दशरथचन्द नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी र पहिरो पूर्व सूचना प्रणाली जडान

 कात्तिक ३, २०७६ आइतबार २१:१५:५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - चट्याङ र पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणाली जडान गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय कन्जर्भेसन ग्रुपको प्राविधिक सहयोगमा प्रणाली जडान गरिएका हुन् । 

नगरपालिकाका प्रवक्ताका अनुसार चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको हाे । साथै अहिले नमूनाको रुपमा नगरपालिका भवनको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको हाे । 

नगरपालिकाको परिसरमा जडित यो प्रणाली सस्तो हुने र ५० मिटर वरपर चट्याङको जोखिम नहुने भूगर्भशास्त्री डा.रञ्जनकुमार दाहालले बताउनुभयो । 

उहाँका  अनुसार बर्खाकाे समयमा पहिरो जान सक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहित पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको हाे । पाइप र गुच्चाको प्रयोग गरेर यो प्रणाली जडान गरिएको वर्षाले जमीन भासिएमा गुच्चा खसेर घण्टी बज्ने उहाँले बताउनुभयो । 

यो प्रणाली प्रभावकारी र भरपर्दाे भएमा अबको केही महिनापछि साइरन जडान गरिने नगरपालिकाले जनाएको छ । यसरी नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणालीबाट विपद् जोखिम न्यूनीकरणमा निकै सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको र यो प्रणाली सफल भएमा अन्य वडाहरुमा पनि विस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताउनुभयो । दशरथचन्द नगरपालिकाभित्र यो प्रविधिले निकै सहज हुने विश्वास समेत गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया