कविता : लोक सेवा फेल

 असार १२, २०७६ बिहिबार १२:३८:३५ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

म लोक सेवा फेल भएँ
साथीले भन्यो पत्रिकामा नाम छैन
म भन्छु...
फाल्दे पत्रिका त्यसको काम छैन

राधा बोक्सी बन्ने देशमा
संविधानका धाराको काम आएन
अँध्यारो कोठामा बसेर पढियो
जहाँ कहिल्यै घाम आएन
तर साथी भन्छ...
पत्रिकामा तेरो नाम आएन

साउथ चाइना सी थियो किताबमा
कोशी थिएन
पढ्ने उत्कट इच्छा मेरो दोषी थिएन
भूमध्य सागरको गहिराइ था'छ तर पसेको हैन
हिरोसिमाको कथा था'छ तर मैले देख्दादेख्दै एटम बम खसेको हैन

पृथ्वीमा सबभन्दा तातो कहिले भयो ?
मलाई था'छ...न म यसलाई तताउन अनि सेलाउन सक्छु
संसार भरिका देशका सीमा केशका झैँ केस्रा केलाउन सक्छु
मलाई मिति कण्ठाग्र छ जङ्गबादुरले सु गरेको
फेतुल्लाह गुलेन था छ टर्कीमा कू गरेको
रकेटदेखि खाली पकेटसम्म
डलरदेखि मैलिएको कलरसम्म
आकाशको मङ्गलदेखि अफ्रिकाको जङ्गलसम्म
कण्ठ पार्दै रहेँ
तर साथी सुनाउँछ...म त फेल भएँ

मूर्तिका नाम, मान्छेका नाम
किताबका राजाका भान्छेका नाम
अलेक्जेण्डरले बोलेको देखि सिंहदरबार पोलेकोसम्म
कोशीको बाँध भत्केकोदेखि ब्यारेजका ढोका खोलेकोसम्म
याङ्सीको लम्बाइदेखि आमेजनको चौडाइसम्म
ऐलिजाबेथको हिँडाईदेखि बोल्टको दौडाइसम्म

मिति था'छ गण्डक बाँध 'असल छिमेकी'ले थुनेको
प्रताप मल्लले १५ भाषा बोलेको त मैले नै सुनेको
व्यासजीले १८ पुराण मेरै कोठामा लेखेको
कृष्ण मन्दिरमा गजुर हालेको त मेरै आँखाले देखेको

कार्ल मार्क्सको दाह्रीको केस्रा
शेक्सपियरले कोरेको खेस्रा
हिरोहितोको दनकदेखि हिटलरको सनकसम्म
सबै-सबै कण्ठ भो
देश चिथोर्नेहरूको नाम सम्झन नै लण्ठा भो
देश डुब्दा सँगै डुबियो, बल्दा सँगै तापियो
यति पढियो भुत्रो नापियो...नाम त अर्कैको पो छापियो

विभिन्न नामका मल्लैमल्ल
पढ्दापढ्दै अलमल्ल
कोही मन्दिर ठड्याउने कोही गजुर सिउरिने
मल्ल खलकले अचानक बनाए समाजअघि निहुरिने

महिन्द्र मल्ल ढुङ्गामा सुते, द्रव्य शाह गोर्खामा कुदे
जगज्योति पासामा जुधे, के-के पढियो के-के
सिंहदरबार जलाएर कीर्तिनिधिले तापेको
काष्ठमण्डप अड्याउन लक्ष्मीनरसिंहले काँध थापेको

वीरगञ्जको ताप्के, चैनपुरको करुवा
हिटलरको युद्धपोत, प्रचण्डको भरुवा
गुल्मीको कफी पिइयो, इलामको चिया
लेकिन आज आकर लोक सेवा ने इतना धोका दिया
रात और दिन पढाया बड्का-बड्का ठेली
एक्जाम दिलाया कपी चेक करने बनगया साला झेली
विश्व ब्रह्माण्ड सारा घुलाकर हमने उत्तर लेखा
दारू पिके चेक किया उसने राइटको रङ देखा
दस प्रश्नोँका गोली दागा, हमने छाती थापदिया
चार महिनातक वेट कराया लेकिन दुसरेका नाम छापदिया

उसले अधिकृत बनाएन, आफैँ त्यत्तिकै बन्न पनि गाह्रो
समाजसामु लोकसेवा थर्ड इयर भन्न पनि गाह्रो
महाभारतका पात्रसँग भट्टीमा बारम्बार हात मिलाइयो
पास भइयो घोषणा बाँकी भन्दै पाण्डवलाई दारू पिलाइयो

झर्ला पानी भन्दै जाँचियो संविधानका सुकेका धारा
ग्लोब जस्तै घुम्छ टाउको आँखा अघि तारैतारा
यो संसारका कुना काप्चा एक-एक गर्दै ध्यानमा आयो
भूकम्प गयो ७२ सालमा पराकम्प अहिले ज्यानमा आयो

मिसिसिपी,पराना, जाम्बेजी र कङ्गो
घुमाएर सोध्यो प्रश्न, उत्तर झनै बाङ्गो
महासागर हाम्फालेर फित्ता लिएर गहिराइ नापियो
याकुत्स्कमा सिरक खापियो, अफ्रिकाको घाम तापियो
टङ्कन, मुद्रण खै के भाको हो नाम त फ्याट्ट अर्कैको पो छापियो !!!

-उज्यालाे अर्काइभबाट

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tirtha Bikram Thapa

    June 28, 2019, 7:11 a.m.

    यो त पहिले नै हालेको थियो नि कबिता फेरि लोक सेवा को माहोल भएको बेला आए छ हजुर

  •  0 Reply

तपाईको प्रतिक्रिया