कोरोनाको कारण काठमाण्डौका मन्दिर बन्द गरिँदै, जात्रा अवरुद्ध हुने

 चैत १३, २०७६ बिहिबार १६:४:३९ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण काठमाण्डौ उपत्यकाका विभिन्न चाडपर्व पनि प्रभावित भएका छन् । 

नेवार समुदायले मनाउने पाहाँचःरेका खट्जात्राहरु, काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथयात्रा, चोभारको आनन्दादी लोकेश्वरको जात्रा, चन्द्रागिरीमुनि किसिपिडीको खट्जात्रा, भक्तपुर र टोखाको बिस्केट जात्रा तथा मध्यपुर थिमिको बिस्केटका साथै जिभ्रो छेड्ने जात्रा भव्य रुपमा नहुने भएका छन् ।

ती सबै जात्रा अवरुद्ध भएको सम्बन्धित सञ्चालक र नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर जानकारी गराएका छन् । 

त्यस्तै केही दिनपछि आउने सिद्धिपुरको महालक्ष्मी जात्रा पनि नगर्ने मनस्थितिमा पुगिसकेको स्थानीय रविन्द्र नेमकुलले बताउनुभयो । त्यस्ता सबै जात्रामा यो वर्ष देवीदेवतालाई विधिपूर्वक पूजा गरेर समापन गरिने बताइएको छ । 

यसैक्रममा उपत्यकाका प्रमुख मन्दिरहरुमा तालाबन्दी गर्ने क्रम पनि बढेको छ । यसै क्रममा ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिरका साथै ह्यग्रीव भैरव मन्दिर बन्द गरिएको र रातो मच्छिन्द्रनाथको जात्रा वैशाखमा गरिने स्थानीय सुरेन्द्र तुलाधरले बताउनुभयो । 

यसैगरी उत्तरगया समेत भनिने काठमाण्डौकै गोकर्णेश्वर नगरपालिकामा रहेकोचीन गोकर्णेश्वर महादेव मन्दिर पनि बन्द गरिएको छ । 

यसरी जात्राहरु बन्द गरिँदा क्षमापूजा गरिने टोखाका मूनायः हेमराज श्रेष्ठले बताउनुभयो । यस्तो अवस्था यसअघि कहिल्यै नआएको हुँदा आफूहरुले सम्पूर्ण देशवासीका तर्फबाट क्षमा माग्दै पूजा गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया