क्वरेण्टीन र आइसोलेशनमा फोहोर व्यवस्थापन कसरी गर्ने ?

 भदौ ११, २०७७ बिहिबार ६:४३:३५ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कोरोनाको महामारीको बेला क्वरेण्टीन र आइसोलेशनहरुमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोरको उचित व्यवस्थापन नभएमा रोग फैलन  सक्ने सम्भावना बढ्छ । कोरोना भाइरसका कारण मास्क, ग्लोब्स, पीपीई प्रयोग गर्नेको संख्या पनि बढेको छ ।

अस्पतालको आइसोलेशनमा बिरामीको उपचार गर्दा होस् या घरमा, होटलमा र होल्डिङ सेन्टरमा रहेका बेला फोहोरको उचित व्यवस्थापन गर्न आवश्यक छ । फोहोरको सही व्यवस्थापन गर्न सकेमा धेरै रोगहरुबाट बच्न सकिने डाक्टरले बताएका छन् ।  

देशभर अस्पताल, होटल, घर  लगायतको ठाउँमा क्वरेण्टीनमा बस्नेको संख्या लाखौं छ । कतिपय ठाउँमा क्वरेण्टीन र आइसोलेशन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड पनि त्यति पालना भएको देखिँदैन । यसले गर्दा सङ्क्रमित बढ्न सक्ने र अरु रोग फैलने जोखिम पनि उत्तिकै हुन सक्छ । 

फोहोरमैला उत्पादन नै कम गरौँ 

क्वरेण्टीन तथा आइसोलेशन सेन्टरमा सकेसम्म फोहोरमैला उत्पादन नै  कम गर्ने प्रयास गर्नुपर्छ । फोहोरमैला उत्पादन नै कम हुने सामग्रीको प्रयोग गर्न विश्व स्वास्थ्य संगठन नेपालका नेशनल प्रोफेसनल अफिसर डाक्टर सुदनराज पन्थी आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘फोहोर व्यवस्थापनका लागि महत्वपूर्ण हतियार भनेको  फोहोरमैला उत्पादन नै कम गर्नु हो ।’

क्वरेण्टीन तथा आइसोलेशनमा विशेषगरी धारिला, सङ्क्रामक, प्याथोलोजिकल, फर्मास्यूटिकल, रासायनिक, रेडियोधर्मी र सामान्य खालका फोहोर उत्पन्न हुने गर्छन् । राम्रो तरिकाले सफा गर्न मिल्ने र सङ्क्रमणमुक्त पार्न सकिने सामग्रीहरुको बढी प्रयोग गर्दा फोहोरको उत्पादन कम गर्न सकिने डाक्टर पन्थी बताउनुहुन्छ । यस्तै कम प्याकिङ भएका सामग्रीको प्रयोग गर्दा पनि फोहोरको उत्पादनमा कमी आउँछ ।  

फोहोरमैला संकलन, ओसारपसार र भण्डारण कसरी गर्ने ?

फोहोर संकलन, ओसारपसार र भण्डारणमा पनि विषेश ध्यान दिन डाक्टर पन्थी सुझाव दिनुहुन्छ । त्यसका लागि सम्पूर्ण संक्रमित फोहोरलाई स्पष्ट रुपमा लेबल गरिएका, धारिला र नछेडिने फोहोर गरी छुट्याउनुपर्छ । संकलन गर्ने भाँडा नफुट्ने, बिर्को भएका विन र बाल्टीहरु प्रयोग गर्नुपर्छ । 

छुट्याइएको तर सङ्क्रमण नभएका फोहोरलाई पनि सुरक्षित रुपमा संकलन गरी बलियो प्लाष्टिकको झोलामा बाँध्नुपर्छ । सावधानीपूर्वक नगरपालिकाको  फोहोरमैला व्यवस्थापन प्रणालीमा पठाउन सकिन्छ । यस्तै होम तथा होटल क्वरेण्टीन, होल्डिङ क्षेत्रहरु जस्तै आगमन बिन्दुमा प्रयोग गरिएका व्यक्तिका सुरक्षा उपकरणहरु मास्क, ग्लोब्स संकलन गरी संकलन गरिएको भाँडोको मुख बन्द गरेर संकलन गरेको मितिसमेत लेखेर राख्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्तै फोहोर राखेको झोलालाई शून्य दशमलव ५ प्रतिशत क्लोरिनको झोलले बाहिरबाट पुछेर राख्नुपर्छ । यसो गर्दा सङ्क्रमण फैलनबाट रोक्न सकिन्छ । 

फोहोरमैला बिसर्जन कसरी गर्ने 

स्वास्थ्यजन्य फोहोरमैलालाई उत्पादन भएको क्षेत्रमा नै सङ्क्रमणमुक्त बनाई सुरक्षित तरिकाले बिसर्जन गर्नुपर्छ । यदि फोहोर बिसर्जनका लागि बाहिर लगिँदैछ भने कुन ठाउँमा कसरी लाने, कसरी बिसर्जन गर्ने भन्ने कुराको ध्यान दिनुपर्छ । यस्तै स्थानीय साधन स्रोत, अवस्था र परिवेश  अनुसार र रासायनिक पदार्थहरुको प्रयोग गरेर फोहोरमैलालाई सङ्क्रमण मुक्त पार्न सकिने डाक्टर पन्थी बताउनुहुन्छ ।  तर फोहोरमैलालाई जलाउनु भने हुँदैन । 

फोहोर उत्पादन हुने क्षेत्रमा खाल्डो खन्ने र पुर्ने विधि अपनाएर पनि फोहोर बिसर्जन गर्न सकिन्छ । त्यसका लागि घर, आइसोलेशन र क्वरेण्टीन वरपर जग्गा छ भने सानो खाल्डो खनेर पुर्न पनि सकिन्छ । १ देखि २ मिटर चौडा र २ देखि ५ मिटर गहिरो खाल्डो खन्नुपर्छ । खाल्डोको पिँध भूमिगत पानीको सतहभन्दा कम्तीमा २ मिटरमाथि हुनुपर्छ । खाल्डोको तलको सतहमा माटो पा पानी नछिर्ने वस्तु सतहमै हुनुपर्छ ।  माथिल्लो सतहको चारैतिर पानी छिर्न नदिन माटोको डिल बनाउनुपर्छ । साथै खाल्डो वरिपरी तारबार लगाएर अनावश्यक आवतजावत रोक्नुपर्छ । 

गाडीमा पठाउने फोहोर जस्तै पानीको बोतल, कागजलगायतका सामग्री कम्तीमा पनि ७ दिनसम्म भण्डारण गरेर मात्रै नगरपालिकाको गाडीमा पठाउनुपर्छ । अरु फोहोर पनि कम्तीमा ७२ घण्टासम्म संकलन गरेर सुरक्षित राखेर मात्र पठाउँदा फोहोर संकलनको क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्भावित जोखिम घटाउन सहयोग पुग्छ । 

कोरोना भाइरस के मा कति समय जीवित रहन्छ ? 

कोरोना भाइरस मानिसको शरीरभन्दा बाहिर धेरैदिन बाँच्न सक्दैन । त्यसैले पनि यो भाइरसले स्वास्थ्यजन्य फोहोरमैलाका क्षेत्रमा काम गर्ने सफाईकर्मीहरुमा  न्यूनतम जोखिम हुन सक्छ भनेर आँकलन गरिएको छ । तै पनि विभिन्न कारकतत्वले यो भाइरस बाहिरी वातावरणमा बाँच्ने अवस्था हुन सक्छ । 

कोरोना भाइरस विभिन्न किसिमका सतहमा केही घण्टादेखि कयौँ दिनसम्म बाँच्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार मानिसमा सङ्क्रमण गर्ने कोरोना भाइरसहरु फोहोर पानीमा २ दिनसम्म बाँच्न सक्ने देखिएको छ ।

यस्तै कागज या टिस्यू पेपरमा ३ घण्टा, तामामा ४ घण्टा, कपडामा २४ घण्टा, मोटा कागजमा २४ घण्टा, काठमा २४ घण्टा, सिसामा ४८ घण्टा, स्टिलमा ७२ घण्टा, प्लाष्टिक वा नोटमा ७२ घण्टा र मेडिकल मास्कको बाहिरी सतहमा भने  ७ दिनसम्म रहन सक्ने भएकाले फोहोर बिसर्जनमा पनि विषेश सावधानी अपनाउनुपर्छ ।  

सङ्क्रमणयुक्त फोहोर व्यवस्थापनमा पालिकाको भूमिका

नगरपालिका तथा पालिकाहरुले गर्नुपर्ने  अनेकौँ काम हुन्छन् ।  त्यसमध्ये फोहोरमैला व्यवस्थापन महत्वपूर्ण काम भएको नगरपालिका संघ नेपालका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जु बताउनुहुन्छ । अहिलेको  समयमा  झनै सङ्क्रमित फोहोरमैलालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बेला भएको उहाँको भनाइ छ ।

ब्यञ्जु भन्नुहुन्छ 'फोहोरमैला व्यवस्थापनको काम राणाकालदेखि नै हुँदै आएको हो । त्यतिबेला देखि नै सरसफाईको काम हुनुपर्छ भनिएको थियो ।' अहिलेको  अवस्थामा त झनै महत्वपूर्ण हुने उहाँको भनाइ छ । फोहोरमैला व्यवस्थापनको काम एकल अधिकारको रुपमा पालिकालाई दिइएको छ । त्यसैले आफूले फोहोरमैला संकलन र संकलनका क्षेत्रमा काम गर्नेका लागि विषेश प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ। 

धुलिखेल नगरपालिकाले अहिले क्वरेण्टीन र आइसोलेशनमा बसेका बिरामीको कपडा वासिङ मेसिनमार्फत् धुने गरेको छ । यस्तै घरको फोहोरले बजार र बजारको फोहोरले नदी दुर्गन्धित नहोस् भनेर त्यही अनुसारको ब्यस्थापन गरिरहेको उहाँ बताउनुहुन्छ । धुलिखेल नगरपालिकाले  सरसफाईको क्षेत्रमा काम गर्नेका लागि एक लाख रुपैयाँको बिमा गरेको छ । यस्तै सरसफाईकर्मी र जनप्रतिनिधिबीच पनि सङ्क्रामक फोहोर व्यवस्थापनको बारेमा समन्वय हुने गरेको उहाँले बताउनुभयो ।  

स्वास्थ्य मापदण्ड पालना भए-नभएको अनुगमन हुन्छ : स्वास्थ्य मन्त्रालय 

कोरोना भाइरसको महामारीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फोहोरमैला व्यवस्थापन निर्देशिका जारी गरेको छ । मन्त्रालयका स्वास्थ्यजन्य फोहोरमैला शाखा प्रमुख डाक्टर सुरेन्द्र चौरासियाले निर्देशिकामा घर, होटल, क्वरेण्टीन तथा आइसोलेशनमा फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेटिएको बताउनुभयो ।

जनस्वास्थ्य नियमावली पनि बन्ने क्रममा रहेको उहाँले बताउनुभयो । नियमावलीअनुसार घर, होटल, होल्डिङ सेन्टर लगायतका ठाउँमा सरसफाई कसरी भइरहेको छ, स्वास्थ्य मापदण्ड पालना भएको छ या छैन भन्ने बारे अनुगमन गर्छ । घर, होटल, होल्डिङ सेन्टर र आइसोलेशनमा सम्भावित र प्रमाणित फोहोरलाई सङ्क्रमित फोहोर मानेर त्यही अनुसारको व्यवस्थापन गर्नुपर्ने चौरासियाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया