सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश १ सरकारले गर्‍याे सम्मान, ८० लाख वितरण

 साउन १, २०७७ बिहिबार ७:४१:५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ ।

एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो । यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभयोे ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायामा नपारिने पनि बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जीविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताउनुभयो । ढिलै भए पनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

सागमा एकल र टीमतर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सयसम्म, एकल र टीमतर्फ रजत विजेतालाई १ लाखदेखि ६० हजारसम्म र एकल र टीमतर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताउनुभयो ।

१० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ । प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा आफूहरु खुशी भएको फुटबल खेलाडी सुजल श्रेष्ठ बताउनुहुन्छ । खेलाडीहरुले पैसा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया