अरुण तेस्रोका कामदारले डेढ वर्षदेखि पाएनन् तलब

 फागुन १९, २०७७ बुधबार १२:३९:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले काम गरेको पैसा नदिएको कामदारहरुले गुनासो गरेका छन् । 

मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा रहेकाे ड्यामसाइटदेखि सुन्तले ब्रिज निस्कने अडिट-२ देखि अडिट-३ जोड्ने क्षेत्रमा काम गरेको पैसा डेढ वर्षदेखि नपाएकाे कामदारहरुकाे गुनासो छ । 

पीडित पक्षले सदरमुकाम खाँदबारीमा रहेकाे नेपाल पत्रकार महासङ्घको कार्यालयमा नै आएर यसबारे जानकारी गराएका हुन् । पीडित पक्षले संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई समेत निवेदन दिएका छन् । 

रौताहा कन्स्ट्रक्सन कम्पनी प्रालिका निर्देशक भीमबहादुर थापाले भने आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदुरहरुलाई भुक्तानी दिन नसकिएको बताउनु भएकाे छ । 

फ्याक्सिन्दामा रहेकाे ड्यामसाइटमा अडिट २ देखि अडिट ३ जोड्ने क्षेत्रमा ४ किलाेमिटर सडकमा नयाँ ट्रयाक ओपन, ग्याभिङ्ग वाल, सडक ग्राभेल र स्ट्रेक्चरलगायतका कामहरु गरेको रौताहाका कम्पनीका इञ्जिनियर सुजितकुमार सरदारले बताउनुभयो । 

अरुण तेस्रो जलविद्युत् आयोजनाकाे ड्यामसाइटमा भारतीय पटेल इञ्जिनियरिङ लिमिटेडले पूर्णरुपमा काम गरिरहेको छ । भारतीय पटेल इञ्जिनियरिङ लिमिटेड कम्पनीसँग रौताहा कम्पनीले २० करोडको पेटी ठेक्कामा काम गरेकाे थियाे । योमध्ये १७ करोड रुपैयाँ अरुण तेस्रोले भुक्तानी दिएको तर १ करोड ४९ लाख ९० हजार ६६ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको कम्पनीको  गुनासो छ । 

‘काम सम्पन्न भएपछि पटक-पटक भुक्तानीका लागि अफिसमा धायौँ, ८६ लाख रुपैयाँको भ्याट बिल काटेर पनि न पैसा खाता जम्मा गरिदिन्छन्, न चेक दिन्छन् ।’ इञ्जिनियर सरदारले भन्नुभयो-‘गएको कात्तिक १ गते काटेको भ्याट बिलको आजसम्म भुक्तानी गर्न आलटाल गरिरहेको छ ।’

रौताहा कम्पनीले अरुण तेस्रोमा गएको २०७५ भदौ देखि काम सुरु गरी २०७६ साउन महिनाभित्र तोकिएबमोजिमका काम सम्पन्न गरेका थिए । काम सम्पन्न भएपश्चात नै उनीहरुले अरुण तेस्रोसँग भुक्तानीकाे माग गरेका थिए । 

अरुण तेस्रो जलविद्युत्त आयोजनाले अन्य निर्माण कम्पनी र मजदुरहरुलाई समेत समयमा पैसा नदिने गरेको धेरै जनाको गुनासो छ । काम गरेको पैसा र तलब भत्ता नदिएको कुरा बाहिर सार्वजनिक गरे काम नै नदिने र कामबाट निकाल्ने डरले धेरै जना सार्वजनिक गर्न नसकेको मकालु युवा समाजका संयोजक नुर्बु शेर्पाले बताउनुभयो । 

‘कम्पनीले काम लगाएपछि समय अवधिभित्र सबैलाई भुक्तानी दिनुपर्छ । स्थानीय श्रमिक र कामदारहरुलाई समेत विभिन्न किसिमका विभेदहरु गर्ने पाइएकाले हामीले पटक-पटक ध्यानाकर्षण गराएका छौँ ’संयोजक शेर्पाले भन्नुभयो ।

अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटक-पटक आन्दोलन हुने गरेको छ । त्यस्ता आन्दोलनहरुलाई विभिन्न बाहानाबाजी र आश्वासनका भरमा स्थगित गराउने गरेको पाइएको छ । 

अरुण तेस्रो जलविद्युत्त आयोजनाको काम भारतीय एसजेबीएन सतलज कम्पनीले गरिरहेको छ । याे अरुण तेस्रो जलविद्युत्त आयोजना मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका-३ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।

अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया