बाई–बाई ब्राजिल ! पाँच पल्टको विश्व विजेतालाई २–१ ले हराउँदै बेल्जियम सेमिफाइनलमा

 असार २२, २०७५ शनिबार ५:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधिको प्रमुख दावेदार भनिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो ।

रुसको काजान एरिनामा भएका प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा पहिलो हाफमा गरेको २ गोलले बेल्जियमलाई विजयी बनायो । यद्यपि बेल्जियन गोलरक्षक थियागो कोट्वाको प्रदर्शन पनि आजको खेलमा शानदार थियो ।
 
खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोल गर्न पुगेका थिए ।
 
उपहार गोलमार्फत अग्रता बनाएको बेल्जियमले ३१औं मिनेटमा अर्को गोल थप्यो । म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुयेनले झण्डै २० यार्ड टाढाबाट गरेको सशक्त प्रहार ब्राजिली गोलरक्षक इकर कोलिसनलाई बिट गर्दै शानदार गोलमा परिणत भएको थियो ।
 
दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । बेल्जियनका किपर कोट्वाले पाउलिन्हो, नेइमार, मार्सेलो लगायतका ब्राजिलियन स्टारका शानदार प्रहार विफल पारिदिएका थिए । 

जापानविरुद्धको खेलमा २–० ले पछि परेको अवस्थामा पनि बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको थियो । ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा पनि बेल्जियमले काउन्टर अट्याकलाई निरन्तराता दियो । उसले एक गोल उपहार पायो भने अर्को गोल काउन्टर अट्याकमा गर्यो । बेल्जियमले साँच्चै नै ब्रिलियन्ट खेल देखायो । राम्रो खेलेर पनि आफूले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा ब्राजिल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य भयो । 

ब्राजिलविरुद्ध सनसनीपूर्ण जित हात पार्दै विश्वकप इतिहासमा बेल्जियम दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपको क्वार्टरफाइनलमा पेनाल्टी शुटआउटमा स्पेनलाई ५–४ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । यद्यपि सेमिफाइलमा उ अर्जेन्टिनासँग २–० ले हार्न पुग्यो । अर्जेन्टिनाका लागि दुवै गोल डियगो म्याराडोनाले गरेका थिए । थर्ड प्लेसका लागि भएको प्रतिस्पर्धामा फ्रान्ससँग ४–२ ले हार्न पुग्यो । 

 
यता बेल्जियमले भने फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स शनिबार नै  भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगेको हो ।
 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया