आज विश्व रेडक्रस दिवस : ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाईंदै

 बैशाख २६, २०८१ बुधबार ७:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ तारिख, आजकै दिन रेडक्रस दिवस मनाइन्छ ।

आधुनिक र प्रविधियुक्त विश्वमा अन्तरदेशीय र देशभित्र हुने युद्ध, हिंसा, विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको तथा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपद्का घटना, खडेरी र अनिकालका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

दिवसले रेडक्रसकर्मीमा मानवीय आत्मसम्मानको रक्षा गर्ने, मानवीय पीडा कम गर्ने र विशेषतः पहुँच बाहिर जोखिमपूर्ण अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सेवा गर्ने प्रेरणा र प्रतिबद्धता प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ । रेडक्रस अभियान मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित छ ।

रेडक्रस अभियानले हरेक वर्ष सङ्घर्ष र विभिन्न विपत्तिका बेला विश्वभरिका नौ करोड ५० लाखभन्दा बढी व्यक्तिलाई सेवा पुर्‍याउन सक्षम रहेको जनाएको छ । रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो ।

विश्वभरका एक सय ९१ राष्ट्रिय सोसाइटीहरूसहित मिलेर बनेको यस अभियानमा झण्डै एक करोड ६० लाखभन्दा बढी स्वयंसेवक आबद्ध रहेको रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले जनाएको छ ।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईले शुभकामना सन्देशमा पछिल्लो समय जलवायु परिवर्तनले उत्पन्न विपद्का घटनाले मानवताको रक्षामा चुनौती बन्दै गइरहेको जनाउँदै मानवीय सेवामा जुट्न आह्वान गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा २०२० साल भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कल छन् । समुदायस्तरसम्म फैलिएका यी साङ्गठनिक निकायमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।

सङ्गठन र स्वयंसेवकको देशव्यापी सञ्जाल भएको नेपाल रेडक्रसले आइएफआरसीको आर्थिक एवम् प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा स्वच्छता प्रवर्धन  रेडक्रस सिद्धान्त र मूल्य मान्यताको प्रवर्धनजस्ता कार्य क्षेत्रहरूमार्फत बर्सेनि २५ लाखभन्दा धेरैलाई सेवा पुर्‍याउन सफल भएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया