म्याग्दी : मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित धान रोपाइँमा किसान

 जेठ ११, २०७८ मंगलबार १३:२०:२ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - म्याग्दीका लेकाली क्षेत्रहरुमा धान राेपाइँ सुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो हप्तादेखि नै रोपाइँ सुरु भएको हो । म्याग्दीको सहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन सुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।

निषेधाज्ञामा सहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान ब्याडमा राखेको बिउ काढ्न व्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवा, हलो र गोरुको विकल्पमा ट्र्याक्टरले जोतेर हिल्याइरहेको छ ।
 
जेठको दोस्रो अप्ता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयवासीले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिनुभयो । हरेक वर्ष यस क्षेत्रमा सबैभन्दा अगाडि असारे धान रोपाइँ हुने गर्छ । जिल्लाभर यो वर्ष गएका वर्षभन्दा अगाडि नै धान रोपाइँ हुने अनुमान गरिएको छ ।

कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीन रहेको म्याग्दीमा तीन हजार ८९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, तीन हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । 

कोरोनासँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया