तटीय क्षेत्रका बासिन्दालाई दिनभरि उच्च ठाउँमा बस्न आग्रह

 साउन १४, २०७७ बुधबार ११:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई आज दिनभरि नै उच्च ठाउँमा बस्न आग्रह गरेको छ ।

विशेषगरी रातिदेखि नै पानी परेपछि डुबान भएको कैलाली र कञ्चनपुरको तटीय क्षेत्रका बासिन्दालाई आज दिनभरि नै उच्च ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोख्रेलकाअनुसार रातिदेखि नै पानी परेपछि दैलेख र कैलालीमा कर्णाली नदीले सतर्कता तह पार गरेको छ । 

कैलालीमा अझै पानी परिरहेकाले चुरिया र कर्णालीमा पानीको सतह बढिरहेको छ । चुरियामा गएको १२ घण्टामा २ सय ५५ मिलीमिटर र कर्णालीमा २ सय ७ दशमलव २ मिलीमिटर पानी परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पानी पर्ने क्रम कम भए पनि डुबानमा परेका ठाउँबाट पानी निकास हुन समय लाग्ने भएकाले आज दिनभरि नै उच्च ठाउँमा बस्न महाशाखाले अनुरोध गरेको छ । आज एक्कासी बाढी आउन सक्ने भएकाले बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, डोटी, डडेलधुरा, आसपास तटीय क्षेत्रका बासिन्दा सतर्क हुनुपर्ने हाइड्रोलोजिष्ट पोख्रेलको भनाइ छ । 

बाढीबारे केही जानकारी लिन ११५५ नम्बरमा फोन गर्न सकिनेछ । यसैबीच अझै पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम कायमै छ । अहिले खुलेको ठाउँको मौसम पनि फेरि बदली भई पानी पर्न थाल्ने मौसमविद्ले बताएका छन् । 

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले हिजो र आज धेरै ठाउँमा ठूलो पानी परेको हो । यो रेखा नेपालबाट सर्ने क्रममा रहेकाले भोलि बेलुकीदेखि कम पानी पर्ने मौसमविद् निरञ्जन सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया