वैदेशिक राेजगारीबाट स्वदेश फर्कने हरेकलाई मायाले स्वागत गरौं

 असार ३०, २०७७ मंगलबार १४:४०:१० | सनतप्रसाद सापकाेटा

नेपालीहरुमा देश भक्ति, राष्ट्रियताको भावना र परिवर्तनको चाहना अधिक छ । नेपाली युवाहरु आफ्नै देशमा केही गरौं भन्ने चाहन्छन् तथापि रोजगारीको प्रतिकुल परिस्थितिले अवसरहरूको खोजीमा विदेश गई रोजगारी गर्नुपर्ने बाध्यता यथावत छ ।

सुरुमा केही युवाहरुको वैदेशिक रोजगारीको यात्राले सकारात्मक परिवर्तनको संकेत दियो । गन्तव्य देशमा राम्रो इज्जत र साख राख्न सफल भए । परिवर्तनको संकेतसँगै नेपालबाट धेरै युवाहरु रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जान तयार भए । गन्तव्य देशमा माग पनि बढ्यो ।

कतिपय अवस्थामा विदेशमा काम गर्नको लागि अनुकुल र सजिलो वातावरण नहुँदा नहुँदै पनि नेपाली युवाहरुले यसलाई रोजगारीको एउटा विकल्पको रुपमा अंगिकार गरे ।  वैदेशिक रोजगार विभागका अनुसार  आर्थिक वर्ष २०७५/७६ सम्ममा २ लाख ४९ हजार ७०८ जना महिला सहित ५९ लाख ५५ हजार ०५१  जना नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि संस्थागत माध्यमबाट ४६ देशमा र व्यक्तिगत माध्यमबाट १७१ देशमा पुगेका छन् ।

अहिले झण्डै २० लाख भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा रहेको आंकलन गरिएको छ । तथापि भिजिट भिषामा, विद्यार्थी भिषामा, डिपेन्डेण्ट भिषामा गएर काम गर्नेहरुको सङ्ख्या पनि उल्लेख्य भएको हुँदा यो सङ्ख्या अझ बढी हुन्छ । यति धेरै नेपालीहरु रोजगार भएपछि  कमाई पनि बढेको छ ।  । 

त्यो आम्दानीले घर परिवारको आवश्यकता र चाहनाहरु पूरा गर्न सहयोग गर्‍यो भने दन्द्वबाट थलिएको अर्थतन्त्र माथी उठाउन, गरीबी घटाउन, स्वास्थ्य, शिक्षाजस्ता सुविधाहरु बढाउन योगदान गरिरहेको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाहको कुल ग्राहस्थ उत्पादनसँगको अनुपात २२.६३ रहेको छ । अर्थात वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले  हाम्रो देशका अर्थतन्त्रलाई थामिरहेको छ । 

कुनैबेला विदेशबाट घर आउँदा सवैजना सञ्चो विसञ्चो सोध्न सबै झुम्मिन्थे । परदेशको चक्लेट, उपहारहरु खुशी खुशी अपनाउँथे । आज अवस्था विपरित भएको केही उदाहरणहरु बाहिर आएका छन् । 

नेपालीहरुले विदेशमा रहेर पैसा मात्रै कमाएनन् । नेपालीको इज्जत पनि बढाए । नेपाली जस्तो अनुशासित, इमान्दार, मेहनती, स्वाभिमानी हुनुपर्छ भनेर उदाहरणीय भूमिका प्रदर्शन गरे ।

ठुला ठुला संरचनाहरुमा नेपालीहरुको पनि योगदान रहनेगरी काम गरे । आफुलाई नेपाली सावित गर्न आफु पीडामा हुँदासमेत सहनशिल भएर डटिरहे । 

विदेशको भूमिमा जति अवसरहरु भए पनि, जति सुख सुविधा भए पनि एउटा निश्चित समयपछि आफ्नो देश त आउनु नै पर्छ । अहिले कोरोना भाइरस (कोभिड १९) को प्रभावले धेरै नेपालीहरुलाई आफ्नै देशमा जान र केही गर्नको लागि पूनः एकपटक सोच्न अवसर दिएको छ ।

कतिपय युवाहरुले स्वदेश फर्कने निर्णय गरिसकेका छन् । तर  अहिलेको विषम परिस्थितिले आफ्नै घरमा आउँन पनि समस्या भएको छ । घर आउन लामो पर्खाई र प्रयास गर्नु परिरहेको छ । घर पिर्तीको यात्रा त्यत्ति सजिलो देखिँदैन । परिवारका सदस्यहरु सकुशल मिलनको प्रतिक्षामा छन् ।

हामी सामाजिक प्राणी हौं । समाज एउटा न्यायालय पनि हो । समाजले त्यसका प्रत्येक सदस्यहरुको व्यवहारमा निरीक्षण र त्यो समाजको इच्छा चाहनाभन्दा फरक छ कि छैन भनेर जाँच गर्छ र निर्णय पनि सुनाउँछ ।

कुनैबेला विदेशबाट घर आउँदा सवैजना सञ्चो विसञ्चो सोध्न सबै झुम्मिन्थे । परदेशको चक्लेट, उपहारहरू खुशी खुशी अपनाउँथे । आज अवस्था विपरित भएको केही उदाहरणहरु बाहिर आएका छन् । 

विदेशबाट घर आउँन कठिनाई त छँदैछ । आफ्नै छिमेकी र परिवारदेखि सावधान हुनु पनि परेको छ । कुनै कुनै समाजले विदेश जाने व्यक्ति, फर्कने र उसका परिवारलाई फरक नजरले हेर्न थालेको छ र फरक व्यवहार गर्न थालेको छ ।

विदेशबाट घर आउँनु भनेको समाजमा रोग ल्याउनु हो भन्ने बुझाई केही व्यक्तिहरुमा विकसित पनि भएको छ । कोही विदेशबाट आयो भनेर चियोचर्चो र प्रतिक्रिया व्यक्त हुन थालेका छन् । 

हामी सामाजिक प्राणी हौं । समाज एउटा न्यायालय पनि हो । समाजले त्यसका प्रत्येक सदस्यहरुको व्यवहारमा निरीक्षण र त्यो समाजको इच्छा चाहनाभन्दा फरक छ कि छैन भनेर जाँच गर्छ र निर्णय पनि सुनाउँछ । व्यक्ति तथा समाजको सुरक्षाको चासो हुनु ।

अनुशासित व्यवहार गर्नका लागि दवाव दिनु समाज तथा सजग नागरिकको कर्तव्य पनि हो । तर समाजका केही व्यक्तिहरु अन्य व्यक्तिहरुको सम्मान, अधिकार र अवस्था विचार नगरी समाजमा हुने हरेक क्रियाकलापको ठेक्का आफूले नै लिएको भ्रममा रहन्छन् ।

कतिपय व्यक्तिहरु सामाजिक सञ्जालबाटै न्यायालय र सरकार दुवै चलाउँछन । सामाजिक सञ्जालमा नै निर्णय हुन्छ । त्यहीँ कारबाही हुन्छ । त्यही मान मर्दन पनि हुन्छ । 

विदेशबाट आउने व्यक्ति महिला भएमा त झन बढी नै आलोचना हुने गर्छ । परिवर्तनलाई सहज रुपमा स्विकार नगरी यथास्थितीको वकालत गर्दै सामाजिक मूल्य मान्यता स्थापित गर्ने नाउँमा शोषण, दमन र व्यक्तिलाई नियोजित रुपमा समाजबाट बाहिर पुर्‍याउँन विविध प्रपञ्च हुनसक्छ । समाजको सुरक्षा गरीरहेको भ्रममा हामी अराजकताहरु फैलाइरहेका पनि हुन सक्छौं । 

जसले समाज तथा देशको आर्थिक मेरुदण्ड थामिरहेका छन् । उनीहरुलाई हामीले गर्ने सम्मान कस्तो हुनु पर्छ ? के हामीले न्याय गरेका छौं ? यदि घर फर्किने व्यक्ति मेरो आफ्नो परिवारको सदस्य भएको भए मेरो व्यवहार कस्तो हुन्थ्यो ? यदि त्यस्तो व्यवहार अरुले मलाई गर्दा मलाई कस्तो अनुभूति हुन्छ ?

समाजले व्यक्ति वा परिवारलाई व्यवहारिक जिम्मेवारीहरुबाट अलग्याउँनु, छुट्टै बसाउँनु, कुटपिट गर्नु, सामाजिक पद भूमिकाबाट च्युत गर्नु, अपमान गर्नु, व्यङ्ग्यं गर्नु, कटाक्ष गर्नु, उपचार गर्न नदिनु, सेवाको पहुँचबाट बञ्चित गर्नु आदि जस्ता स्वरुपहरुमा यो देखा पर्न सक्छ ।

धेरैजसो अवस्थामा यस्ता निर्णयहरु व्यक्तिको स्वतन्त्रता, कानुन तथा मानव अधिकारको विपरित पनि हुने गर्छ । यस्तो अवस्थामा व्यक्तिको वास्तविक परिचय धमिलिन्छ । एउटा निर्दोष व्यक्ति समाजिक बहिस्कारको शिकार हुन पुग्दछ । यस्तो व्यवहार निन्दनीय र गर्न नहुने व्यवहार हो । 

यस्ता नकारात्मक प्रक्रिया कहिलेकाही यति निर्दयी बन्छन कि जसबाट आरोपित व्यक्तिले आफुलाई कमजोर ठान्ने, आत्मसम्मान गुमाउने, आत्मबल हराउँने भई कतिपय अवस्थामा त्यसको सामना गर्न नसकेर व्यक्तिले जीवन प्रति नै गलत निर्णय लिन पनि सक्छ ।

कसैले त्यो समाजसँग बदलाको भावना राख्दछ र प्रतिक्रिया पनि गर्दछ । जसले गर्दा समाजमा विचलनको सिर्जना हुन्छ । र आदर्श समाजको खम्बा डगमगाउँछ । 

जसले समाज तथा देशको आर्थिक मेरुदण्ड थामिरहेका छन् । उनीहरुलाई हामीले गर्ने सम्मान कस्तो हुनु पर्छ ? के हामीले न्याय गरेका छौं ? यदि घर फर्किने व्यक्ति मेरो आफ्नो परिवारको सदस्य भएको भए मेरो व्यवहार कस्तो हुन्थ्यो ? यदि त्यस्तो व्यवहार अरुले मलाई गर्दा मलाई कस्तो अनुभूति हुन्छ ?  आफ्नो मातृभूमि वा घर आउँदा पनि कोही दोषी हुन्छ ? यस्ता प्रश्नहरु हामी तमाम व्यक्तिहरुले सोच्नु पर्छ जसले स्वदेश फर्कने युवाहरुलाई फरक व्यवहार गरिरहेका छौं । 

त्यस्ता नकारात्मक व्यवहार छिटपुट रुपमा देखिए पनि नेपाली समाज सभ्य र आदर्श समाजको ज्वलन्त उदाहरण हो । यहाँ यस्ता घृणित व्यवहार हुँदैनन् । समाजले आफ्ना सदस्यहरुलाई आपत पर्दा आपसी सहयोगलाई बढाउँछ। 
तर यसरी आपसी सहयोग गर्दा विदेशबाट आउँने व्यक्तिहरुले आफ्नो, परिवार तथा समग्र समाजको सुरक्षाको जिम्मेवारी बोध गर्दै सरकारले तोकेको सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ । व्यक्तिगत आत्मसम्मानलाई कायम राख्नु पर्छ । आत्मबललाई डगमगाउन दिनु हुँदैन ।

अहिलेको संकटका बेला आफैं संकटमा परेर तथा देश र परिवारको मायाले स्वदेश फर्कने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वागत गर्नु अहिलेको आवश्यकता हो । 

समाजले पनि आफ्नै परिवार सम्झेर आपसी सहयोग अभिवृद्धि गर्नु पर्छ । सामाजिक अभिभावकत्व देखाउनु पर्छ । लान्छना र पिडा भन्दा सद्भाव र सहयोग बढाउनु पर्छ । स्वदेशमा फर्कन, यहीँ केही गर्नको लागि प्रोत्साहन गर्नु पर्छ । 

विदेशमा काम गर्दा रगत पसिना बगाएर स्वदेशको अर्थतन्त्र धानिरहेका लाखौं नेपालीहरुमा देशको माया अझ बढी प्रस्फुटित भएको हुन्छ । अहिलेको संकटका बेला आफैं संकटमा परेर तथा देश र परिवारको मायाले स्वदेश फर्कने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई स्वागत गर्नु अहिलेको आवश्यकता हो । 

वैदेशिक रोजगारीमा गएर कमाउन सकेर वा नसकेर फर्किएका व्यक्तिहरु, अंगभंग भएर फर्किएका व्यक्तिहरु, वैदेशिक रोजगारमा रहँदा मृत्यु भएका व्यक्तिको श्रीमती तथा परिवार, वैदेशिक रोजगारका लागि विदेश गएका महिलाहरु वा जुनसुकै अवस्थाका भए पनि भेदभाव रहित व्यवहार प्रस्तुत गर्दै हामी आफ्नो परिवारको सदस्य सम्झेर आफ्नो मातृभूमि फर्कंने सबै नागरिकहरुलाई स्वदेशमा सम्मान र स्वागत गरौं । किनभने सभ्य समाजको परिचय भनेकै एक नागरिकले अर्को नागरिकलाई गर्ने सम्मान होे । 

अन्तिम अपडेट: साउन २९, २०७७

सनतप्रसाद सापकाेटा

सापकोटा नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) मा आवद्ध हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया