अन्तर्राष्ट्रिय स्तरको सभाहल खोइ ? भक्तपुरमा बन्ला त ५ हजार मान्छे अट्ने सभाहल ?

 बैशाख १७, २०७६ मंगलबार १५:२३:२१ | अर्जुन पोख्रेल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – २०७५ सालको चैत १५ र १६ गते नेपालमा लगानी सम्मेलन भयो । सरकारले निम्ता गरेका सयौँ लगानीकर्ता÷उद्योगी व्यवसायी लगानी सम्मेलनमा आए । 

सरकारले यति धेरै पाहुना आउलान भनेर अपेक्षा गरेको थिएन । लगानी सम्मेलनबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा लगानी बोर्ड नेपालले ७ सय जति विदेशी पाहुना आउलान् भन्ने अपेक्षा रहेको बताएको थियो । स्वदेशी र विदेशी गरेर १२ सय जति पाहुना सम्मेलनमा आउने सरकारी आंकलन थियो  । 

तर सम्मेलनमा लगानी बोर्डले आंकलन गरेकाभन्दा पनि धेरै पाहुना आए । सम्मेलनमा ४० देशका ३ सय कम्पनीका ८ सय ९ जना विदेशी पाहुना उपस्थित भएको लगानी बोर्डको दाबी छ । यस्तै नेपालका  १ सय भन्दा धेरै कम्पनीका ७ सय पाहुना लगानी सम्मेलनमा उपस्थित भएको बोर्डले जनाएको छ । 

नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय सम्मेलन र राष्ट्रिय सम्मेलन धेरैजसो हायात रिजेन्सी बौद्ध र सोल्टी क्राउन प्लाजा कालिमाटीमा हुन्छन् । हायातको भन्दा ठूलो क्षमता भएकाले सोल्टीमै धेरै सम्मेलन हुन्छन् । 

तर लगानी सम्मेलनको लागि सोल्टी होटल निकै साँघुरो देखिन्थ्यो । उद्घाटनको दिन होटलभित्रको हलसहित पश्चिमतर्फको चउरमा पनि २ वटा ठूला टेन्ट लगाएर स्क्रीन राखिएको थियो । तर पनि मान्छे अटेका थिएनन् । केही विदेशी पाहुनाले उभिएरै हेरिरहेका थिए । सरकारले ठूलो महत्वकांक्षा राखेर आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी पाहुना नै बस्न नपाएपछि केही नेपाली पत्रकारले आफू बसेको सिट विदेशीका लागि छाडिदिएका थिए । 

उद्घाटन समारोह सकिएपछि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई सम्मेलनको लागि ठाउँ साँघुरो भएको विषयमा जिज्ञासामा भन्नुभएको थियो, ‘विगतमा पनि ठूला सम्मेलन गर्दा हामीलाई ठूलो हलको अभाव भएको थियो, यसपटक पनि अभाव नै भयो, त्यसैले लगानीका सम्भावित क्षेत्रमध्ये हामीले अन्तर्राष्ट्रिय सभाहल पनि समावेश गरेका छौँ, आशा छ, यसमा लगानीको प्रतिबद्धता आउनेछ ।’

सम्मेलन केन्द्र बनाउन २ वटा प्रस्ताव

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पाहुना बस्ने ठाउँ पनि नभएको देखेका विदेशीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रतिबद्धता पेश गरेका छन् । लगानी बोर्डले राखेका ७५ वटा परियोजनामध्ये भक्तपुरमा बन्ने भनिएको नेपाल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनीस्थल बनाउनको लागि २ वटा विदेशी प्रस्ताव आएका छन् । 

‘प्रतिस्पर्धा र अरु कुराको ख्याल गरेर अहिले हामीले कसले आवेदन दियो भन्ने खुलाउन मिल्दैन, तर सम्मेलन केन्द्रको लागि पनि २ वटा विदेशी कम्पनीले आवेदन दिएका छन्’,  लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले  भन्नुभयो । 

 ५ हजार सिटको सम्मेलन केन्द्र, प्रदर्शनी हल र एक सय कोठाको होटल 

भक्तपुरको मध्यपुर ठिमीमा २४ एकड अर्थात ९ दशमलव ७१ हेक्टर क्षेत्रफलमा बहुउद्देश्यीय हल बनाउन सरकारले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ ।

लगानी बोर्डले विदेशी लगानीकर्तालाई लक्षित गरेर वेबसाइटमा राखेको जानकारीमा बहुउद्देश्यीय सम्मेलन केन्द्र बनाउन १६ मिलियन डलर अर्थात १ अर्ब २७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

सम्मेलन केन्द्र ५ हजार सिट क्षमताको हुनेछ । जहाँ सभा, सम्मेलन, कन्सर्ट, कुनै बस्तुको प्रदर्शनी र व्यापारिक कार्यक्रम हुने उल्लेख छ । 

यस्तै सम्मेलन केन्द्रमै अन्तर्राष्ट्रिय स्तरको होटल पनि बन्नेछ, जहाँ एक सय सुविधासम्पन्न कोठा हुनेछन् । होटलमा अपार्टमेन्ट सुविधा पनि हुनेछ, जहाँ विदेशी पाहुनाहरु लामो समयसम्म पनि बस्न सक्नेछन ।

हेलिप्याडसमेत भएको सम्मेलन केन्द्रमा भीआईपी कक्षहरु पनि हुने लगानी बोर्डले राखेको जानकारीमा उल्लेख छ । सम्मेलन केन्द्र सार्वजनिक निजी साझेदारीमा बन्नेछ,  कानुनी स्वीकृति, जग्गा अधिग्रहण, आयोजनास्थलको सुरक्षालगायतका जिम्मा सरकारले लिने लगानी बोर्डको वेबसाइटमा उल्लेख छ ।  ३० वर्षको आयु रहने सम्मेलन केन्द्र ३ वर्षमा बनाउन सकिने पनि बोर्डको दाबी छ ।

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन भएपछि ठूला हलको अभाव

काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलनहरु नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन्थे । तर संविधानसभाको चुनावपछि बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संविधानसभा भवनमा परिणत भयो । पछि संसदीय चुनाव भयो त्यसपछि पनि सम्मेलन केन्द्र संघीय संसद भवनमा रुपान्तरण भएको छ । सरकारले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक ११ करोड रुपैयाँ भाडा तिरेर सम्मेलन केन्द्रलाई संघीय संसद भवनको रुपमा उपयोग गरिरहेको छ । 

सम्मेलन केन्द्रमा २ हजार जना अट्ने सिट थिए, ४ सय वटा गाडी पार्किङ, सुरक्षाका उपकरण, पानीका फोहरा, बगैँचासहित सबै सुविधा थिए । संविधान सभाको चुनाव अघि नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय सभा/सम्मेलन बानेश्वरको सम्मेलन केन्द्रमै हुन्थे । अहिले २ हजार मान्छे अटाउने कुनै सभा सम्मेलन गर्नुपर्‍यो भने हलको अभाव हुने गरेको छ । नेपालमा आयोजना हुने भनिएको भारतकै प्रतिष्ठित जी सिनेमा अवार्ड पनि हल नभएकै कारण रोकिएको थियो ।

सरकारले सिंहदरबारमा रहेको तत्कालीन संसद भवनको मर्मत गरेर त्यसमै संसद बैठक राख्ने र बीआईसीसी छाड्ने योजना पनि भूकम्पले भत्काएर जीर्ण बनेको संसद भवन पुनर्निर्माण भएको छैन । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया