कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएनन्

 बैशाख २२, २०७८ बुधबार १४:५१:४७ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखकाे आठबीस नगरपालिका ४ खाेटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै भेटिएका छैनन् । दाङको लमहीदेखि जुम्ला जाँदै गरेको टिपर मङ्गलवार राति कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका थिए । 

सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर खोटेसल्ला डाँडाबाट कर्णाली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय राकमका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक पुष्प कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार राकम प्रहरी कार्यालयमा गरिएको इन्ट्रीमा चालक ललितपुर जिल्लाका रामशरण सुनार भन्ने खुले पनि सहचालकको नाम पत्ता लागेको छैन ।

मङ्गलवार राति साढे आठ बजे इन्ट्री गरी एक किलोमीटर अगाडि पुगेर गाडी बिग्रेपछि सामान्य मर्मत गरी गन्तव्यतिर जाँदै गर्दा दुर्घटना भएको प्रहरी नायब निरीक्षक कठायतले बताउनुभयो ।  

राकम बजार भन्दा दुई किलोमीटर खोटेसल्ला डाँडाबाट सोझै कर्णाली नदीमा गाडी खसेको देखेका भेलतडीका बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

हिजो साँझदेखि अहिलेसम्म निरन्तर झरी परेको र दुई दिनदेखि कर्णाली नदीमा बाढी आएका कारण पनि खोजी कार्य प्रभावित भएको आठबीस नगरपालिका ४ का वडाध्यक्ष रणबहादुर माझीले बताउनुभयो ।

‘राति नै नाउ लिएर गयौँ, पानी धमिलो भएकाले पत्ता लाउनै सकिएन । बिहान पानी घटेपछि नदीमा भेलतडी नजिकै टिपरको अघिल्तिरको एउटा टायर मात्र देखिएको छ’, वडाध्यक्ष माझीले बताउनुभयाे ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया