एम्बुलेन्सको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ घाइते

 फागुन १५, २०७७ शनिबार १९:५८:४६ | भावुक योगी
unn.prixa.net

बर्दिया - पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सको ठक्करबाट वयस्क पाटेबाघ घाइते भएको छ । 

निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्डको बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिवार बिहान पाटेबाघ घाइते भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोला नजिक पाटेबाघलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सले बाघलाई ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका हुन् । एम्बुलेन्स चालकले खबर गरेलगत्तै बिहानैदेखि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ ।

‘घटनास्थल राजमार्गमा बाघको रगत छ, एम्बुलेन्समा बाघको रौँहरु पनि टाँसिएको छ, त्यसैले बाघ आफू पनि जोखिममा र हिँडडुल गर्नेहरुका लागि पनि जोखिम हुने भएकाले घटनास्थल आसपासमा सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयोे । 

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि हात्तीसहितको टोली खटिसकेको छ । हात्तीको सहायताबाट आइतवार बिहानैदेखि घाइते बाघको खोजी गरिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । एम्बुलेन्स र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ ।

पूर्व पश्चिम राजमार्गभित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडकको बीचमा यसअघि बस र कारको ठक्करबाट दुई वटा वयस्क पाटेबाघ मरेका थिए भने मोटरसाइकलमा रहेकी एक महिलाको ज्यान गएसँगै दुई महिनादेखि लगातार रुपमा राजमार्ग छेउमा पाटेबाघ देखिन थालेका छन् । 

निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ-बायाँ ३१/३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नु पर्ने स्थानीयको माग छ । निकुञ्जभित्र पर्ने राजमार्गमा र खाता जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा यथासक्य छिटो वन्यजन्तुमैत्री संरचना बनाउन संरक्षणकर्मीको माग छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया