‘शेरबहादुरजी प्रधानमन्त्री भइदिनुपर्‍याे, महन्थजी प्रधानमन्त्री भइदिनुपर्‍याे भन्दै बिन्ती गर्दै हिँडिरहेका छन्’

 चैत ३०, २०७७ सोमबार १९:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरूलाई सफल हुन नदिने बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सलबलाइरहेको बताउनुभएको हो । 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इङ्गित गर्दै उहाँले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवालाई युद्धमा लगाउनेहरू नै अहिले लोकतन्त्र र अग्रगामी कदमविरुद्ध लागेको दाबी गर्नुभयो । झण्डै दुई तिहाइको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरूसँग बिन्ती गर्दै हिँडेको भनी ओलीले दाहालप्रति व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन हउ । शेरबहादुरजीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो । महन्थजीलाई भेट्यो, ए दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो । किन भन्दा कम्युनिस्ट सरकार ढाल्न पर्‍यो क्या त्यसकारण शेरबहादुर भइ दिनुपर्‍यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्‍यो । कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि, कम्युनिस्ट आन्दोलनको एकता बचाउन, यस्ता नक्कली कुरा गर्ने तत्त्वहरू अहिले पनि छन्, सलबलाइरहेका छन्, यी चुनौतीहरू अहिले पनि छन् । तर तपाईँहरू ढुक्क रहनुहोस्, यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिस्ट विरोधी, प्रगति विरोधी, अग्रगामी आन्दोलन विरोधी, राष्ट्रियता र लोकतन्त्र विरोधी तत्त्वहरूलाई सफलता साथ अगाडि जान दिइने छैन । यिनका गलत र आपराधिक उद्देश्यहरू सफल हुन सक्ने छैन ।’   

आफूहरूले जिताइ दिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘सदस्यताबाट निष्कासन गरेर धित पुर्‍याए हुन्छ । हामीले टाँसिदिएको जुँगा, अलिक दिनपछि त्यो जुँगा हामी निकाल्दिन्छौँ, त्यसपछि सक्कियो ।’

उहाँले नेकपा एमाले, कम्युनिस्ट, वामपन्थी र देश बनाउनेसँग नमिलेर दुई तिहाइको सरकार ढलाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न उद्धृत रहेको दाबी गर्नुभयो । माओवादी अध्यक्ष दाहालतर्फ इङ्गित गर्दै लोकतन्त्रविरुद्ध क्रान्तिका सपना देखाएर युद्धमा लागेको र कैयौँलाई पीडा दिएकाहरू नै  ‘मैले आफ्नालाई छोडेर अरूसँग मिलेछु’ भनेर भन्ने गरेको भन्दै प्रधानमन्त्रीले प्रश्न गर्नुभयो, ‘झण्डै दुई तिहाइको पार्टी फुटाएर यो सरकार ढाल्नलाई कांग्रेससँग बिन्ती पत्र लिएर जाँदा आफ्ना छोडियो कि छोडिएन ? अन्त गइयो कि गइएन ?’ 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया