शिक्षक सेवा आयोगबाट सिफारिस भएकी शिक्षिकालाई विद्यालयमा हाजिर लगाउन रोक

 पुस ११, २०७६ शुक्रबार १०:४१:२१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – पुर्चौडी नगरपालिका ४ मा रहेको पहरौल मावि बागा भटनाले नगरपालिकाले पदस्थापन गरेको शिक्षिकालाई हाजिर लगाउन रोक लगाएको छ । 

शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिस हुनुभएकी अम्बिका जोशीलाई विद्यालयले हाजिर लगाउनमा रोक लगाएको हो ।

नगरपालिकाले पहरौल मावि बागामा पदस्थापन गरेको भए पनि विद्यालयमा हाजिर लगाउन नदिएको शिक्षिका जोशीले गुनासो गर्नुभयो । आफू त्यहाँको स्थानीय महिला भएर पनि विद्यालयमा हाजिर गर्न नदिएको उहाँको भनाइ छ । 

विद्यालयले हाजिर गर्न नदिएपछि आफू सदरमुकाम फर्किएको र शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गर्ने उहाँले बताउनुभयो । आधारभूत तहको दरबन्दी खाली भएर नगरपालिकाले पदस्थापन गरियो तर विद्यालयले हाजिर लगाउन दिएन । 

यस विषयमा पुर्चौडी नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले आफूहरुले मापदण्डअनुसार शिक्षकहरुको पदस्थापन गरेकाले हाजिर लगाउन दिनुपर्ने बताउनुभयो । 

यता विद्यालयका प्रधानाध्यापक प्रताप धानुकले नगरपालिकामा अङ्ग्रेजी शिक्षकको माग गरिएको त्यो माग पूरा नहुँदासम्म नयाँ शिक्षकहरुलाई हाजिर लगाउन नदिने निर्णय भएको बताउनुभयो । 

शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकहरुलाई निर्वाधरुपमा विद्यालयले हाजिर लगाउन दिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताउनुभयो । 

'शिक्षा ऐनमै आयोगबाट सिफारिस भएर पदस्थापन भएका शिक्षकहरुलाई हाजिर लगाउन दिने, त्यसको व्यवस्थापन मिलाउने काम विद्यालय व्यवस्थापन समितिको भएकाले शिक्षिकालाई हाजिरी लगाउन नदिनु गैरकानुनी कार्य हाे', उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया