पहिरोका कारण पर्वत-बाग्लुङ सडकखण्ड बिहानैदेखि अवरुद्ध

 असोज ७, २०७७ बुधबार १०:३:५१ | सन्तोष थापा
unn.prixa.net

पर्वत - मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएकाे हो । दुई हप्तादेखि याे ठाउँमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटक-पटक सडक अवरुद्ध हुने गरेको छ ।

मंगलबार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा र निरन्तर लेदो झरिरहेका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
वर्षा रोकिएमा दिउँसो सडक सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका गाडीहरु नयाँपुलमा अलपत्र भएका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका गाडी रातिदेखि नै मालढुंगामा अलपत्र बनेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया