लकडाउनमा गर्भवतीलाई सास्ती

 जेठ २९, २०७७ बिहिबार ७:२०:१० | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ चाबहिलकी ३५ वर्षीया सुशीला कँडेल १५ वर्षपछि गर्भवती हुनुभएको छ । उहाँको गर्भमा अहिले चार महिनाको शिशु छ । पहिलोपल्ट आमा बन्न लागेकोमा उहाँ खुसी त हुनुहुन्छ । तर नियमित जाँचका लागि अस्पताल जानुपर्ने उहाँ कोरोना त्रासले अहिलेसम्म एकपल्ट पनि अस्पताल पुग्नु भएको छैन । ‘अस्पताल जाउँ कोरोना पो ल्याइन्छ कि ? नजाउँ शिशु र आफू जोखिममा पो छौं कि ?’ उहाँ दोधारमा हुनुहुन्छ ।  

सरकारले अति नै समस्या नपरी अस्पताल नजान आग्रह गरेकाले पनि घरमै बसेको कँडेलको भनाइ छ । यस्तै सार्वजनिक गाडी नचलेकाले पनि उहाँ समस्यामा हुनुहुन्छ । तर सार्वजनिक गाडी चल्दा झन् जोखिम हुने भएकाले अब के गर्ने, कसरी अस्पताल जाने भन्ने अन्यौल उहाँमा छ । ‘घरमै पोषिलो खानेकुरा खाएर बसेकी छु’ उहाँ सुनाउनुहुन्छ । 

भक्तपुर बालकोट बस्दै आएका समीर पौडेल पनि केही दिनयता तनावमा हुनुहुन्छ । श्रीमतीको अन्तिम महिना लागेको छ । जुनसुकै बेला अस्पताल पु¥याउनुपर्नेछ । तर सुरुदेखि नै जँचाइरहेको सिनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अब के गरौं कसो गरौं भैरहेको उहाँ सुनाउनुहुन्छ ।

‘एकातिर श्रीमतीलाई कसरी अस्पताल लैजाने भन्ने सोचमा छु’, पौडेल भन्नुहुन्छ, ‘अर्कोतिर उनलाई नै सङ्क्रमण हुने हो कि भन्ने डर पनि लागेको छ ।’ पौडेललाई आमा र शिशुलाई जोगाउने चिन्ता छ । उनीसँगै जन्मने शिशुलाई कोरोना सङ्क्रमण हुनबाट कसरी जोगाउने भन्ने चिन्ता छ ।

‘सुरुदेखि नै केएमसीमै जँचाएँ । अन्तिम समयमा अन्त लैजाने मन छैन’, पौडेल भन्नुहुन्छ ।  ‘स्वास्थ्यकर्मीमै कोरोना पुुष्टि भएकाले हामीलाई पनि सर्छ कि भन्ने डर लागेको छ । के गर्ने गर्ने सोच्नै सकेको छैन ।” 

यी प्रतिनिधि पात्र मात्र हुन् । लकडाउन भएपछि धेरै गर्भवती चाहेर पनि स्वास्थ्य संस्था जान पाएका छैनन् । अस्पताल जाउँ कोरोना सर्छ भन्ने डर, नजाउँ आमा र पेटको शिशुलाई केही हुन्छ कि भन्ने चिन्ता । 

गर्भावस्था तनाव, डर र चिन्तामुक्त हुनुपर्ने डाक्टर बताउँछन् । यो बेला खुसी नहुँदा गर्भको शिशुुसँगै गर्भवतीको स्वास्थ्यमा असर गर्ने उनीहरुको भनाइ छ । तर कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनले दीर्घरोगी र गर्भवतीलाई समस्या भएको छ । 

परोपकार, प्रसुति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक प्राध्यापक डाक्टर जागेश्वर गौतम यो बेलामा सकेसम्म अस्पताल नजान नै सुझाव दिनुहुन्छ ।

‘जँचाउन अस्पताल जाने तर कोरोना लिएर आउने भयो भने त एक जनामात्र नभई उसको परिवार, समाज र राज्य नै जोखिममा पर्छ’, भर्खरै स्वास्थ्य मन्त्रालयको प्रवक्तामा नियुक्त भएका डा. गौतम भन्नुहुन्छ, ‘त्यसैले समस्या नभए घरमै बस्ने, बाहिर ननिस्कने, साबुनपानीले बारम्बार हात धुने, परिवारकै सदस्यसँग पनि एक मिटरको दूरी कायम गर्ने, केही चिज छोएपछि स्प्रिट र गिलसरिङ मिसाएको स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक रुपमा अनुहार, नाक र कान नछुने ।’ 

डा. गौतम पेटमा बच्चा भएका हुनेवाला आमाले सदैव सकारात्मक सोच्ने, कसिलो कपडा नलगाउने, कसैसँग झगडा नगर्ने, धेरै परिश्रम नगर्ने, शरीरलाई असर पर्ने व्यायाम नगर्ने र सिर्जनात्मक बन्न सुझाव दिनुहुन्छ ।  

यस्तै गर्भवतीलाई आराम आवश्यक पर्ने भएकाले राती ८ घण्टा र दिउँसो २ घण्टा सुत्ने, झोल पदार्थ धेरै खाने, पानी पिउने, कार्बोहाइड्रेट, प्रोटिन र फ्याट ३०–३०–४० अर्थात एकतिहाईको मात्रा मिलाएर खाने । घिउ, तेल, भटमास, दूध, अण्डा, मासु, दाल, गेडागुडी, सागपात, भात, रोटी र मकै मिलाएर खाने गर्नाले शरीरका लागि आवश्यक पर्ने पोषण तत्व पुग्छ । यस्तै क्यालसियम र आइरन भएका खानेकुरा पनि खानुपर्छ । तर ज्वरो आयो, रगत, पानी बग्यो, बच्चा कम चल्यो, खुट्टा सुन्नियो, उच्च रक्तचाप बढ्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । 

अहिले लकडाउन चलिरहेकाले स्वास्थ्य संस्था जान १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स बोलाउन सकिन्छ, यस्तै महिना लागेका (सुत्केरी हुने समय पुगेका) गर्भवती स्वास्थ्य संस्था टाढा भए नजिकै बस्ने व्यवस्था मिलाउनुपर्छ । आफूसँग भएका साधनको तयारी अवस्थामा राखेर अस्पताल जान डाक्टरको सुझाव छ । 

लकडाउनका कारण गर्भवती र सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न समस्या छ । तर यसकै कारण गर्भवती र सुत्केरीको ज्यान जाने क्रम भने नबढेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरर्गतको मातृ तथा नवशिशु शाखाकी प्रमुख डाक्टर पुण्य पौडेलको दावी छ ।

उहाँका अनुसार लकडाउन सुरु भएपछि चैत महिनामा गर्भवती अवस्थामा एक जनाको, सुत्केरी हुने बेलामा एक जना र सुत्केरी भैसकेपछि ४ जना गरेर ६ जनाको ज्यान गएको छ । यस्तै वैशाखामा गर्भवती अवस्थामा एक जनाको, सुत्केरी हुने बेलामा एक जना र सुत्केरी भैसकेपछि ५ जना गरेर ७ जनाको ज्यान गएको छ । जेठको तथ्याङ्क संकलनको काम भैरहेको छ ।

यस्तै २०७५ चैतमा गर्भवतीको ज्यान गएको थिएन । तर सुत्केरी हुने बेलामा एक र सुत्केरी भैसकेपछि ७ जना गरी ८ जनाको ज्यान गएको छ । यस्तै २०७६ वैशाखमा गर्भवती अवस्थामा एक जना र ६ जना सुत्केरी गरी ७ जनाको ज्यान गएको थियो । पोहोर चैत र वैशाखमा १५ जनाको र यसपाली १३ जनाको ज्यान गएको महाशाखाले जनाएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल दक्षिण एसियाली देशमध्ये अफगानिस्तानपछि उच्च मातृ मृत्युदर हुने राष्ट्रमा पर्छ । मातृ मृत्युदर भन्नाले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र ज्यान जाने महिलालाई जनाउँछ । तर, यसमा कुनै दुर्घटना वा हिंसाका कारणले ज्यान गएका महिला भने समावेश गरिंदैन । यस्तो मृत्युलाई गर्भावस्थासँग सम्बन्धित मृत्युमा राख्ने गरिन्छ । 

मातृ मृत्युदर कम गर्नको लागि सरकारी र दातृ निकायबाट विभिन्न शीर्षकमा हरेक वर्ष अर्बांै रुपैयाँ खर्च हुन्छ । तर, खर्चको तुलनामा मातृ मृत्युदर भने घटाउन सकिरहेको छैन । यसले पनि दिगो विकास लक्ष्य अनुसार मातृ मृत्युदर कम गर्न मेहनत गर्नुपर्ने देखिन्छ । 

अन्तिम अपडेट: असार २९, २०७७

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया