सार्वजनिक गाडी चल्न थालेपछि यात्रु, चालक तथा सहचालकले ध्यान दिनैपर्ने कुरा

 साउन १, २०७७ बिहिबार १०:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अनुमति दिएसँगै सडकमा फाट्टफुट्ट सार्वजनिक गाडी चल्न थालेका छन् । सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर मात्रै गाडी चलाउन भनेको छ । 

सय दिनभन्दा धेरै ग्यारेजमा थन्किएका सार्वजनिक गाडी सञ्चालनमा ल्याउँदा विशेष सावधानी अपनाउनुपर्छ । यस्तै सञ्चालनमा आइसकेपछि यात्रु, चालक र सहचालकले पनि विभिन्न सावधानीका उपाय अपनाउन जरुरी भएको बायोटेक्नोलोजिस्ट डाक्टर समिरमणि दीक्षित बताउनुहुन्छ ।

 उहाँ भन्नुहुन्छ-'कुनै पनि जीवाणुबाट हामी पूर्णरुपमा सुरक्षित हुन सक्दैनौँ तर सङ्क्रमणलाई सकेसम्म कम गराउनका लागि मेहनत भने गर्न सक्छौँ । त्यसको लागि जुनसुकै अवस्थामा पनि मास्क अनिवार्य रुपमा लगाउन उहाँको सुझाव छ ।'  

योसँगै अरु सावधानीका उपाय पनि अपनाउन जरुरी छ । यात्रुले  मास्क लगाएर मात्रै यात्रा गर्नुपर्छ भने चालक र सहचालकले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । सकिन्छ भने सर्जिकल पन्जा लगाउनुपर्छ । पटक–पटक हात स्यानिटाइज गर्नुपर्छ । 

गाडीभित्र यात्रु तथा चालक र सहचालक पटक–पटक मानिसको सम्पर्कमा आउने भएकाले जतिखेर पनि सङ्क्रमणको जोखिम हुने डा. दीक्षित बताउनुहुन्छ । गाडी चलाउँदा पनि सामान्य अवस्थामा भन्दा फरक तथा सुरक्षाका उपाय अपनाउनुपर्छ । कोचाकोच गर्नु हुँदैन । गाडीभित्र उभिनु पनि हुँदैन । सिटमा पनि एकरएक मिटरको दूरी कायम  गर्नुपर्छ । उदाहरणको लागि सामान्य अवस्थामा एउटा लहरमा चार जना बस्न मिल्थ्यो भने अब दुई/दुई जनामात्रै राख्नुपर्ने हुन्छ । साथै झ्याल खोलेर हावा आउन दिनुपर्छ ।  

कुनै पनि बस दिनभर वा सात घण्टा चल्छ भने प्रत्येक पटक विषादी छर्केर पनि सङ्क्रमण कम गर्न गाह्रो हुने दीक्षित बताउनुहुन्छ । मानिस पाँच/पाँच मिनेटमा बाहिर जाने र भित्र पस्ने गरिरहने भएकोले हरेक पटक विषादी छर्किन सम्भव नहुने उहाँको भनाइ छ । तर सरसफाइलाई ध्यान दिन सकिएमा सङ्क्रमणको जोखिम भने कम गर्न सकिन्छ । सिटको अगाडिको भाग सफा गरिरहनु पर्छ । यस्तै सकिन्छ भने कार्डबाट अथवा फोनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्छ । सकिन्न भने पैसालाई छुट्टै भाँडोमा जम्मा गर्न सकिन्छ ।  

पीपीई लगाउने कुरा चाहिनेभन्दा बढी हल्ला भएको भन्दै त्यो सम्भव नहुने उहाँको भनाइ छ । बरु लगाएको लुगा घरमा पुग्नासाथ धुन सकिन्छ । यस्तै सार्वजनिक गाडीमा यात्रा गर्दा लगाएको लुगा फुकालेर केहीबेर सर्फ पानीमा धोएर सुकाउन पनि सकिन्छ । तर मुख्य सावधानी भनेको यात्रा गर्दा मास्क लगाउने र हात सफा राख्ने नै हो । 

गाडीमा बस्दा र उत्रिँदा चालक र सहचालकले मात्र होइन, यात्रुले पनि सुरक्षाका उपायमा ध्यान दिनुपर्छ । मास्क अनिवार्य लगाउनैपर्छ । हात सफा राख्नै पर्छ । एक अर्काको नजिक बस्न हुँदैन । सकिन्छ भने बसभित्र अर्कोसँग कुरा नै नगर्न दीक्षित सुझाव दिनुहुन्छ । ‘आफ्नो गन्तव्य आएपछि चुपचाप उक्लने वा ओर्लने गर्नुपर्छ । केही गरी कसैलाई वा गाडीको कुनै भागमा हातले छोइयो भने पनि स्यानिटाइज गरिहाल्नुपर्छ’, उहाँ भन्नुहुन्छ । 

कोरोना भाइरस हात तथा नाक मुखबाट सर्ने भएकाले पटक–पटक हात स्यानिटाइज गर्ने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै सरकारले स्वास्थ्य सुरक्षाको पूर्ण पालना नगरि सार्वजनिक गाडीमा यात्रा नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम रहँदा रहँदै पनि नागरिकलाई केही सहजताको लागि सार्वजनिक गाडी खुला गरिएको बताउँदै निकै सजग रहन आग्रह गर्नुभयो । उहाँले सकभर सार्वजनिक गाडीमा यात्रा नगर्न र गर्नै परे सबै सुरक्षाका मापदण्ड पालना गर्न र कोरोनासँग मिल्ने लक्षण देखिएमा पनि यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया