‘एक वर्षभित्रै कागज रहित भन्सार र झन्झट रहित व्यापार हुनेछ’

 साउन २६, २०७७ सोमबार १६:५५:५९ | सुमन दाहाल
unn.prixa.net

देशभरका भन्सारलाई अत्याधुनिक छिटो, छरितो र सहज तरिकाले सञ्चालन गर्नको लागि नेपालले नयाँ प्रणालीमार्फत काम गर्दैछ । गएको  हप्ता नेपाल सरकारको मन्त्रिपरिषद्ले नेपाल राष्ट्रिय एकद्वार प्रणालीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेसँगै यो प्रणाली सुरुवातको लागि काम गर्न थप सहज भएको छ । यो प्रणालीको छिटो भन्दा छिटो कार्यान्वयन गरेर भन्सारलाई प्रविधिमैत्री बनाउने बाटोमा हामी अग्रसर छौँ ।  

नेपाल राष्ट्रिय एकद्वार प्रणाली भनेको के हो ?

वैदेशिक व्यापारका लागि भन्सार एउटा बिन्दु हो, निकाय हो, जसले अरु धेरै सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग र समन्वयमा वैदेशिक व्यापार अन्तर्गतका मालवस्तुहरुको भन्सार जाँचपासको काम गर्दछ । निकासी पैठारीकर्तादेखि लिएर निकासी पैठारीको अनुमति दिने निकाय, मालवस्तुको गुणस्तर परीक्षण र अनुमति दिने निकाय, भुक्तानी व्यवस्थापन गर्ने निकायहरु, ढुवानी व्यवस्थित गर्नेलगायत थुप्रै निकायहरु वैदेशिक व्यापारमा जोडिएका हुन्छन् । 

नेपालको भन्सार प्रशासनले आजभन्दा २५ वर्ष अगाडिदेखि प्रणाली सुधारको क्रममा संयुक्त राष्ट्रसङ्घीय व्यापार विकास केन्द्रद्वारा विकसित आसिकुडा प्रणाली Automated System for Customs Data (ASYCUDA) लागू गर्दै आएको छ । आसिकुडा प्रणालीमा भएको प्राविधिक रुपको क्रमिक सुधारसँगै विगत चार वर्षदेखि आसिकुडा वर्ल्ड लागू गरेको छ, जुन इन्टरनेटमा आधारित अत्याधुनिक प्रविधि हो, जसलाई विश्वका एक सयभन्दा वढी देशले लागू गरेका छन् । 

रियल टाइम इन्टरनेटको प्रयोग गरी आफ्नो घर वा अफिसमा बसेर निकासी पैठारी कर्ताहरुले भन्सारमा आइसकेको सामानहरुको भन्सारमा घोषणा गर्न र जाँचपास गराउन सक्ने गरीको अत्याधुनिक प्रणाली कार्यान्वयनमा छ ।  

आसिकुडाले भन्सार प्रशासनभित्रको प्रणालीलाई अनलाइन गरेको छ भने अब बन्ने नेपाल राष्ट्रिय एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबैले प्रयोग गर्न सकिने गरी तयार गरिने स्वचालित विद्युतीय प्लेटफर्म हो । 

नेपाल राष्ट्रिय एकद्वार प्रणाली किन ?

– भन्सार जाँचपास प्रक्रियालाई सहज र छिटो बनाएर व्यापार सहजीकरणको माध्यमबाट व्यापार आपूर्ति श्रृङ्खलामा आबद्ध सबै सरोकारवालहरुको व्यावसायिक हितको प्रवर्द्धन गर्न
– व्यापारसँग आबद्ध निकायहरुको संस्थागत क्षमता सुदृढ गर्न
– वैदेशिक व्यापारको कारोबार लागत घटाउन 
– नेपाली बजारमा आपूर्ति हुने वस्तुको मूल्य घटाउन योगदान गर्न
– निकासी व्यापारको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सहयोग गर्न 
– सूचना, तथ्याङ्क एवं प्रतिवेदनको गुणस्तर अभिवृद्धिका लागि तथ्याङ्क प्रशोधन तथा व्यवस्थित भण्डारण गर्न
– सरोकारवालाहरु बीचमा अनलाइन जानकारी सेवा व्यवस्थित गर्न
– विद्युतीय भुक्तानीको आवश्यकता पूर्ति गर्न 

नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा के हुँदै छ काम ?

अहिलेलाई आठ निकायहरु एउटै सञ्जालमा आबद्ध रही आवेदन, सूचना, अनुमति तथा निर्णयहरु एकै विधि तथा माध्यमबाट आदानप्रदान गर्न सकिने गरी कार्य अघि बढाइएको छ । पहिलो चरणमा २१ वटा निकायहरु यस प्रणालीमा जोडिने छन् । दोस्रो चरणमा नौ वटा र तेस्रो चरणमा आठ वटा निकायहरु यसमा जोडिएर ३८ वटा निकायहरुले एउटै थलोबाट वैदेशिक व्यापारका काम गर्नेछन् । यसले गर्दा निकासी पैठारीमा लाग्ने समय र लागत दुवै घट्नेछ भने कागज रहित भन्सार र अझ भनौँ कागज रहित व्यापार हुनेछ । 

वैदेशिक व्यापारमा दिनहुँजसो अत्यधिक संलग्न हुनुपर्ने भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग, यातायात व्यवस्था विभाग, कन्सुलर सेवा विभाग, प्लान्ट क्वरेण्टीन एवं विषादी व्यवस्थापन केन्द्र, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, वाणिज्य बैंकहरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स जस्ता निकायहरु पहिलो चरणमा यसमा जोडिने छन् । 

सन् २०१३ जुलाई ११ मा नेपाल सरकार र विश्व बैंकबीच नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनासम्बन्धी सम्झौता भएको थियो । उल्लेखित आयोजनाको तीन वटा विषयमध्ये ‘ख’ नम्बरमा रहेको व्यापारसँग सम्बन्धित संस्थाको क्षमता वृद्धि अन्तर्गतको एउटा क्रियाकलाप नेपाल राष्ट्रिय एकद्वार प्रणाली रहेको हुनाले त्यही अन्तर्गत यो प्रणाली विकास गरिरहेका छौँ । २०७८ साउनसम्ममा यो प्रणालीको विकास सम्पन्न गरी कार्यान्वयनमा लैजाने गरी युद्धस्तरमा काम गरिरहेका छौँ ।

केही महिनाभित्रैमा केही निकायबाट यसको सञ्चालन सुरु गर्न लागिरहेका छौँ । अर्थ मन्त्रालयको नेतृत्वमा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा भन्सार विभागले यसको विकास गर्दै छ ।  

अन्तिम अपडेट: चैत ३, २०८०

सुमन दाहाल

दाहाल भन्सार विभागका महानिर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया