धार्मिक एवम् ऐतिहासिक महत्वको अकला मन्दिरमा भौतिक संरचना निर्माण हुँदै

 जेठ ११, २०७६ शनिबार १७:४२:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–८ मा रहेको अकला मन्दिरलाई गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ । धार्मिक एवम् ऐतिहासिक महत्वको अकला मन्दिरको भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । 

प्राप्त बजेटबाट मन्दिरमा मेशीनरी पर्खाल, व्यवस्थित शौचालय, खानेपानी ट्यांकीलगायतका संरचना निर्माण गरिने अकला मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतले जानकारी दिनुभयो ।     

उहाँका अनुसार भौतिक संरचना निर्माणका लागि विजेन्द्र थापाको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति समेत गठन गरिएको छ । यसैगरी, सुन्दरबजार नगरपालिका वडा नं ८ का वडाअध्यक्ष कृष्णकान्त अधिकारीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरिएको छ ।

मन्दिरको भौतिक संरचना निर्माणको काम छिट्टै सुरु हुने उपभोक्ता समितिका अध्यक्ष थापाले बताउनुभयो ।  

बजेटको सही सदुपयोग गरी मन्दिरको भौतिक संरचना निर्माणको काम छिट्टै सम्पन्न गर्न उपभोक्ता समितिलाई सुन्दरबार नगरपालिकाका मेयर जनकराज मिश्रले आग्रह गर्नुभएको छ ।  

जग्गादाता विनोदबहादुर कुवँरका अनुसार अकला मन्दिरको कलात्मक पुर्ननिर्माणका लागि भन्दै मन्दिरले गएको फागुन २६ गतेदेखी चैत २ गतेसम्म सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञबाट ३६ लाख रुपैयाँ दान संकलन भएको थियो । संकलित पैसा पनि मन्दिरको कलात्मक पुर्ननिर्माणमा खर्च गरिने अकला मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  

यस मन्दिर डुम्रे–बेसीशहर सडकखण्डको आडैमा छ । सडकबाट झण्डै २ सय मिटरको सिँडी बिच्छ्याइएको बाटो उक्लेपछि मन्दिर आइपुग्छ ।    

यस मन्दिरमा पूजा–आजा गर्दा घरपरिवारमा सुख–शान्ति छाउने, मनोकांक्षा पुरा हुने, भाकल गरेमा मुख बोल्न नसक्नेहरु मुख बोल्ने जनविश्वास रहेको स्थानीय बताउँछन् ।

विशेषगरी यस मन्दिरमा दुर्गादेवीको पूजा–आराधना गरिन्छ । मूल अकला मन्दिरसंगै मन्दिर परिसरमै शिव मन्दिर, गणेश मन्दिर पनि बनाइएको छ ।

पुजारी बस्ने र सत्संग गर्नका लागि एउटा पाटी पनि बनाइएको छ । यहाँ दैनिक भजन कीर्तन, धार्मिक प्रवचन हुने गर्दछ । प्राय: दिनहुँ स्थानीय वृद्धवृद्धाहरु जम्मा भई भजन किर्तनका साथै धार्मिक प्रवचनमा रमाउँछन् ।

मन्दिरमा विवाह, व्रतवन्धलगायतका शुभकार्य हुने स्थानीय बताउँछन् । स्थानीयका अनुसार पूजा–आजा गर्नका लागि टाढा-टाढाबाट समेत भक्तजनहरु अकला मन्दिरमा आउँछन् ।

लमजुङसहित, तनहुँ, पोखरा, गोरखा, स्याङ्जा पर्वत, काठमाडौँ, पोखराका साथै देशका विभिन्न ठाउँबाट भक्तजनहरु पूजा–आजाका लागि यहाँसम्म आउने गरेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया