जब विश्वकपको मैदानमा समर्थकले नेपाली झण्डा मागे...

फिफा विश्वकप अवलोकन गर्न पुग्दा

 असार २०, २०७५ बुधबार २१:३०:१ | कुमार थापा
unn.prixa.net

युरोपेली फुटबल महासंघले मलाई गएको मंसिरमा फुटबल व्यवस्थापनको लागि छात्रवृत्ति प्रदान गरेको थियो । स्नातकोत्तर तहको २ वर्षे कोर्षको लागि एसियाबाट म मात्रै छानिएको थिएँ । २७ हजार डलर बराबरको छात्रवृत्ति पाएर यो कोर्षको लागि विश्वभरका २५ जनासँगै  म पनि छानिएको हो । गएको मंसिरबाट नै युरोपका विभिन्न देशमा मैले यो तालिम लिइरहेको छु । 

यो तालिम फुटबल व्यवाथापनको भएकाले सैद्धान्तिक र व्यवहारिक रुपमै अध्ययन गर्नुपर्ने हुन्छ । यसअघि पनि युरोपका विभिन्न क्लबमा अध्ययन भ्रमणको लागि पुग्ने मौका मिलेको थियो । अहिले पनि विश्वकप फुटबलमा भैरहेको व्यवस्थापनबारे बुझ्न मलाई रुस जाने मौका मिल्यो । 

मंगलबार राति स्विट्जरल्याण्ड र स्विडेनबीचको खेल हेर्न सेन्ट पिटर्सबर्ग स्टेडियममा म पुगेको थिएँ । यो खेल र अवसरको लागि म निक्कै उत्साहित थिएँ । सन् २०२२ को विश्वकपको आयोजक कतारबाट पनि एक सय जना अवलोकलनकर्ता विभिन्न स्टेडियममा पुगेका थिए । म पनि उनीहरुसँगै सेन्ट पिटर्सबर्गमा थिएँ । खासगरी विश्वकप प्रतियोगिता कसरी व्यवस्थापन हुँदो रहेछ भनेर हामीले हेरेका थियौँ । यूईएफएले खटाएको आधिकारिक व्यक्ति भएर मैदानको अवलोकन गर्न पाउँदा मलाई निक्कै खुसी लागेको छ । एउटा नेपाली आएर विश्वकपको मैदानमा घुम्न र अवलोकन गर्न पाउनु सायदै दुर्लभ अवसर हो जस्तो लागेको छ मलाई । 

अन्तिम १६ का भेन्यूमध्ये म सेन्ट पिटर्सबर्गमा पुगेको थिएँ । खेल हुनुभन्दा २ दिन पहिले नै म मैदानमा पुगेको थिएँ । यूईएफएको ५ जनाको टिममा पनि परेकोले फुटबल हेर्नको लागि मात्र नभइ म व्यवस्थापन पनि हेर्न पुगेको थिएँ । पहिलो दिन खेलाडीले मैदानमा गरेको पूर्वअभ्यास हेर्न गयौँ,  त्यहाँ रुसको फुटबल संघ र फिफाका आधिकारिक व्यक्तिले हामीलाई जानकारी गराए । त्यस्तै विभिन्न विभाग सम्हालेका व्यक्तिले पनि विश्वकप सञ्चालन गर्दाका अनुभव, समस्या र सफलतामा पनि हामीलाई सुनाए । व्यवस्थापनका सबै कुराको प्रस्तुतिकरण गरिसकेपछि उनीहरुले हामीलाई स्टेडियम घुमाउन लगे ।

मैदान घुमाउँदै गर्दा मैदानको व्यवस्थापन, अन्तर्राष्ट्रिय मान्यता, आवश्यकता, चुस्त व्यवस्थापन लगायतका कुरामा हामीलाई फिफा र आयोजक देश रुसका प्रतिनिधिले जानकारी गराए । त्यसैगरी स्वयंसेवक कसरी परिचालन भएका छन् भन्ने बारेमा पनि हामीलाई जानकारी गराइयो । त्यस्तै मिडिया कसरी व्यवस्थापन भैरहेको छ, ब्रोडकास्टिङ कसरी भैरहेको छ भन्ने बारेमा पनि मलगायत मेरो टोलीमा रहेका ५ जनालाई जानकारी दिइयो । यूईएफएको प्रतिनिधिका हिसाबले त्यसरी जानकारी लिन पाउँदा बेला बेलामा छाती गर्वले फुलेको हुन्थ्यो ।

आफ्नो कोर्षसँग सम्बन्धित भएकाले यति ठूलो प्रतियोगिताको व्यवस्थापन कसरी भैरहेको छ भन्ने पनि म खुब चाख राखिरहेको थिएँ । रुस, फिफा र स्थानीय संघ संस्थाको कस्तो समन्वय छ भन्ने पनि मलाई खुब जान्न मन थियो । मिडिया, हस्पिटालिटी, सुरक्षा, खेलाडी ल्याउने लैजाने के कसरी हुँदो रहेछ भनेर हेर्ने अनुभव लिन पाइयो । त्यस्तै भीआईपी र अन्य व्यक्तिको सुरक्षा प्रवन्ध भित्री रुपमा कसरी बलियो पारिँदैछ भन्ने कुराको पनि जानकारी लिन पाइयो ।

खेलको क्रममा म चाहिँ स्विट्जरल्याण्डका खेलाडी बस्ने बेञ्च भन्दा ठ्याक्कै माथिल्ला सिटमा बसेको थिएँ ।  त्यो ठाउँमा बसेर लाइभ खेल हेन पाउनु त म शब्दमा वर्णन गर्न सक्दिनँ । ६४ हजार ४ सय २ जना दर्शकको बीचमा विश्वकपको प्रि–क्वार्टरफाइनल खेल, त्यसमाथि यूईएफएको एउटा विद्यार्थी/प्रतिनिधिको हिसाबले फुटबल हेर्न पाउँदा म फुरुङ्ग थिएँ । 

सबै दर्शकहरु आ–आफ्नो देशको झण्डा बोकेर, खानेकुराहरु खाँदै, नाच्दै गाउँदै रमाइलो गरिरहेका थिए । म पनि नेपालको झण्डा बोकेर पुगेको थिएँ । रुसका केही साथीहरुसँग चिनजान भयो । हाम्रो झण्डा देखेर उनीहरुले अनौठो माने । मैले नेपालको झण्डासँगै सेन्ट पिटर्सबर्गको मैदानमा फोटा पनि खिचेँ । उनीहरुले पनि फोटा खिचे । त्यसपछि उनीहरुले हामीलाई नेपालको झण्डा खुब मन पर्‍यो दिन सक्छौँ भनेर सोधे । मैले चाहिँ आफूसँग एउटा मात्रै झण्डा भएकाले नेपाल घुम्न आउनु र नेपालको झण्डासँगै अरु धेरै गिफ्ट दिन्छु  निभनेर कन्भिन्स गराएँ ।

नेपालबाट विश्वकप फुटबल हेर्न आउनलाई नै निक्कै प्रक्रिया पूरा गर्नुपर्छ र लगानी पनि चाहिन्छ । तर मैले त यूईएफएको एउटा अवलोकनकर्ताका रुपमा मैदानभित्र पुगेर हरेक साना साना कुरा पनि हेर्ने मौका पाएँ । मेरा लागि र एउटा नेपालीको लागि यो भन्दा ठूलो कुरा अरु के हुन सक्छ र ?

-युरोपेली फुटबल महासंघ (यूईएफए)को फुटबल व्यवस्थापनसम्बन्धी अध्ययनको लागि युरोपमा रहेका कुमार थापासँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित ।


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार थापा

थापा नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व खेलाडी तथा महिला राष्ट्रिय टाेलीका पूर्व प्रशिक्षक समेत हुन् ।

तपाईको प्रतिक्रिया