प्रदेशले पठाएको पीसीआर किट फिर्ता

 भदौ १०, २०७७ बुधबार १५:१३:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालाका लागि कर्णाली प्रदेशले पठाएका किटले काम नगरेपछि फिर्ता पठाइएको छ । 

कोरोना परीक्षणको लागि स्वाब सङ्कलनको मात्रा बढिरहेको बेला प्रदेशले पठाएको किटले काम नगरेपछि पीसीआर परीक्षणमा समस्या हुन थालेको छ । 

पाँच सय जनाको स्वाब परीक्षण गर्ने गरी कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले पठाएका किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । किटले काम नगरेपछि मङ्गलबार नै प्रदेशमै किट फिर्ता गरिएको प्रयोगशालाका प्रमुख निरञ्जन सत्यालले बताउनुभयो । 

‘प्रदेशबाट पठाएका किटले सिट भ्यालु नै देखाएन’, प्रमुख सत्यालले भन्नुभयो, ‘स्वाबको स्याम्पल लोड बढेको बेला काम नगर्ने किट थन्काएर के गर्नु, हिजै फिर्ता पठाइ सक्यौँ ।’ उहाँका अनुसार अहिले झण्डै आठ सय स्वाब परीक्षणको लागि आइपुगेको छ । 

प्रयोगशालामा किट अभाव हुँदा माग गरेपछि कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले भदौ ३ गते पाँच सय जनाको स्वाब परीक्षण गर्न मिल्ने पीसीआर किट र एक्सट्रयाक्शन किट पठाएको थियो । 

प्रदेशले पठाएका किटले पिसिआर परिक्षणको नतिजा दिन नसकेकोले समस्या बढेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले बताउनुभयो । 

पीसीआर र एक्ट्रयाक्शन किटले कुनै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको नभएको पत्ता लगाउने काम गर्छन् । तर प्रदेशबाट आएको किटले परिणाम दिन सकेनन् ।  

नागरिकको स्वास्थ्यमा हेलचेक्रयाइँ  

प्रदेशले यसअघि यी किट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पठाएको र त्यहाँ काम नगरेपछि फिर्ता भएको किट प्रदेशले चौरजहारीमा पठाएको बताइएको छ । 

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रदेश सरकार मातहतको आधिकारिक निकाय गैरजिम्मेवार देखिएको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले बताउनुभयो । 

‘बन्द भइसकेका भारतीय कम्पनीले उत्पादन गरेका किटले परिणाम दिनुको साटो जनताको स्वास्थ्यप्रति खेलबाड गर्न खोजेको देखिन्छ’, नगर प्रमुख शर्माले भन्नुभयो, ‘यो सरासर गलत काम भयो, काम नगर्ने, किट खरिद गर्ने र ती किटलाई विभिन्न प्रयोगशालामा पठाउने कार्यविरुद्ध छानबिन र कारबाही हुन जरुरी छ ।’ ​  

प्रयोगशालामा किट अभाव  

यसैबीच चौरजहारी प्रयोगशालामा किट अभाव भएको छ । प्रयोगशालामा दैनिक सयौँ स्वाब आउने गरेका छन् । तर प्रयोगशालामा किट नरहेको नगरपालिकाले जनाएको छ । 
प्रदेशले पठाएका किटले काम नगरेपछि फिर्ता पठाइएको र प्रयोगशालामा रहेका किट सकिएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । परीक्षणको लागि जम्मा भएका आठ सय स्वाब पेन्डिङमै रहेका छन् । 

किट किन्न आर्थिक अभाव

प्रयोगशाला स्थापना भएदेखि अहिलेसम्म झण्डै दुई करोड रुपैयाँ खर्च भएको र नगरपालिका एक्लैले अब खर्च धान्न सक्ने अवस्था नरहेको नगर प्रमुख शर्माले बताउनुभयो । पटक–पटकको दबाबपछि प्रदेश सरकारले ८६ लाख रुपैयाँ सहयोग गरेको र अरु सबै नगरपालिका एक्लैले खर्च गरिरहेको छ । 

रुकुम पश्चिम, सल्यान र जाजरकोटका पनि स्वाब परीक्षण हुने गरेको तर अन्य पालिकाले कुनै खर्च अहिलेसम्म बेहोरेका छैनन् । प्रयोगशाला सञ्चालनको लागि दैनिक तीन लाख रुपैयाँ खर्च भरहेको जनाइएको छ । 
प्रयोगशाला सञ्चालनमा सङ्घीय सरकार तथा अन्य पालिकाले सहयोग नगरे चौरजहारी नगरपालिका एक्लैले धान्न नसक्ने अवस्था आएको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया