दैलेख : माइतीमा छोरी रोकेको निहुँमा सासू–ससुरामाथि खुकुरी प्रहार

 चैत २४, २०७७ मंगलबार १७:३३:४८ | अमर सुनार
unn.prixa.net

दैलेख – माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरामाथि खुकुरी प्रहार गरेर घाइते बनाएका छन् । नौमुले गाउँपालिका ४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगरमाथि कालिकाकाे सेलागाउँका २७ वर्षीय अनराम राेकामगरले खुकुरी प्रहार गरेका हुन् । 

सोमवार घरमा सुतिरहेका सासु–ससुरामाथि खुकुरी प्रहार गरेर भागेकाे भन्ने सूचनाकाे आधारमा अनरामलाई नौमुले गाउँपालिका ५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको हाे । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा सूचना अधिकारी इन्द्रजीत सुनारले जानकारी दिनुभयो । अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको उहाँले बताउनुभयो । 

खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरी

खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था खतरमुक्त रहेको डा. जीवन ज्ञवालीले जानकारी दिनुभयाे ।

अनराम रोकामगरले झपिलाल र लालसरीका छाेरी विमलासँच नाै वर्षअघि प्रेमविवाह गरेका थिए । दिनहुँ रक्सी खाएर कुटपिट गर्ने गरेको भन्दै पाँच महिनादेखि एक छोरा र छोरीसहित विमला माइतीमा बस्दै आउनुभएकाे थियाे । माइतीमा बसेको विषयमा रिस पोख्न आफूले खुकुरी प्रहार गरेको अनरामले प्रतिक्रिया दिएका छन् ।

माइतीमा बसेकी विमला र छोराछोरीलाई घर लैजाने सल्लाहका लागि ससुरालीमा पुगेका बेला माघ १५ गते माइती घरमै विमलामाथि कुटपिट गरेको घटनामा झपिलालले ‘तिमीसँग अब छोरी पठाउँदिन’ भनेको विषयमा अनराम रिसाएका थिए ।

राति मस्त निद्रामा भएको बेला आफूले ओढेकाे सिरक हटाएर टाउकोमा खुकुरी प्रहार गर्न लाग्दा थाहा पाएर हातले छेकेका कारण टाउकोमा कम चोट लागेको झपिलालकाे भनाइ छ । गर्धनमा ताकेको दोस्राे प्रहार जोगाउँदा पनि छातीमा लागेको उहाँले सुनाउनुभयो ।  

दोस्राे चोट लागिसकेपछि ससुरा झपिलाल र सासु लालसरी दुवैले अनरामको हातको खुकुरी खोस्न खोज्दा दुवै जनाको हत्केलामा चाेट लागेकाे थियो । त्यसपछि आँगनमा आएर गुहार मागेपछि खुकुरी लिएरै अनराम भागेको प्रत्यक्षदर्शी प्रेम रोकामगरले बताउनुभयो ।  

अनराम र उनको ससुराली घर एक घण्टाको पैदल दुरीमा रहेको छ । घटनास्थलबाट भागेर बाहिर जान पनि नौमुले नै आउनुपर्ने भू–बनाेटकाे बाध्यता र प्रहरीको सजगताले अनरामलाई पक्राउ गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज, प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया