लकडाउनको मोडालिटी परिवर्तन, व्यावहारिक नभएको गुनासो

 जेठ ३०, २०७७ शुक्रबार १६:२:४१ | मल्लिका थापा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुर महानगरपालिकाको नखिपोटका कपिल घिमिरे बिहानैदेखि तनावमा हुनुहुन्थ्यो ।

आजदेखि मोटरसाइकलमा दुई जना चढ्न नपाउने भन्ने समाचार आएपछि श्रीमतीलाई कसरी कार्यालय पुर्‍याउने भनेर उहाँलाई चिन्ता परेको थियो । उहाँँ भन्नुहुन्छ, 'स्वास्थ्य क्षेत्रका कर्मचारीलाई कार्यालय नगइ नहुने, कार्यालयले आउन/जान गाडीको सुविधा दिन नसक्ने अनि भएको मोटरसाइकलमा चढ्न नपाउने नियम बनाएर सरकारले के गर्न खोजेको ?'

भक्तपुर चाँगुनारायणका सुवास पौडेल गुनासो गर्नुहुन्छ, 'लकडाउनको मोडालिटी परिवर्तन भएपछि आजबाट जोरबिजोर प्रणाली लागू भयो तर यसअघि जिल्ला प्रशासन कार्यालयबाट पाएको पास खारेज भएको या पासले काम गर्ने हो भन्ने आधिकारिक जानकारी कतैबाट पाइएन । कार्यालय जानै पर्ने हुँदा पनि जान मिल्ने/नमिल्ने अन्याेलमै छु ।

यस्तै पसल खुला गर्न पाइने भएपछि साहुले पसलमा बोलाएको तर मोटरसाइकलको नम्बर बिजोर भएकाेले जान नपाएको गुनासो गर्नुहुन्छ, काठमाण्डौ जाेरपाटीका अच्युत नेपाल । 'पसल लगनखेलमा छ, साहुले मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू हुँदैन जसरी पनि पसलमा आउनु भने पनि ढुक्कले घरबाट निस्किएँ तर पुलिसले जान दिएन ।' 

सरकारले आजदेखि लकडाउनलाई खुकुलो बनाउँदै निजी गाडीलाई जोरबिजोरकाे आधारमा चलाउन दिएको छ । यस्तै मोटरसाइकलमा एक जनामात्र चढ्न पाउने व्यवस्था पनि अव्यावहारिक भएको गुनासो बढिरहेको छ । सरकारले साइकल र मोटरसाइकल चालकमात्र रहने गरी चलाउन दिने भनेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले नयाँ व्यवस्थाले सडकमा देखिएकाे र नागरिकलाई परेकाे समस्याबारे जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराएको बताउनुभयो ।

उहाँँले भन्नुभयो, 'मोटरसाइकलमा चालकमात्र रहने, जोरबिजोरको अन्याेल, पासधारी गाडीलगायतका कुरा प्रमुख जिल्ला अधिकारीसँग राखिसकेका छौँ । यसबारे छलफल हुन बाँकी छ ।'

यसैगरी काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छिट्टै कार्यविधि नै जारी गरेर समस्याको समाधान गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया