भेरी बबई सुरुङको ‘ब्रेक थ्रू’ गर्दै प्रधानमन्त्रीले भने : खुशियाली मनाऔँ, हाम्रै पालामा नेपाल धनी बन्छ

 बैशाख ३, २०७६ मंगलबार १७:५६:६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काम आफ्ना पालामा हुने भन्दै सबैलाई खुशियाली मनाउन आग्रह गर्नुभएको छ ।

समयावधिभन्दा अघि नै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएपछि मंगलबार सुरुङ निर्माणको ब्रेक थ्रूको औपाचारिक घोषणा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

नयाँ प्रविधिमार्फत आयोजनाको सुरुङ निर्माण काम समयभन्दा पनि अघि नै सकिएकाले यसले सबैलाई उत्साहित र खुशी बनाएको बताउनुभयो । ‘खुशियाली मनाऔँ । यस्ता विकास निर्माणका कामहरु हाम्रै आखा अगाडि हुँदैछन्, हाम्रै समयमा, हाम्रै समयमा नेपाल धनी हुन्छ’, उहाँले भन्नुभयो ।  प्रधानमन्त्री ओलीले छिट्टै नै देश सुखी हुने बताउँदै भन्नुभयो, ‘हाम्रै पालामा देश सुखी हुन्छ । आत्मविश्वासका साथ हामी अघि बढौँ ।’ उहाँले भेरी बबईजस्ता आयोजना निर्माण गरेर देशको अर्थतन्त्रमा मजबुत गराउने बताउनुभयो । उहाँले भेरी बबई आयोजनाका बाँकी काम पनि छिट्टै सक्ने गरी अघि बढाउने बताउनुभयो ।  

उहाँले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रमसँग जोड्ने बताउनुभयो । यसमा नागरिक, स्थानीय सरकार र प्रदेश सरकारलाई लगानीमा सहभागी गराउने बताउनुभयो । साथै उहाँले देश विकासका लागि उर्जा, पर्यटन, कृषि, रोजगारी सिर्जनालागायतका क्षेत्रमा सरकारले  ध्यान दिइरहेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले  देशको गरिबीलाई अन्त्य गरिछाड्ने संकल्प लिएको भन्दै अब देशमा कोही पनि भोकै मर्न नपर्ने बताउनुभयो । उहाँले सिँचाइ, जलविद्युतजस्ता आयोजनामा मात्र नभएर कृषिमा पनि नयाँ प्रविधिको प्रयोग गरिने बताउनुभयो । उहाँले भेरी बबई आयोजनाबाट बर्दिया र बाँकेमा सिँचाइ उपलब्ध गराएपछि अन्य ठाउँका लागि पनि सरकारले लाग्ने बताउनुभयो । 

‘अब तुरुन्तै यस आयोजनाको बाँध र विद्युत गृह निर्माण गर्छौैँ’, उहाँले भन्नुभयो, ‘यहाँबाट विद्युत छिटो उत्पादन गरेर जनताको घरघरमा बिजुली पुर्‍याउँछौँ ।’ नेपालका स्रोतहरुको प्रयोग गरेर अर्थतन्त्रमा परिवर्तन ल्याउने भन्दै  विकासमा नयाँ गति नयाँ अठोटका साथ अघि बढेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको भन्दै कोही पनि बालबालिका विद्यालयबाहिर रहन नदिन सबै एक भएर अभियानमा लाग्न पनि आग्रह गर्नुभयो । उहाँले प्रदेश–प्रदेशबीच साझेदारीको वातावरण सिर्जना गरी सबै ठाउँको विकास गर्ने पनि बताउनुभयो ।  

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टरमा सिँचाइ उपलब्ध हुने तथा आयोजनाबाट ४६ दशमलब ८ मेगावाट विद्युत उत्पादन हुनेछ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया