‘मान्छे खान पल्किएको’ पाटेबाघ बर्दिया निकुञ्जको नियन्त्रणमा

 चैत ४, २०७७ बुधबार १९:२९:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा मान्छे खान पल्किएको पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिएको छ । 

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बुधवार बेलुका नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएकाे हुन सक्ने अनुमान छ । 

मान्छे खान पल्किएको पाटे बाघलाई बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याउन लागिएको छ । नियन्त्रणमा लिइएको बूढो भाले बाघको खुट्टामा चोट रहेको र केही दाँतसमेत झरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । 

मङ्गलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । केही महिनादेखि पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो । यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट मान्छे पल्किएको एउटा बाघ निकुञ्जको टोलीले नियन्त्रणमा लिइसकेको छ । 

यसैबीच पाटेबाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।

पाटेबाघको आक्रमणबाट मङ्गलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । 

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया