देशभर कहाँ कहाँ निषेधाज्ञा ?

 बैशाख १५, २०७८ बुधबार १०:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बिहीबारदेखि निषेधाज्ञा सुरु हुँदैछ । तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय गरे पनि पछि मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । यो निर्णयसँगै काठमाण्डौका तीनवटै जिल्लामा बिहीबार बिहान ६ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्नेछ ।

काठमाण्डौमा मात्रै होइन कोरोना संक्रमण बढी भएका अरु जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ । कास्की, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा भने आंशिक निषेधाज्ञा छ । 

बाँकेमा १३ गतेदेखि २० गतेसम्म, कास्कीमा १५ गतेदेखि २१ गतेसम्म, दाङमा १७ गतेदेखि २५ गतेसम्म, कैलाली र पर्सामा १६ गतेदेखि २२ गतेसम्म, रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म, सुर्खेतमा १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाइएको छ । 

बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा ७ गतेदेख १७ गतेसम्म र कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा १०गतेदेखि १७ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

केन्द्र सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यसैअनुसार जिल्ला तहमा निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञामा के के निषेध ?

निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, औषधि पसल, अत्यावश्यक सवारीसाधनबाहेक अरु सेवा र व्यवसाय बन्द हुनेछन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुन पाउने सरकारले निर्णय गरेको छ । यस्ता कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर ओहोरदोहोर गर्न पाउनेछन् । यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने गाडी पनि चल्न पाउनेछन् । 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

विवाह, ब्रतबन्धलगायतमा १५ जना सहभागी हुन पाउने र ब्यानरसहित २ वटा गाडी प्रयोग गर्न पाउने तथा त्यसका लागि पासको आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया