सीसीएमसीकाे निर्देशन : ‘अक्सिजन उद्याेगमा चाैबिसै घण्टा विद्युत् आपूर्तिकाे व्यवस्था मिलाउनू’

 बैशाख २८, २०७८ मंगलबार १८:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरूमा चाैबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कोभिड १९ सङ्क्रमितको सङ्ख्या बढेसँगै धेरैजसाे बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा ज्यान जाने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । त्यही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गर्ने काम भएको छ ।

बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिंहदरबारमा मङ्गलवार बसेको सीसीएमसीकाे बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले काठमाण्डौ उपत्यका र बनेपामा रहेका सबै नाै वटा ग्यास उद्योगको अनुगमन गरी विवरण सङ्कलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्याङ्क अद्यावधिक गर्ने काम भएको बताउनुभयो । त्यसैगरी अस्पतालहरूलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डर सङ्कलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सीसीएमसीले सबैलाई बाचौँ र बचाऔँ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सीसीएमसीले काठमाण्डौ उपत्यका र काभ्रेका उद्योगसमेतमा गरी दैनिक सात हजार दुई सय सिलिन्डर अक्सिजन उत्पादन रहेको बताएको छ ।

तर अक्सिजन उत्पादक सङ्घले भने दैनिक नाै हजार अक्सिजन सिलिन्डर उत्पादन हुने गरेको बताइसकेको छ । सङ्घले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन भनिसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया