महाेत्तरी : बर्दिवासमा निषेधाज्ञा लागू

 मंसिर १०, २०७७ बुधबार १०:२०:३१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ ।

हिजो प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास-१ का बुद्धिराज न्यौपानेको ज्यान गएपछि आन्दोलन चर्किएकाले बिहान नौ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । बर्दिवासमा थप जनधनको क्षति हुनबाट रोक्न भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभयो ।

न्यौपाने हिजो बर्दिवास चोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाण्डाै लगिएका न्यौपानेको गएराति ज्यान गएको खबर फैलनासाथ बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् ।

बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ । बर्दिवास-१४ की छ वर्षकी बालिकाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै हिजो भएको आन्दोलनमा प्रहरीले गोली चलाएको हो । न्यौपानेसँगै घाइते भएका बर्दिवास-५ का श्याम कार्कीको काठमाण्डौमै उपचार भइरहेको छ ।

अर्का घाइते आफताब आलमको बर्दिवासमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो । आइतबार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलाबको शव सोमबार भेटिएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका-५ का अरुण कुमार साहले बालिकाको हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले साहले यसअघि पनि पटक-पटक घटना घटाएको भन्दै आजीवन कैद सजायको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया