ट्राफिक प्रहरीको सचेतना कार्यक्रम : डमीमार्फत साङ्गीतिक प्रस्तुति

 कात्तिक २४, २०७७ सोमबार १२:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ​ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले साङ्गीतिक डमी अभियानले सडक दुर्घटनाको जोखिम नबढाउने स्पष्ट पारेको छ । 

ट्राफिक सन्देश र गीत भएको अडियो क्लिपका माध्यमबाट सडक प्रयोगकर्तालाई लक्षित गरी मानिसको भीडभाड हुने मुख्य चोकमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइने भएकाले गाडी दुर्घटनाको जोखिम नरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताउनुभयो ।

उहाँले सडकमा गाडी गुडाउँदै अडियो बजाएर हिँड्ने नभएर मानिसको चहलपहल हुने ठाउँमा सचेतनासहितको साङ्गीतिक प्रस्तुति दिइने स्पष्ट पार्नुभयो । महाशाखाले काठमाण्डौ उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अस्ति शनिबारबाट साङ्गीतिक डमी अभियान सुरु गरेको हो ।

सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन, सडक सभ्यता अभिवृद्धि गर्न र सडक दुर्घटना कम गर्नका लागि महाशाखाले काठमाण्डौ महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न चोकमा ट्राफिक डमी राखेको छ ।

अभियानलाई थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सचेतना अभिवृद्धि गर्नका लागि साङ्गीतिक डमी अभियान सुरु गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

डमी साङ्गीतिक अभियानमा सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाउनका लागि विभिन्न कलाकारहरूको स्वरमा ट्राफिक सन्देश एवम् ट्राफिक गीतको अडियो तयार गरिएको छ । उपत्यकामा भीडभाड हुने मुख्य ५ वटा चोकहरु बानेश्वर, कोटेश्वर, रत्नपार्क, कलंकी र गोंगबु नयाँ बसपार्कमा डमीको सहायतामा अडियो बजाएर सचेतना दिइने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया