रामसुरत दासले पनि सक्दो चाँडो बलियो घर बनाइदिन सरकारसँग माग गर्नुभयो। ‘नेताहरु, मन्त्रीहरु आउँछन्, घर बनाइदिन्छौँ भनेर आश्वासन दिन्छ्न् र जान्छन्, उहाँले भन्नुभयो’, ‘सरकार आश्वासन होइन छिटो बलियो घर बनाइदेउ।’

सुरक्षाकर्मीले बनाइदिएको टेण्टको अस्थायी टहराले हावा, पानी छेक्न नसक्ने भन्दै हावाहुरी प्रभावितहरुले वर्षायाम अगावै बलियो घर बनाइदिन सरकारसँग आग्रह गरेका छन्।

‘भएको घर त हुरीले भत्काइदियो पुरैनियाका शायला खातुनले भन्नुभयो,’ ‘यो पालमा लामो समय कसरी बस्ने? सुरक्षित पनि छैन, बालबच्चालाई कहाँ राख्ने? खाना कसरी पकाउने? दिशा-पिसाब कहाँ गर्ने? सरकार वर्षा अगावै जीउ लुकाउने छत देउ।’

प्रदेश सरकारले प्रभावितहरुको घर बनाइदिने घोषणा गरेको छ तर अहिलेसम्म निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन।

‘सरकारले घर बनाउने भन्दैछ तर प्रक्रिया लामो हुन्छ । पूरा गर्दागर्दै वर्षायाम सुरु हुन्छ र पानी पर्न थाल्छ’, पुरैनियाकी खेरुनेसाले भन्नुभयो, ‘त्यसपछि हामी कहाँ बस्ने? सरकार हाम्रा लागि भगवान झैँ सावित भएका सेना-प्रहरीलाई जिम्मा दिएर चाँडोभन्दा चाँडो बलियो घर बनाइदेउ।’

अस्थायी पालभित्र सर्प, किरा पस्ने त्रासमा पनि छन् प्रभावितहरु ।‘बलियो घर भए बालबच्चालाई पनि निर्धक्क साथ घरमा छोडेर कामको जोहो गर्न बाहिर जान्थे ।‘ भलुहीभरवलियाका राजेश दासले सरकारसँग आश्वासनकाे सट्टा असार अगावै बलियो घर बनाइदिन आग्रह गर्नुभयो।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया