कमाउन गएका छोरा कुवेतमा हराएपछि घरमा आमाको भोक निद्रा हरायो

 माघ १९, २०७७ सोमबार १६:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कमाउँछु, परिवारको आर्थिक अवस्था उकास्छु र बुवाआमालाई सुख दिन्छु भनेर परदेश गएको छोरा सम्पर्कविहीन हुँदा बुवाआमाको मनमा के बित्छ होला ?

सर्लाही मलंगवाकी रेखादेवी पासवान र उहाँका श्रीमान् रामकुमार पासवान (परिवर्तित नाम)लाई पनि यस्तै समस्याले पिरोलेको छ ।

दुई वर्ष भयो २२ वर्षीय जेठो छोरा सुनिल पासवान (परिवर्तित नाम) कुवेत जानुभएको । तर न त उहाँसँग फोन सम्पर्क हुन सकेको छ, न त कुन ठाउँमा के काम गर्छन् भन्ने नै थाहा छ । ‘परदेश गएको छोरा बाँचेको छ कि मरेकोसम्म थाहा छैन, म त पागल नै भइसकेकी थिएँ’, रेखाले आफ्नो पीडा पोख्नुभयो ।

अभावले धकेल्यो परदेश

रेखादेवी उमेरले ४० को र उहाँका श्रीमान् रामकुमार ४५ वर्षको हुनुभयो । पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ । रामकुमारले खेतीबारीको काम गर्नुहुन्छ । 

उहाँहरुका दुई छोरा छन्, सुनिल र अनिल पासवान (परिवर्तित नाम) । बुवाआमाको सपना हुन्छ, ‘छोराहरु ठूलो भएपछि काम गर्लान्, कमाउलान् र आफ्नो सहारा बन्लान् ।’ समय बित्दै गयो । अरुका छोराछोरीले विदेश गएर कमाएको देखेपछि रेखादेवी र रामकुमारको मनमा पनि आशा पलाउन थाल्यो, ‘अब त हाम्रा छोराहरुले पनि कमाइहाल्छन् नि ।’

घरको आर्थिक अवस्था केही माथि लाग्छ कि भनेर सुनिलका बुवाआमाले ऋण काढेरै भए पनि २०७३ सालमा कतार पठाउनुभयो । एजेण्टमार्फत एक लाख ७० हजार रुपैयाँ तिरेर १९ वर्षको कलिलै उमेरमा कतार जानुभयो सुनिल । तर दुई वर्षको करारमा कतार जानुभएका सुनिल त्यहाँ भनेजस्तो काम र कमाइ नहुँदा १६ महिनामै घर फर्कनु भयो ।

पहिलोपटक विदेश जाँदा लागेको ऋण पनि तिर्न सक्नुभएको थिएन । नेपाल फर्केर चार महिना घरमै बसेपछि फेरि ऋण काढेर कुवेत जाने सोच्नुभयो सुनिलले । पुनः अर्को एजेण्टलाई पनि डेढ लाख रुपैयाँ बुझाएर दुई वर्षको करारमा कुवेत जानुभयो । अब नयाँ देशमा काम पनि राम्रो पाए त लागेको ऋणबाट मुक्ति पाइएला भन्ने आशा थियो रेखादेवी र रामकुमारलाई । तर सोचेजस्तो भएन ।

कुवेत गएको ६ महिनासम्म त ठीकै चलेको थियो । एकदुई पटक घरमा पैसा पनि पठाउनुभया सुनिलले । तर छ महिनापछि आफू काम गर्ने कम्पनी छोडी अर्को ठाउँमा जानुभयो । त्यसपछि आफ्नो घर परिवारलाई अहिलेसम्म पैसा पठाउनु भएको छैन । परिवर्तन गरेको काम र ठाउँको जानकारी पनि परिवारसँग छैन ।

यही कुराले पिरोलिरहन्छ रामकुमार र रेखादेवीलाई । ‘छोरोको अवस्थाको बारेमा केही पनि थाहा छैन’, पिंढीमा बसेकी रेखादेवीले भुईं कोट्याउँदै भन्नुभयो ।

घरभित्रको कलह

कमजोर आर्थिक अवस्था पारिवारिक कलहको कारण भइदिन्छ । ऋण काढेर परदेश गएको छोरा सम्पर्कविहीन छ । घरमा आम्दानीको कुनै अर्को स्रोत छैन । यही कारण रामकुमार र रेखादेवीबीच बेलाबेला झगडा भइरहन्थ्यो । एकदिन रामकुमार घर छोडेर भाग्नुभयो ।

यसले रेखादेवीलाई झन् मानसिक रुपमा घायल बनायो । छोरा त सम्पर्कमा छैन छैन, त्यसैमाथि श्रीमानसँगको झगडा र पछि श्रीमानले पनि छोडेर गएपछि विक्षिप्त हुनुभयो रेखा । यसैबीचमा आफ्नो परिवारको दयनीय अवस्था देखेर कान्छो छोरा अनिल पासवान पनि विदेश जानुभयो । साहूसँग एक लाख ४० हजार रुपैयाँ ऋण लिएर एजेण्टमार्फत कतार जानुभयो । अनिलले घरमा पैसा पठाइ रहनुभएको थियो । तर विस्तारै उहाँले पनि पैसा पठाउन कम गर्नुभयो । 

यसैबीचमा भागेको श्रीमान् पनि घर फर्कनु भयो । परिवारको समस्या जस्ताको त्यस्तै छ । परदेश गएका छोराहरुले घरमा पैसा पठाउन छोडे । घरमा ऋणको भार छ । बेलाबेला ढोका ढक्ढक्याउन आइपुग्छन् साहू । यसले गर्दा मानसिक समस्या बढ्नु स्वभाविक नै हो । रेखादेवीलाई पनि यस्तै भयो । निकै बेचैनीमा देखिन थाल्नुभयो उहाँ । 

‘न समयमा खाना खाने, न त राति सुत्ने । रुन्चे अनुहार लगाएर जिंग्रिङ्ग परेर बस्थिन्’, आफ्नी श्रीमतीको अवस्था बताउँदै रामकुमारले भन्नुभयो, ‘एकप्रकारको मानसिक रोगले छोयो उनलाई ।’

यस्तो अवस्थामा के गर्ने, कसलाई भन्ने ? अन्योलको यस समयमा उहाँको भेट सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मनोसामाजिक परामर्शकर्तासँग भयो । 

मनोसामाजिक परामर्शकर्ताको सहयोग

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाबाट मनोसामाजिक परामर्शकर्ताले रेखादेवीलाई परामर्श दिने काम गर्नुभयो ।

मनोसामाजिक परामर्शकर्ताले सम्झाइबुझाई गरेपछि अहिले रेखा मानसिक रुपमा ठीक हुनुहुन्छ । अनुहार केही हँसिलो र उज्यालो देखिन थालेको छ । आफ्नो र घरको हेरचाह गर्ने, समयमा खाने र निद्रामा सुधार भएको छ । 

अहिले रेखा दैनिक कामकाजमा व्यस्त रहनुहुन्छ । उहाँ वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा पनि सहभागी हुन थाल्नु भएको छ । मनोसामाजिक परामर्शकर्ताले सम्झाएपछि उहाँको श्रीमानको व्यवहारमा पनि केही परिवर्तन भएको छ ।

आफ्नो छोरासँग सम्पर्क नभए पनि अहिले उहाँले यस्ता समस्यालाई बुझ्न र सहन सक्ने हुनुभएको छ । आफ्नो छोरा अहिले सम्पर्कमा नभए पनि चाँडै फर्किने आशामा हुनुहुन्छ रेखा ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया