बाराको जिल्ला अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण गर्ने निर्णयप्रति स्थानीयको विरोध

 बैशाख १७, २०७७ बुधबार २०:३४:३४ | जयनारायण यादव
unn.prixa.net

बारा - कलैयामा रहेको जिल्ला अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयले विरोध जनाएका छन् । 

जिल्ला अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा जिल्लाका विपन्न नागरिक समस्यामा पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

नागरिकहरु कलैया अस्पतालबाट पाउँदै आएको विभिन्न सेवाबाट वन्चित हुने भएकाले  प्रदेश सरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने नागरिक समाजका अध्यक्ष उमेशलाल दासले धारणा राख्नुभयो । 

नागरिकले निःशुल्क रुपमा पाउँदै आएको स्वास्थ्य सेवा बन्द गरेर कलैया अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनु गलत भएको नागरिक समाजका अध्यक्ष दासको धारणा छ ।

अहिले कलैया अस्पतालको ईमर्जेन्सी शाखामा दैनिक २० देखि ५० जनासम्म बिरामी आउने गरेका छन भने महिनामा झन्डै ३० देखि ५० जना महिलाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेका छन्। 

कोरोना विशेष अस्पताल बनाएपछि कलैया अस्पतालले दिंदै आएको यी सबै सेवा बन्द हुने भएका कारण विरोध गर्नुपरेको स्थानीय सतेन्द्र सिंहले बताउनु भयो ।

कलैया अस्पतालको विकल्पमा कलैयामा अन्य कुनै निजी वा सरकारी अस्पताल समेत नभएको अवस्थामा प्रदेश सरकारले जिल्लाका जनताको स्वास्थ्य ख्याल नै नगरी कोरोना अस्पताल बनाउन खोज्नु गलत भएको नेकपा जिल्ला सदस्य मुकेश साहले बताउनु भयो । 

उहाँले कलैया अस्पतालमा नभई अन्यत्र कोरोना अस्पताल निर्माण गर्न प्रदेश सरकारसंग माग गर्नु भयो । कोरोना अस्पतालकै लागि स्थानीय प्रशासनले अस्पताल परिसरमै अस्पतालसंगै टाँसिएर रहेको जिल्ला स्वास्थ्य कार्यालयको भवन समेत खाली गर्न निर्देशन दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजकिशोर पण्डितले प्रमुख जिल्ला अधिकारीले जिल्ला स्वास्थ्य कार्यालय भवन खाली गर्न दबाब सहितको निर्देशन दिएको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया