कोरोनाबाट निको हुनेको संख्या बढ्दै

 बैशाख २७, २०७८ सोमबार ९:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा एकहप्ता यता कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । अघिल्लो हप्ता सोमबारदेखि हिजो आइतबारसम्म कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्मको जम्मा संक्रमितमध्ये निको हुने दर ७६ दशमलव ७ प्रतिशत छ । हरेक दिनको तथ्यांक केलाउँदा भने निको हुने दर कम देखिन्छ । तर एक हप्तायता निको हुने दर बढिरहेको छ ।

आइतबार एकैदिन चार हजारभन्दा धेरै कोरोना सङ्क्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन्  । आठ हजार आठ सय ८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।  थपिएका कोरोना  संक्रमितको तुलनामा निको हुनेको दर ४५ दशमलव २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

गएको वैशाख २० गते सोमबार सात हजार दुई सय ११ जना नयाँ संक्रमित थपिएकामा  एक हजार सात सय १२ जना निको भएका थिए । यो भनेको एक दिनमा नयाँ थपिएका संक्रमितमध्ये निको हुने दर २२ दशमलव ३५ प्रतिशत हो । 

यस्तै  २१ गते  सात हजार सात सय ७० जना नयाँ संक्रमित थपिएकामा एक हजार सात सय ७५ जना डिस्चार्ज भएका थिए । यो भनेको थपिएका संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या २३ दशमलव १७ प्रतिशत हो । २२ गते पनि २१ गतेभन्दा केही कम संख्यामा निको हुने प्रतिशत बढेको छ । २२ गते आठ हजार ६ सय ५९ जना नयाँ संक्रमित थपिएकामा  एक हजार  नौ सय ९३ जना अर्थात् २३ दशमलव ०१ प्रतिशत निको भएका थिए । 

यसैगरी २३ गते नौ हजार ७० जना नयाँ संक्रमित थपिएकामा दुई हजार सात सय सात  जना निको भएका थिए । निको हुनेको यो दर २९ दशमलव ८५ प्रतिशत हो । वैशाख २४ गते निको हुनेको संख्या अझै बढेको छ । २४ गते एकैदिन थपिएका संक्रमितको तुलनामा निको हुनेको संख्या ३१ दशमलव ५९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

यो दिन कुल नौ हजार  एक सय ९६ जना संक्रमित थपिएकामा दुई हजार नौ सय पाँच जना निको भएका थिए । यस्तै वैशाख २५ गते शनिबार आठ हजार चार सय १८ जना नयाँ संक्रमित थपिएकामा तीन हजार ७० जना निको भएका छन् । यो भनेको  थपिएका कोरोना संक्रमितको तुलनामा निको हुने दर ३६ दशमलव ४६ प्रतिशत हो ।  

दैनिक संक्रमितहरुको संख्या धेरै नघटे पनि निको हुनेको संख्या बढ्नु सुखद भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेर बहादुर पुन बताउनुहुन्छ । संक्रमितको संख्या धेरै भएकोले निको हुनेको संख्या कम जस्तो लागेको उहाँको भनाई छ । पीसीआर परीक्षण सँगै कोरोना संक्रमित बढ्दै गए पनि सावधानी अपनाउनुपर्ने तर आत्तिनु नहुने उहाँको सुझाव छ । 

समयमै उपचार नपाएका कारणले गएको वर्षभन्दा यो वर्ष मृत्युदर बढेको डाक्टर पुनले बताउनुभयो । गएको वर्ष कन्ट्याक ट्रेसिङ  भएको थियो । त्यसमा परेका सबैले जाँच गर्थे । जसका कारण लक्षण भएका बिरामी कम थिए । यो पटक भने लक्षण देखिएपछि मात्रै जाँच गर्ने र गाह्रो भएपछि मात्रै अस्पताल जाने क्रम बढेकाले मृत्युदर बढेको हुन सक्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । 

संक्रमितहरुमध्ये ८० प्रतिशतभन्दा धेरैमा सामान्य लक्षण छ । जुन गएको वर्षको आँकडासँग मिल्न जान्छ । अहिलेको अवस्थामा सामान्य लक्षण भएका बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा राम्रो हुने डा. अधिकारीको भनाइ छ ।

‘बाँकीमध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ’ अधिकारी भन्नुहुन्छ, ‘यस्ता बिरामीहरुलाई यथाशिघ्र अस्पताल र प्रत्यक्ष स्वास्थ्यकर्मीको उपस्थितीमा  उपचारको खाँचो हुन्छ ।’ ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’

समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया