कोरोना सङक्रमितलाई राहत रकम दिने बडीकेदार गाउँपालिकाको निर्णय

 असार ९, २०७७ मंगलबार ९:५३:१२ | विमल बिष्ट

डोटी - डोटीमा कोरोना सङ्क्रमित बढ्न थालेपछि बडीकेदार गाउँपालिकाले आफ्नो ठाउँका सङ्क्रमितलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमितलाई जनही  एक हजार पाँचसय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई  ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो । जिल्लामा कोरोना सङ्क्रमितहरुलाई राहत रकम दिने निर्णय गर्ने बडीकेदार पहिलो गाउँपालिका भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशीले बताउनुभयो । 
उहाँले भन्नुभयो, “भारतबाट रोजगारी गुमाएर घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण भए समस्या हुने देखिएकाले हामीले पहिलो पटक उनीहरुलाई राहत स्वरुप रकम दिने निर्णय गरेका छौँ, जसले गर्दा सङ्क्रमितलाई केही सहयोग पुग्नेछ ।” 
बडीकेदार गाउँपालिकामा मात्रै हाल सम्म ७६१ जना नागरिक भारत लगायत देशका अन्य क्षेत्रबाट रोजगारी गरी घर आएका छन् । जसमध्ये अहिलेसम्म ४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सङ्क्रमितको अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया