कोरोनासँग जुध्ने प्रदेश सरकारका प्रयास

 भदौ १२, २०७७ शुक्रबार १२:०:१० | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमितको संख्या थपिँदै जाँदा रोकथाम र नियन्त्रणमा चुनौती बढेको छ । सातवटै प्रदेशले केन्द्रीय सरकारको निर्देशनमा र पालिकालाई साथमा लिएर कोरोना नियन्त्रणका लागि सबै शक्ति लगाएको बताएका छन् ।

तर सीमित स्रोत र साधनका बीच काम गर्न प्रदेश सरकारलाई त्यति सजिलो छैन । अहिले नै अस्पतालहरुमा आइसोलेशन, भेन्टिलेटर र आईसीयूको अभाव हुन थालिसकेको छ । यसकै कारण लक्षण नदेखिएका बिरामीलाई सम्भव भएसम्म घरमै बस्न सरकारले भनेको छ । केन्द्र सरकारले कोरोना पोजेटिभ नै भए पनि १४ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताएको छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना पोजेटिभ भएको ११ दिनपछि अरुमा सार्ने सम्भावना नहुने यसअघि नै बताइसकेको छ । त्यसैले पनि सरकारले १४ दिनपछि डिस्चार्ज गर्ने रणनीति बनाएको हो ।

सबै प्रदेशको ध्यान आइसोलेशन थप्नेतर्फ 

सातवटै प्रदेश सरकार यतिबेला आइसोलेशनको संख्या थप्नतर्फ केन्द्रीत छन् । प्रदेश १ सरकारले आइसोलेशन बेड थप्नका लागि पहल थालिसकेको छ । लगातार सङ्क्रमित बढ्दै जाँदा भएका आइसोलेशनले नधान्ने भएकाले अरु पनि आइसोलेशन थप्ने तयारी थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मेचीनगर, रंगेली, विराटनगर र मेची अस्पतालका साथै पहाडी जिल्लाका अस्पतालहरुमा छुट्टै आइसोलेशन सेवा सुरु गरिएको मन्त्रालयका स्वास्थ्य शाखाका डाक्टर सरोज विशालले जानकारी दिनुभयो । यस्तै निजी अस्पतालहरुसँग पनि समन्वय थालिसकेको उहाँले बताउनुभयो । 

प्रदेश २ सरकारले पनि आइसोलेशनको संख्या थप गर्न लागेको जनाएको छ । अहिले १० हजार २७ वटा बेड क्षमता रहेकोमा केही बढाउने तयारी भइरहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारले पनि थप आइसोलेशनको व्यवस्था गर्न लागेको जनाएको छ । केही दिनभित्रै काठमाण्डौको खरिपाटीमा २ सय बेडको आइसोलेशन बनाउने तयारी भइरहेको वाग्मती प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईँले जानकारी दिनुभयो ।

अरु संख्या थप गर्नेबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ ।  वाग्मतीमा आईसीयू र भेन्टिलेटर गरेर १६ वटा थप्ने तयारी भइरहेको छ । उपत्यका नगरपालिका फोरमका पदाधिकारीको बैठकले पनि काठमाण्डौ उपत्यकामा तत्काल ६ हजार एकीकृत आइसोलेशन बनाउने निर्णय गरिसकेको छ । 

गण्डकी प्रदेशमा अहिले  एक हजार ३ सय ९७ वटा आइसोलेशन बेड छन् । यो संख्या कम हुने भएकाले केही थप गर्न लागिएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा १५ बेड, गण्डकी मेडिकल कलेज पोखरामा १५ बेड, चरक मेमोरियल अस्पताल पोखरामा ३० बेड, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड, जीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० बेड, लायन्स क्लब सिसुवा सामुदायिक अस्पताललाई ५० बेडको आइसोलेशनको रुपमा प्रयोग गर्ने  मन्त्रालयले निर्णय गरेको छ । 

प्रदेश ५ सरकारसँग विभिन्न अस्पतालमा गरी ४ हजार २ सय ७४ बेड क्षमताको आइसोलेशन रहेको छ । तत्कालका लागि अभाव हुने अवस्था छैन । अभाव हुने अवस्था आएमा थप्ने प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारले पनि आइसोलेशन थप गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेको छ ।

प्रदेशस्तरीय कार्यदल गठन भइसकेको छ ।  कार्यदलले आइसोलेशन थप गर्नेबारे छिट्टै निर्णय गर्ने प्रदेशको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।  अरु प्रदेशमा जति कोरोना सक्रमित कर्णाली प्रदेशमा छैनन् । तर जोखिम बढेकाले आफूहरुले त्यसैअनुसार तयारी गरेको उहाँले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशमा अहिले ३ सय १० वटा आइसोलेशन बेड र १२ वटा भेन्टिलेटर रहेकोमा बढाउने तयारी भइरहेको छ । भारतसँग सीमा जोडिएका र भारतमा अझै पनि सङ्क्रमितको संख्या बढिरहेकाले थप जोखिम हुन सक्ने भन्दै आइसोलेशन बेड थप्ने तयारी भएको हो । कोरोनाका बिरामी बढेसँगै आईसीयू, भेन्टिलेटर र आइसोलेशनको माग पनि बढिरहेको छ । 
पीसीआर परीक्षण पर्याप्त छैन 

सातवटै प्रदेशमा पीसीआर परीक्षण प्रभावकारी भएको देखिँदैन  । प्रदेश १ सरकारले  अहिले दैनिक सरदर एक हजार जनाको मात्रै पीसीआर परीक्षण गर्न सक्छ । ४ वटा प्रयोगशालामार्फत् दैनिक एक हजारको हाराहारीमा पीसीआर परीक्षण हुने गरेको छ ।  अबका दिनमा पीसीआर परीक्षण बढाउन अत्यन्तै आवश्यक भएको  प्रदेश १ को सामाजिक विकास मन्त्रालयका  स्वास्थ्य शाखाका  डाक्टर सरोज विशालले जानकारी दिनुभयो । 

प्रदेश नम्बर २ मा पनि पीसीआर परीक्षण कम मात्रै हुने गरेको छ । पर्सा, बारा लगायतका जिल्लामा सङ्क्रमितको सँख्या दैनिक बढे पनि २ हजारदेखि २५ सयको हाराहारीमा मात्रै परीक्षण हुने गरेको छ । वाग्मती प्रदेशमा निजीका ८ सहित २१ वटा पीसीआर परीक्षण मेसिन सञ्चालनमा छन् । यो संख्या बढाउने तयारी भएको प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेलमा पीसीआर मेसिन राख्ने तयारी भइरहेको छ ।  

कर्णाली प्रदेशमा अहिले ४ वटा मेसिनमार्फत् पीसीआर परीक्षणको काम भइरहेको छ । सुर्खेत, जुम्ला, दैलेख र रुकुमपश्चिम गरी ४ वटा जिल्लामा परीक्षण मेसिन सञ्चालनमा छ । दैनिक ६ देखि ७ सयको संख्यामा परीक्षण हुँदै आएको छ । 

गण्डकी प्रदेशमा २८ वटा प्रयोगशालामार्फत् २ हजारदेखि २५ सयसम्म पीसीआर परीक्षण हुने गरेको छ । यस्तै प्रदेश  ५ मा अहिले दैनिक ८ सयको हाराहारीमा मात्रै पीसीआर परीक्षण हुने गरेको छ । सुदूरपश्चिम प्रदेशमा ६ सयदेखि ९ सयको हाराहारीमा पीसीआर परीक्षण हुने गरेको छ । केही दिन यता अरु प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि सङ्क्रमितको संख्या बढ्दै गए पनि पीसीआर परीक्षण भने बढ्न सकेको छैन। 

उपचार सेवा प्रभावित बन्दै 

डाक्टर, नर्स लगायत उपचारमा संलग्नहरु नै सङ्क्रमित बन्दै गएकाले उपचार सेवा प्रभावित बन्न थालेको छ ।  सामान्य अवस्थामासमेत डाक्टर तथा नर्सको अभाव हुने गरेकोमा उपचारमा संलग्न नै सङ्क्रमित बन्न थालेपछि थप समस्या भएको छ । अहिलेसम्म प्रेसरमै रहेर पनि डाक्टर तथा नर्स बिरामीको उपचारमा खटिँदै आएका छन् । अबका दिन भने चुनौतीपूर्ण बन्दै जाने सम्भावना छ । 

अस्पतालमा चाप कम गर्न केही अस्पतालले केन्द्र सरकारको निर्देशनअनुसार १४ दिनपछि सङ्क्रमितलाई डिस्चार्ज गर्न थालेका छन् । तर केहीले भने जति दिन उपचार गरेर भए पनि नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने बताएका छन् । केन्द्रको निर्णयअनुसार प्रदेश १ मा १४ दिन आइसोलेशनमा राखेपछि डिस्चार्ज गर्न थालिएको छ । लक्षण नभएका कतिपय सङ्क्रमित घरमै आइसोलेशनमा छन् । लक्षण भएकालाई प्राथमिकता दिएर अस्पताल भर्ना र उपचार हुँदै आएको छ ।  

प्रदेश २  र वाग्मती प्रदेशमा पनि   १४ दिनमा डिस्चार्ज गर्ने गरिएको छ । डाक्टरको अभाव सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा सङ्क्रमितको संख्या बढ्दै गएमा थप जटिलता आउन सक्ने देखिएको छ ।  दरबन्दीमध्ये ६० प्रतिशत स्वास्थ्यकर्मी मात्रै कर्णाली प्रदेशमा कार्यरत छन् । 

विभिन्न समस्याका बाबजुत पनि काम भैरहेको प्रदेश सरकारले बताएका छन् । हेल्थ डेक्स स्थापना, विज्ञ, जनप्रतिनिधि, सांसद र अन्य सरोकारवालासँग समन्वय र बैठक हुने गरेका छन् । सबै प्रदेशमा विपद् व्यवस्थान कोष स्थापना भएको छ । 

डाक्टर र कर्मचारी परिचालनका साथै गुनासो र समस्या सुन्नका लागि विभिन्न हटलाइन नम्बरहरु सञ्चालनमा ल्याइएका छन् । यस्तै केश अनसुन्धान,  कन्ट्याक्ट आएका व्यक्तिहरुको पहिचान, फलोअप तथा रेफर, नमुना संकलन वा द्रुत परीक्षण, सुपरिवेक्षण तथा अनुगमन लगायतका काम भैरहेको प्रदेश सरकारले जनाएका छन् ।

भारतसँग सीमा जोडिएको ठाउँमा  नाकामा कडाई गर्ने, सङ्क्रमणको जोखिम हेरेर शिल, लकडाउन तथा निषेधाज्ञा गर्ने लगायतका काम पनि हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया