अन्योलमा परीक्षा : वैकल्पिक उपायहरु खोज्न शिक्षाविद्को सुझाव

 भदौ १०, २०७७ बुधबार ७:४७:४२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसका कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ ।  स्नातक र स्नातकोत्तर तहको परीक्षा प्रभावित हुँदा देशभरका ४ लाख १५ हजार  विद्यार्थी अन्योलमा छन् ।

लकडाउनका कारण अन्योलमा परेको स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौदेखि असोजसम्म सक्नेगरी त्रिभुवन विश्वविद्यालयले  तालिका सार्वजनिक गरेको थियो । तर कोरोना सङ्क्रमण बढेकाले सार्वजनिक गरेको समय तालिकासमेत स्थगित भएपछि झनै अन्योल थपिएको छ । अन्यौलकै बीच एसईई परीक्षाको नतिजा सार्वजनिक भए पनि कक्षा ११ र १२ के गर्ने भन्ने अझै टुंगो लागेको छैन । 

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेपछि स्थगित भएको थियो ।  बोर्डले सूचना निकालेर कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि वैशाख १८ गतेसम्म र  कक्षा ११ को परीक्षा वैशाख २१ देखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने भनेको थियो । तर कोरोनाका कारण परीक्षा स्थगित भयो । कक्षा ११ को परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नै लिने भनिए पनि विद्यार्थीमा कोरोनाको डर कायमै रहेको भन्दै फेरि शिक्षा मन्त्रालयले नलिन भनेको छ । अलपत्र परेका परीक्षाको विषयमा अहिलेसम्म विस्तृत छलफल नै नभएको बताइएको छ । 

आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई अंक दिने वा कसरी परीक्षा लिने भन्ने विषय टुंगो लागेको छैन । कतिपय शिक्षाविद्हरु आन्तरिक मूल्याङ्कनका आधारमा  विद्यार्थीलाई माथिल्लो तहमा पठाउन सकिनेमा सहमत छन् भने शिक्षा मन्त्रालयले यसमा सहमति जनाइसकेको छैन । शिक्षा मन्त्रालयले नेपाली समाज परीक्षामुखी भएकाले ११ कक्षाको परीक्षा आन्तरिक तरिकाले लिन सकिए पनि अरु तहको परीक्षा भने लिनै पर्ने बताएको छ । कक्षा  १२ को परीक्षा त झन् विद्यालय शिक्षाको अन्तिम भएकोले धेरैको चासोको विषय बन्दै गएको छ । 

स्थिति सामान्य भएपछि परीक्षा लिने, माथिल्लो सेमेस्टरको कक्षा सञ्चालन गर्ने 

आउँदो असोजसम्म परीक्षा गर्न सम्भव नभएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । परीक्षा तत्काल हुने सम्भावना नभएकाले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका  लागि सेमेस्टरको अर्को कक्षा सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

शैक्षिक सत्र खेर जान नदिन र विद्यार्थीको चिन्तालाई कम गर्न अनलाइनबाट कक्षा सुरु गर्न लागिएको उहाँले बताउनुभयो । जोशी भन्नुहुन्छ, ‘भदौदेखि असोजसम्म परीक्षा सक्ने भनेका थियौँ । त्यो सम्भावना रहेन  । त्यसैले अनलाइनको माध्यमबाट माथिल्लो कक्षामा पढाउन गृहकार्य थालिएको हो ।  अहिले कक्षाकोठामा बोलाएर पढाउन सम्भव छैन । विद्यार्थी कता छन् थाहा छैन ।’

कतिपय विद्यार्थीमा प्रविधीको पहुँच नहुन पनि सक्छ । तर पनि सेमेस्टरमा पढाउन थालिएको उहाँले बताउनुभयो । माथिल्लो कक्षामा पढाउँदै गर्ने  र विस्तारै समय अनुकूल भएपछि परीक्षा लिँदा शैक्षिक सत्र पनि खेर नजाने र विद्यार्थीमा चिन्ता पनि कम हुने उहाँको भनाई छ । मंसिरदेखि स्कुल तथा कलेज खुलेमा पनि  शैक्षिक सत्र खेर नजाने उहाँ बताउनुहुन्छ ।  

सेमेस्टरको कक्षा सुरु गरेपनि वार्षिक परीक्षा  सञ्चालन नभई माथिल्लो कक्षामा पढाउन मिल्दैन । यसले गर्दा वार्षिकको हकमा अलि समस्या हुने देखिन्छ । त्रिभुवन विश्वविद्यालयले असोजसम्म वैकल्पिक विधिबाट परीक्षा लिने बताए पनि यो कसरी हुन्छ भन्ने पनि अन्योल छ ।

परीक्षा गर्ने जिम्मेवारी विश्वविद्यालयलाई नै दिएका छौ : शिक्षा मन्त्रालय 

त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने सबै विषयको परीक्षा सञ्चालनको जिम्मेवारी विश्वविद्यालयलाई नै दिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्नुहुन्छ, ‘मन्त्रालयले यो समयमा गर्न सकिन्छ भनेर समय तोक्ने मात्रै हो । अहिले मन्त्रालयले भदौ १५ पछि अर्थात भदौ १६ देखि भर्ना र परीक्षा सञ्चालन गर्न पाइने भनेको छ । यदि यो निर्णय परिर्वतन नभएमा भदौ १५ पछि विश्वविद्यालय आफैँले परीक्षाको मिति तोक्न सक्छ ।’

तर अहिले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले मन्त्रालयले यो मिति परिर्वतन पनि गर्न सक्ने प्रवक्ता शर्मा बताउनुहुन्छ । 

वैकल्पिक माध्यमबाट परीक्षा लिऔँ  ः शिक्षाविद् 

कोरोना भाइरस महामारीबीच विभिन्न तहका परीक्षाबारे  अन्योल भैरहँदा विद्यार्थी र अभिभावकमा मानसिक असर पर्न सक्छ ।  त्यसैले परीक्षाको टुंगो तत्काल लगाउन शिक्षाविद् विद्यानाथ कोइरालाको सुझाव छ । हलमा गएर परीक्षा दिने एउटा मात्रै विकल्पलाई अनुसरण गर्न नहुने उहाँको भनाई छ । पुरानै शैलीबाट परीक्षा गर्न सम्भव नभएकाले नयाँ शैलीबाट गर्नुपर्ने कोइराला बताउनुहुन्छ ।   

शैक्षिक सत्र खेर जान नदिन अनलाइनबाट परीक्षा लिन सकिने या दूरी कायम गरेर  परीक्षा लिन सकिने  कोइराला बताउनुहुन्छ । यी कुरालाई ध्यान दिएर परीक्षा सञ्चालन गरेमा अझै पनि शैक्षिक सत्र खेर नजाने उहाँको भनाई छ  । एउटा शैक्षिक सत्रमा २ सय २० दिन पढाई हुने दिन मानिन्छ । यस्तो अवस्थामा १ सय ५० दिनमा वा २ सय दिनभित्र कोर्स पूरा हुने गरी पढ्न र पढाउन शिक्षक र विद्यार्थी तयार हुनुपर्छ । त्यसरी परीक्षा सञ्चालन गर्न  सकियो भने विद्यार्थीको  मेहनत खेर नजाने उहाँ बताउनुहुन्छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया