आईपीएल २०२० : १२७ रनकाे मध्यम लक्ष्य पछ्याएकाे हैदराबाद पञ्जाबसँग १२ रनले पराजित

 कात्तिक ९, २०७७ आइतबार ६:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ । 

पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।  

हैदराबादका लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए पनि अरु ब्याट्सम्यानले योगदान गर्न सकेनन् ।  

हैदराबादलाई कम योगफलमै रोक्न क्रिस जोर्डन र अर्शदीप सिंहले समान तीन/तीन विकेट लिए । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र रबि बिश्नोईले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २६ रनको मध्यम योगफल बनाएको थियो । पञ्जाबका लागि निकोलस पूरनले ३२, कप्तान तथा विकेटकीपर केएल राहुलले २७ रन बनाए ।  

बलिङतर्फ हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान दुई/दुई विकेट लिए ।

जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हैदराबाद भने आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । अब हैदराबादको प्लेअफ यात्रा कठिन बनेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया