संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइने

 असोज ३, २०७६ शुक्रबार १६:२१:४३ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउने भएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइने भएको हो ।

यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराउन लागेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

‘लामो समयको प्रयास र मेहनतले यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि झण्डा फहराइन लागेको हो’, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

राजदूतको रुपमा ढकाल यूएई आएलगत्तै नेपाली पत्रकारसँग गरेको भेटघाट तथा छलफलको क्रममा झण्डा राख्ने विषयलाई आफूले सकेको प्रयास गर्ने बताउनु भएको थियो ।

संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने बुझाइ धेरैको छ । बुर्ज खालिफा भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिन्थ्यो । यसपालि पहिलो पटक नेपालको झण्डा फहराइने कुराले यूएईमा कार्यरत धेरै नेपाली हर्षित छन् ।

नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाउने तयारी गरेका छन् । आज शुक्रबार स्थानीय सार्वजनिक बिदा भएकोले पनि धेरै नेपाली त्यहाँ पुग्ने अनुमान गरिएको छ ।

यसैबीच नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार दूतावासमा समेत झण्डोत्तलन तथा दीप प्रज्ज्वलन गरिएको थियो । आज शुक्रबार यूएईमा रहेका नेपाली संघसस्थाको उपस्थितिमा दूतावासमै कार्यक्रमसमेत गरिँदै छ ।

त्यस्तै आउँदो आइतबार दूतावासकै आयोजनामा बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया