पंगेनीको निधनपछि पार्टीले लोकतन्त्रको पहरेदार गुमायो : देउवा

 साउन २०, २०७५ आइतबार १९:११:१९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।

भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राति सुतिरहेको अवस्थामा हृदयघातबाट उहाँको ज्यान गएको हो । स्याङ्जाको साविक खिलुङ देउराली गाविसमा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उहाँ संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी हुनु भएको थियो ।

२०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बन्नुभएको थियो । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशाली नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरी तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्नु भएको हो । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् । 

नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उप–सभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ, नेता गगनकुमार थापा, नेता प्रदीप पौडेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । लोकतान्त्रिक बाटोबाट नागरिकको विकासमा पंगेनीले लिएको मार्ग मार्फत नागरिकको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताउनुभयो । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गर्नुभयो ।

पंगेनीको आइतबार नै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको कांग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया