भारत र चीन सम्बन्धमा आश्चर्यजनक घटना भोगेका नेपाली पात्र !

 मंसिर २१, २०७६ शनिबार १३:३४:५२ | कुमार रञ्जित
unn.prixa.net

भारतले पेल्दा चीनतर्फ ढल्कने र चीनतर्फ ढल्कँदा भारत झन् चिढिने ‘दुई ढुङ्गा बीचको तरुल’ नेपालका लागि नौलो कुरा रहेन ।

यति हुँदाहुँदै पनि भौगोलिक कारणले धेरै कुरामा नेपाल भारततर्फ बढी आश्रित जस्तै देखिनुपर्ने बाध्यता रहनु पनि यथार्थ हो । यस्तो अवस्थामा भारतले ‘नाकाबन्दी गर्ने’ र चीनले दक्षिणतर्फ औंलो ठड्याएर ‘टुलुटुलु हेरेर नबस्ने’ भन्दै प्रत्यक्ष धम्क्याउँदै आएको पनि नेपाली नागरिकले पटक–पटक भोग्दै र सुन्दै आएका छन् । 

यस्तै असन्तुलनका बीच सन्तुलन बनाउन नेपाल–भारत–चीन त्रिपक्षीय सम्बन्धलाई नयाँ ढङ्गबाट अन्योन्याश्रित रुपमा विकसित गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिँदै आएका छन् । भारत र चीनबारे आश्चर्यजनक घटना भोगेका एकजना यस्तै विज्ञको प्रसंग घतलाग्दो छ । 

काठमाण्डौ नःघःटोलका गुह्यरत्न शाक्य । विक्रम सम्वत् २०१५ सालताका तिब्बतमा चीनले हस्तक्षेप गरेको बेला असुरक्षाका बीच काठमाण्डौ छाडेर तिब्बतको ल्हासामा काम गर्न जान आएको प्रस्ताव आफ्नै बुवाले ‘अस्वीकार’ गरिदिएका कारण उहाँले चीन–भारत युद्ध चाहिँ भारतीय भूमिमा बसेर अनुभव गर्नुभयो । ७७ वर्ष ७ महिना ७ दिन ७ घडी र ७ पला पुगेर जीवनमा पहिलो परम्परागत ‘जंक्व’ अनुभव गरेका शाक्यले आफूले जीवनमा भोगेका यस्तै आश्चर्यजनक घटनालाई पुस्तकमार्फत् सार्वजनिक गर्नुभएको छ । 

सामान्य नेपाली नागरिकको जीवन पनि कसरी छिमेकी देशहरुका उतारचढावसित जोडिँदो रहेछ भन्ने साक्षी हुनुहुन्छ, गुह्यरत्न । १७ वर्षको उमेरमा उहाँ भाजुरत्न इन्भेष्टमेन्टको कार्यालय काठमाण्डौको प्यूखामा काम गर्दैगर्दा ल्हासामा रहेको ‘स्यामुकापु’ संस्थामा कार्यरत समूहलाई पालो फेर्न अन्य कर्मचारी पठाउन निरन्तर ताकेता भैरहेको अवस्थामा ल्हासाभन्दा टाढा बेलाबखत गोलाबारी समेत भैरहेकाले तिब्बतमा रहेका नागरिक डराएर आफ्नै कोठामा लुकेर बस्नुपर्ने अवस्था थियो । कतिपय कर्मचारीहरु आफ्नै कोठा र भित्तामा चिनी र मैदाका बोरा खात लगाएर लुक्नुपर्ने अवस्था थियो ।

गुह्यरत्न सम्झनु हुन्छ– ‘त्यतिबेला मलाई त्यहाँ काम गर्न पठाउन हाम्रा बासँग ज्योति समूहका देवज्योति साहुले सल्लाह गर्न आउनुभएको थियो, तर हाम्रा बाले मलाई युद्धको स्थिति रहेको तिब्बतमा काम गर्न पठाउन मान्नु भएन ।’  

काठमाण्डौको केन्द्रमा अवस्थित नःघः टोलका रैथाने गुह्यरत्नको रुचि पारिवारिक परम्परागत सुनका गहना बनाउनेतर्फ गएन । आफ्नै टोल–छिमेकका कृष्णदास श्रेष्ठको मोटर चलाउन सिकेका उहाँले किशोरावस्थामै लाइसेन्ससमेत लिएर १६ वर्ष पुग्दा मोटर चलाउन थालिसक्नुभएको थियो । ‘मैले त्यतिबेला आफू होचो भएकाले लाइसेन्स लिन अग्लो हिल भएको जुत्ता लगाएर लाइसेन्स लिएको थिएँ’, उहाँले रोचक स्मरण सुनाउनुभयो ।

२०१६–१७ सालतिर नुवाकोटको त्रिशूलीमा भारतीय सरकारका तर्फबाट जलविद्युत् परियोजना बनाउन सुरु भयो । त्यसै योजनाअन्तर्गत ज्योति समूहको भाजुरत्न इन्भेष्टमेन्टलाई त्रिशूली बजारभन्दा माथि आँप फल्ने बगैँचामा स्टाफ क्वार्टर, अफिस घर र अस्पताल समेत बनाउने ठेक्का दिइएको थियो ।

त्यतिबेलासम्म काठमाण्डौबाट त्रिशूली पुग्न मोटर बाटो बनिसकेकै थिएन । त्यस्तो अवस्थामा नुवाकोटकै रानीपौवामा डिपो राखेर सिमेन्ट, जस्ता, फलामे रडलगायतका निर्माण सामाग्रीहरु काठमाण्डौदेखि भरियालाई बोकाएर लगिएको उहाँ सम्झिनु हुन्छ ।

त्यसैताका तिब्बतमा चीनले कब्जा गर्ने क्रममा त्यहाँका अवतारी लामा गुरु कर्मापा आफ्ना सयजना जति अनुयायीहरुका साथमा नेपाल प्रवेश गरेको सूचना रातारात काठमाण्डौ आइपुग्यो । कर्पामा गुरु त्यसताका तिब्बतका ठूला लोकप्रिय धार्मिक गुरु भएकाले उहाँले पूजा गर्दा लगाउने ‘टोपी भएको एउटा बाकस अमलेखगञ्ज भन्सारमा नखोल्नू’ भनेर दरबारमा पहुँच भएका लोकदर्शन बज्राचार्यले अमलेखगञ्जका भन्सार हाकिमलाई भनि पठाए ।

‘बाकस नखोलेर एकजना मानिस साथमै पठाएर काठमाण्डौमै खोल्ने प्रबन्ध गर्नू’ भन्ने आदेश दिइयो । कर्मापा गुरु आफ्ना अनुयायीहरुका साथ अमलेखगञ्जको भन्सार रेल्वे स्टेशनमा रहेको सूचना आएकाले उहाँको स्वागतार्थ गुह्यरत्न स्टेशनवेगन गाडी आफै हाँकेर राती नै काठमाण्डाैबाट प्रस्थान गएको सम्झिनु हुन्छ । 

त्यतिबेला कर्मापा गुरु भेट्न ललितपुरका कुलरत्न धाख्वाः र तीनजना तिब्बती गुरुका विश्वासपात्र प्रोफेसरहरु पनि पुगेका रहेछन् । अमलेखगञ्जको गेष्ट हाउसमा बसेबा कर्मापाले गुह्यरत्नलगायत काठमाण्डौबाट गएकालाई आफ्ना साथमा ल्याएका सबै श्रीसम्पत्ति देखाएर सोध्नु भएछ– ‘यसलाई के गर्नुपर्ला ?’ त्यसबारेमा ‘यस्ता सम्पत्ति सबै भन्सार कटाएर लानुभन्दा रक्सौलमै फिर्ता पठाउँदा राम्रो हुने’ सल्लाह पाएपछि गुरु कर्मापाका विश्वासप्राप्त प्रोफेसरहरु तीन जनाको जिम्मा दिएर श्रीसम्पत्ति भएका बाकसहरु रक्सौलमै फिर्ता पठाउने तयारी गरियो । पछि तीनवटा ट्रक भाडामा लिएर अनुयायीहरुसहित गुरुसमेतलाई स्टेशन वेगन गाडीमा राखेर ती सबै काठमाण्डौ ल्याइएछ । 

यसबीच नारायणहिटी राजदरबारबाट तिब्बतबाट निर्वासितहरुप्रति लचकता अपनाउन आदेश गएको र त्यसका लागि गोप्य सहमति समेत भएको इतिहासका अन्य पुस्तकहरुमा पढ्न पाइन्छ । त्यसपछि वीरगञ्जका कामु बडाहाकिमलाई ‘त्यहाँ केही नगर्नू, केही गर्नुपरे राजदरबारमा बिन्तीपत्र चढाएर काठमाण्डौमै गर्ने हो, उनीहरुलाई ती बाकसहरु सहित यहाँ सुरक्षित चलान गरेर पठाउनू’ भनेर खबर पठाइएछ  ।

तिब्बतबाट आफ्नो सम्पत्ति सहित स्वनिर्वासित कर्मापा गुरुलाई काठमाण्डौै उपत्यका र यस वरिपरिका स्वयम्भू, बौद्ध, नमोबुद्ध, फर्पिङ्गजस्ता प्रसिद्ध विभिन्न बौद्धस्थलमा घुमाउने काम गरेका गुह्यरत्नको स्मृतिमा कर्मापाले ल्याएका सम्पत्ति सबै वीरगञ्जबाट सील मारेर हनुमानढोकामा रहेको तात्कालीन मुलुकीखानामा सुरक्षित राख्ने काम भैसकेको रहेछ । पछि त्यसलाई छोडाउन राजदरबारमा बिन्तीपत्र चढाएर राजाबाट ‘नेपालको सम्पत्ति नभए जाँच गरेर लगत राखेर छाडिदिनू’ भनेर हुकुम लिएर लगत राख्ने क्रममा टेकुको भन्सारमा नून जोख्ने तराजुमा ठूलो मात्रामा सुन जोखिएको थियो । हिरा जवाहरात पनि किलो–किलो गरेर जोखेर लगत राखेर छाडियो । यसरी तिब्बती कर्मापा गुरुको दर्शन र सेवा गर्ने कार्यमा संलग्न हुने पाएकोमा गर्व गर्दै गुह्यरत्नले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ ।

२०१८ सालमा ज्योति समूहको भाजुरत्न इन्भेष्टमेन्टले नेपालका लागि हेभी इक्युप्मेन्टको एजेन्सी लिएको थियो । त्यतिबेला त्यस कम्पनीबाट हेभी इक्युप्मेन्टको लागि नेपालमा प्राविधिक जनशक्तिको अभाव महसुस गरियो । त्यसैको तालिम लिन छनोटमा परेकाले गुह्यरत्नलाई अर्का तासी टेम्बाका साथमा भारतको बम्बई पठाइएको थियो । 

त्यसबेला नेपाल र भारतमा ‘प्रलय हुने’ हल्ला भएर मानिसहरु दान, धर्म, राम्रा कर्म र होम आदि गरिरहेका थिए । त्यस्तो हल्लाले गर्दा भारतको मुम्बईमा काम गरिरहेका मजदूर र स्टेशनका कुलीहरु समेत ‘प्रलयमा परेर मर्ने’ भयले काम छाडेर आफ्ना घर बिहारतिर फर्किरहेका थिए । ‘त्यस्तो समयमा हाम्रो सुटकेश र सामान बोक्ने समेत नपाएर आफैँले मोटरमा राखेर होटलसम्म लानुपर्‍यो’, गुह्यरत्न सम्झिनु हुन्छ । 

तालिम ६ महिनासम्म भारतकै कोलापुर भन्ने ठाउँमा हुने भएकाले उहाँहरुलाई त्यतैतर्फ पठाइएको थियो । त्यसैबेला भारतीय सरकारले गोवा शहरलाई यूरोपीय देश पोर्चुगलको उपनिवेशबाट मुक्त गर्न हजारौं सेना रेलमा पठाइरहेको देखेका गुह्यरत्नले भोलिपल्ट बिहानै इण्डियन एयर फोर्स पनि गोवातर्फ गएको देख्नुभयो । तर आश्चर्यपूर्वक केही युद्ध नै गर्न नपर्ने गरी ‘गोवा’ पोर्चुगलको कब्जाबाट मुक्त भएर भारतमा विलीन भएको घोषणा गरियो । त्यस्तो ऐतिहासिक वातावरणमा भारतीय भूमिमै बसेर प्रत्यक्ष अनुभव गर्न पाएकोमा उहाँ आफैँप्रति आश्चर्यचकित हुनुहुन्छ ।

त्यसैताका भारतले नेपाललाई नाकाबन्दी गरेर नुन, तेल, मट्टितेल जस्ता अत्यावश्यक सामाग्री भित्रिन नदिएपछि तात्कालीन राजा महेन्द्रबाट चीन सरकारतर्फ हात बढाएर सिन्धुपाल्चोकको कोदारी राजमार्ग बनाउन दिएर तिब्बतको खासा पुग्ने नाका खोल्ने सम्झौता गरिएको अनुभव गुह्यरत्नको रहेको छ । त्यस्तो अवस्थामा चीन सरकारले भारततर्फ औंला ठड्याएर ‘कसैले नेपालमाथि कुदृष्टि राखेमा आफ्नो देश चूप लागेर नबस्ने’ चेतावनी दिएको स्मरण गर्नुहुन्छ उहाँ ।

सन् १९६२ मा भारत र चीनबीच युद्ध भयो । त्यतिबेला भारतमै बसेर तालिम लिइरहेका गुह्यरत्नले चिनियाँ सिपाहीहरु आसामको डिगबोइसम्म प्रवेश गरेर हमला गरेको सम्झिँदै कोलकातामा प्रमाणपत्र लिन जाँदा आफूलाई भारतीय अधिकृतले तत्कालीन नेपालका राजा महेन्द्रले ‘चीनसित हात मिलाएर कोदारी राजमार्ग खोलेर भारत जस्तो आफ्ना अभिन्न मित्रलाई धोका दियो’ भनेर असन्तुष्टि पोखेको सम्झिनु हुन्छ । जवाफमा आफूले ‘यो त दुश्मनी नभइ हाम्रा राजाले नेपालीको आत्मरक्षाका लागि र नून–तेलका लागि मात्रै गरेको हो, बरु भारत सरकारले अघोषित नाकाबन्दी गरेर हामी नेपालीलाई नून–तेल जस्ता अत्यावश्यक वस्तु रोकेर दुःख दिएको छ, यो त त्यसको प्रतिफल मात्र हो’ भनेर जवाफ फर्काउँदा ती अफिसर नाजवाफ भए भन्नुहुन्छ । 

यसरी छिमेकी मित्रराष्ट्रहरु भारत र चीन सम्बद्ध आश्चर्यजनक घटना भोगेका नेपाली पात्र गुह्यरत्न शाक्य आफ्नी आमाको बाल्यकालका साथी नेपालको राजनीतिमा ‘सर्वोच्च नेता’ र ‘लौह पुरुष’ नामबाट प्रसिद्धि पाएका गणेशमान सिंह भएको पनि सम्झिनु हुन्छ ।  गणेशमान सिंहसित सानैदेखि आत्मीय सम्बन्ध कायम गरेका गुह्यरत्नले ०१५ सालमा भएको पहिलो आम चुनावपछि विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनाइएको नेपाली कांग्रेसको पूर्ण बहुमत सहितको सरकारमा दोस्रो पटक यातायात मन्त्री बनाइएका गणेशमानबारे एउटा महत्वपूर्ण स्मरण उल्लेखनीय रहेको छ ।

कामकै सिलसिलामा वीरगञ्ज र चितवन निरीक्षण भ्रमणमा जाँदा साथमा रहेका गुह्यरत्नले गणेशमानले मकवानपुरको दामनमा अलिबेर आराम गर्ने क्रममा भन्नुभएको कुरा सम्झिनुहुन्छ– 

‘यो बाटो (त्रिभुवन राजपथ) पहिला म आफैँ यातायात मन्त्री रहँदा बनाउने भनेर मन्त्रिपरिषदमा प्रस्ताव आएको हो । त्यतिबेला यसको पहाडी उचाइको कारण बनाउन खर्च बढ्ने हुँदा मितव्ययिताका लागि नजिकै ललितपुरको टीकाभैरवबाट बनाउँदा हुन्छ भनेर मैले भन्दा भारतीय राजदूत उठेर फनक्क तर्केर हिँड्यो । उहाँ त्यसबेला तर्केर हिँडेको किन किन, मलाई अझै सम्झना आउँछ ।’

अन्तिम अपडेट: असार २, २०७७

कुमार रञ्जित

तपाईको प्रतिक्रिया